रासायनिक मल कारखानाको अध्ययन गर्न मलेशियन कम्पनीसँग समझदारी
नेपालमा रासायनिक मल कारखाना स्थापनाको विस्तृत सम्भाव्यता अध्ययन गरिने भएको छ।
लगानी बोर्डले मलेशियन कम्पनी री निकोलासँग बुधबार यस सम्बन्धी सम्झौता गरेको छ। री निकोलाले वातावरणमैत्री प्रविधिमा आधारित रासायनिक मल कारखानाको सम्भाव्यता अध्ययन गरी दुई वर्षभित्र प्रतिवेदन बोर्डलाई पेश गर्नेछ। बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र री निकोलाका प्रबन्ध निर्देशक बौमहिदी अब्देलालीले सम्झौतापत्रमा हस्ताक्षर गरे।
इलेक्ट्रोसिस प्रविधि मार्फत तनहुँको आँबुखैरेनीमा वातावरणमैत्री एमोनिया र क्याल्सियम एमोनियम नाइट्रेट स्थापना गर्ने प्रस्ताव मलेशियन कम्पनीले गरेको छ। यो मल कारखानाका लागि लागत करीब २६ करोड अमेरिकी डलर (करीब ३४ अर्ब ५० करोड रुपैयाँ) लाग्ने प्रारम्भिक अनुमान छ।
यस कारखानाले वार्षिक ९५ हजार मेट्रिक टन ग्रीन एमोनिया र दुई लाख ८७ हजार मेट्रिक टन ग्रीन क्याल्सियम एमोनियम नाइट्रेट उत्पादन गर्ने योजना छ। कारखानामा ऊर्जाका रूपमा विद्युत्को उपयोग गरिने बोर्डले जनाएको छ।
२०७९ पुस २४ गते मलेशियन कम्पनीले रासायनिक मल कारखाना स्थापनाका लागि बोर्डमा प्रस्ताव बुझाएको थियो। जस अनुसार २०७९ चैत ३० गते बोर्डले प्रस्तावक कम्पनीलाई अध्ययन अनुमति दिएको थियो।
नेपालमा रासायनिक मल कारखाना खोल्ने विषय लामो समयदेखि चर्चामा छ। तर, अहिलेसम्म मल कारखाना स्थापनाका लागि ठोस पहलकदमी शुरू भएको छैन। महँगो लागत तथा जटिल प्रविधिका कारण मल कारखानाको स्थापना सम्बन्धी कार्य अघि बढेको छैन।