मियामीलाई हराउँदै ह्युस्टन डाइनामोले जित्यो यूएस ओपन कपको उपाधि
यूएस ओपन कपको उपाधि ह्युस्टन डाइनामोले जितेको छ।
आज बिहान सम्पन्न फाइनल खेलमा इन्टर मियामीलाई २-१ गोलअन्तरले हराउँदै ह्युस्टनले उपाधि जितेको हो। यसअघि सन् २०१८ मा पनि फिलाडेल्फिया युनियनलाई हराउँदै ह्युस्टन प्रतियोगिताको विजेता बनेको थियो।
डीआरभी पीएनके रङ्गशालामा आज भएको खेलमा भने इन्टर मियामीका कप्तान तथा अर्जेन्टिनी दिग्गज खेलाडी लियोनल मेस्सी चोटका कारण अनुपस्थित थिए। यस्तै, अर्का महत्त्वपूर्ण खेलाडी जोर्डी अल्बा पनि आजको खेलमा दर्शकका रूपमा मात्र उपस्थित थिए।
दुई महत्त्वपूर्ण खेलाडी विनै मैदानमा उत्रिएको मियामी पहिलो हाफमै २-० गोलले पछि परेको थियो। खेलको २४औं मिनेटमा ह्युस्टनका ग्रिफिन डोर्सेले गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए। त्यसपछि ३३औं मिनेटमा अमिने बासीले पेनाल्टी मार्फत गोल गर्दै खेल २-० को स्थितिमा पुर्याए।
दोस्रो हाफमा ह्युस्टनले पुनः गोल गरेको भए पनि भीएआर मार्फत ‘रिभ्यू’ गर्दै रेफ्रीले गोलको मान्यता दिएनन्। खेलको निर्धारित ९० मिनेट सकिएपछि ६ मिनेट थप गरिएको थियो। जसमा ९०+२ मिनेटमा इन्टर मियामीका जोसेफ मार्टिनेजले गोल गर्दै खेल २-१ को स्थितिमा पुर्याए। यसपछि दुवै टोलीले आक्रामक फूटबल खेले पनि गोल हुन सकेन।