यस्तो छ काठमाडौं महानगर र अभियन्ता ईःबीचको सहमति
सडक व्यापारीको पक्षमा आन्दोलनरत अभियन्ता ईः र काठमाडौं महानगरपालिकाबीच सहमति भएको छ।
बुधबार राति भएको सहमतिमा अभियन्ता ईः र महानगरका तर्फबाट कार्यपालिका सदस्य चीनकाजी श्रेष्ठ र मेयरको सचिवालयका धीरज जोशीले हस्ताक्षर गरेका छन्। चारबुँदे सहमतिसँगै अभियन्ता ईःले आन्दोलन स्थगन गरेका छन्।
सहमतिको पहिलो बुँदामा १९९ घण्टादेखि राष्ट्रिय सभागृहको मूल गेटमा निरन्तर उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईः र अन्य सहभागीले आजैबाट प्रदर्शन स्थगन गर्ने उल्लेख छ।
त्यस्तै, फूटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा काठमाडौं महानगरपालिकाले जफत गरेका सामान फिर्ता गर्ने सहमति भएको छ। महानगरको स्टोरमा भएसम्मका सामान यकीन गरेर सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने भएको छ।
तेस्रोमा, अनौपचारिक क्षेत्र मार्फत हुने व्यापार-व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय र व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकीन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्था समेतको प्रबन्धन गर्न समिति गठन गरिने भएको छ। त्यसमा काठमाडौं महानगरले तोकेका तीन जना, अभियन्ता ईःका तर्फबाट तोकिएका प्रतिनिधि दुई जना, भौतिक तथा यातायात मन्त्रालयका प्रतिनिधि एक जना, शहरी विकास मन्त्रालयका प्रतिनिधि एक जना र ट्राफिक प्रहरी प्रतिनिधि एक जना रहनेछन्।
सहमतिको चौथो बुँदामा साविकमा फूटपाथ तथा सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीका लागि महानगरपालिकाभित्र कानूनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक साताभित्र पहल गर्ने उल्लेख छ।
साना व्यवसायीलाई वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरी अभियन्ता ईः राष्ट्रिय सभागृह अगाडि उभिएका थिए। आठ दिनदेखि उभिएर विरोध जनाइरहेका उनले महानगरले साना व्यवसायीलाई रोजगार गर्ने वातावरण मिलाउनुपर्ने माग गरिरहेका थिए। उनको मागमा महानगर सहमत भएको हो।