नेपालमा प्रत्यक्ष वैदेशिक लगानी दुई खर्ब ६४ अर्ब, ट्याक्स हेभन मुलुकको उल्लेख्य हिस्सा
नेपालमा रु.दुई खर्ब ६४ अर्ब वैदेशिक लगानी रहेको देखिएको छ।
नेपाल राष्ट्र ब्यांकले बुधबार सार्वजनिक गरेको प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ सम्म नेपालमा ५७ देशको प्रत्यक्ष वैदेशिक लगानी छ। अघिल्लो वर्षका तुलनामा प्रत्यक्ष वैदेशिक लगानी १६ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्म कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई २६४ अर्ब ३३ करोड रुपैयाँ कायम रहेको छ।’
नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा छ। औद्योगिक क्षेत्र अन्तर्गत जलविद्युत् क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको राष्ट्र ब्यांकले जनाएको छ। कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्र अन्तर्गत ब्यांक तथा वित्तीय संस्था र बीमा कम्पनीमा लगानी छ।
२०७९ असारसम्म सबैभन्दा धेरै भारतबाट ८८ अर्ब ५९ करोड लगानी भित्रिएको छ। भारतपछि चीनबाट ३३ अर्ब ४५ करोड लगानी आएको छ।
कर छली र अवैध आर्जनको रकम लुकाउन सजिलो मानिने ट्याक्स हेभन मुलुकहरूबाट पनि नेपालमा उल्लेख्य लगानी छ। आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब सात करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब नौ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको केन्द्रीय ब्यांकले जनाएको छ।
प्रतिवेदन अनुसार लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत छ। नेपालका उद्योगको क्षमताको उपयोग दरका तुलनामा यो धेरै हो। नेपालका विभिन्न क्षेत्रका उद्योगको उत्पादन क्षमताको आधा जति मात्रै उपयोग छ। वैदेशिक लगानीमा सञ्चालित कम्पनीको नाफाको दर करीब १४.३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र ब्यांकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालमा सञ्चालित वैदेशिक लगानीका व्यवसायले १५ अर्ब ७० करोड रुपैयाँ लाभांश फिर्ता लगेका छन्।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २३१ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा प्रतिवेदन निकालिएको राष्ट्र ब्यांकले जनाएको छ। राष्ट्र ब्यांकबाट ६९४ कम्पनीले विदेशी लगानी भित्र्याउने अनुमति लिएका छन्।