एमाले बागमतीको अध्यक्षमा पाँच जनाको उम्मेदवारी
नेकपा (एमाले) बागमती प्रदेशको अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन्।
प्रदेश कमिटी चयनका लागि एमाले नेताहरूले सहमतिको प्रयास गरेका थिए। तर, सहमति जुट्न सकेन। जसले गर्दा अधिवेशन पनि एक दिन लम्बिएको छ भने मतदान हुने भएको छ।
प्रदेश अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै, उपाध्यक्षमा पनि पाँच जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावा दोर्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथला उम्मेदवार बनेका छन्। यसैगरी सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दिएका छन्।
उपसचिवमा १२ जनाको उम्मेदवारी परेको छ। खड्कबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रीता गौतम ढकालले उपसचिवमा उम्मेदवारी दिएका छन्।
असोज ८ गते उद्घाटन गरिएको अधिवेशनको बुधबार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो। बन्द सत्रले बागमती प्रदेश इन्चार्ज गुुरु बरालको नेतृत्वमा ११ सदस्यीय निर्वाचन मण्डल गठन भएको छ।
सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान हुने तय भएको अध्यक्ष मण्डलका सदस्य अरुण नेपालले बताए। “नेतृत्वमा सकेसम्म सर्वसम्मत गर्ने प्रयास गरियो, अन्ततः सफल नभएपछि उम्मेदवारी दर्ता गरिएको छ, अब लोकतान्त्रिक प्रक्रिया अगाडि बढ्छ,” नेपालले भने।
प्रदेश अधिवेशनको उद्घाटन राष्ट्रिय सभागृहमा भएको थियो भने नेपाल प्रज्ञा–प्रतिष्ठानमा बन्द सत्र चलेको थियो। अब बिहीबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा मतदान हुने भएको छ।
पाँच पदाधिकारी सहित २४० सदस्यीय प्रदेश कमिटी चयन हुनेछ। अधिवेशनमा एक हजार १७४ प्रतिनिधि सहभागी छन्।