पर्यटन प्रवर्द्धनको प्रभावकारी उपाय मौखिक प्रचार
मन्त्रालय, पर्यटन बोर्ड र निजी संस्थाका केही पदाधिकारीलाई विदेश पठाएर गरिने खर्चिलो तर अत्यन्तै सस्तो प्रचारभन्दा विदेशी लेखक, पत्रकार, सेलिब्रेटीहरूलाई नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा पुर्याई भरपूर मनोरञ्जन र सन्तुष्टिका साथ सत्कार गरियो भने पर्यटन प्रवर्द्धन प्रभावकारी हुन्छ।
‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नाराका साथ आज ४४औं विश्व पर्यटन दिवस मनाइँदै छ। सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठन (यूएनडब्लुटीओ)को स्थापना भएको दिनको स्मरण गर्दै सन् १९८० देखि विश्व पर्यटन दिवस मनाउने प्रचलनको शुरू भएको थियो।
पर्यटन विश्व अर्थतन्त्रको एउटा मुख्य हिस्सा हो। सन् २०१९ मा पर्यटनको विश्व अर्थतन्त्र १० ट्रिलियन अमेरिकी डलरको थियो। सन् २०२० र २०२१ मा भने कोभिड-१९ महामारीले असर पार्यो। सन् २०२२ मा भने ७.७ ट्रिलियन अमेरिकी डलर बराबर रह्यो। तथापि यो सन् २०१९ को तुलनामा २३ प्रतिशतले कम हो।
सन् २०२३ मा भने विश्व अर्थतन्त्रमा पर्यटनको योगदान ९.५ ट्रिलियन अमेरिकी डलर बराबरको हुने यूएनडब्लुटीओको प्रक्षेपण छ।
यूएनडब्लुटीओका अनुसार सन् २०२२ मा अन्तर्राष्ट्रिय पर्यटकको संख्या विश्वभर ९६३ मिलियन थियो। सन् २०२१ मा भने यो संख्या ४१५ मिलियन मात्र थियो। अर्थात् एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय पर्यटकको संख्या ६० प्रतिशतले वृद्धि भएको थियो।
जबकि, सन् २०१८ को तुलनामा चार प्रतिशतले वृद्धि भई २०१९ मा अन्तर्राष्ट्रिय पर्यटकको संख्या १.५ बिलियन पुगेको थियो। यो तथ्याङ्क हेर्ने हो भने पर्यटन अझै पूर्ववत् अवस्थामा फर्किसकेको छैन।
२०२२ को तथ्याङ्कलाई आधार मान्दा यूरोपेली मुलुकमा सबैभन्दा धेरै ६२ प्रतिशत, अमेरिकामा १६ प्रतिशत, एशिया प्यासिफिक क्षेत्रमा १० प्रतिशत, मध्यपूर्वी मुलुकमा सात प्रतिशत र अफ्रिकी मुलुकमा सबैभन्दा थोरै पाँच प्रतिशत पर्यटक आगमन भएको देखिन्छ।
यूएनडब्लूटीओले सन् २०२३ मा पर्यटन आगमन संख्यामा ३० प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ।
नेपालको अर्थतन्त्रमा पर्यटन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०२२ मा ६ लाख १४ हजार ८६९ पर्यटक नेपाल भित्रिएका थिए। सन् २०२१ मा भने जम्मा एक लाख ५० हजार ९६२ पर्यटक नेपाल आएका थिए।
कोभिडपूर्व सन् २०१९ मा यो संख्या ११ लाख ९७ हजार १९१ थियो, जुन सन् २०१८ को तुलनामा २.०५ प्रतिशतले बढेको थियो। २०१९ मा हालसम्मकै धेरै विदेशी पर्यटक नेपाल भित्रिएका थिए। बीचमा कोभिड महामारीले नेपालको पर्यटन उद्योगलाई नराम्ररी बिथोल्यो।
नेपाल सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ।
नेपालमा धेरैजसो पर्यटक बिदा मनाउन आउने गरेका छन्। सन् २०२२ मा बिदा मनाउन आउने पर्यटकको संख्या तीन लाख ९७ हजार ८२० थियो। ६१ हजार ७०१ पर्यटक पदयात्रा र पर्वतारोहणका लागि आएका थिए। सगरमाथा सहित विभिन्न हिमाल आरोहणका लागि एक हजार ९६२ समूहका आठ हजार ४६८ पर्यटक नेपाल आएका थिए।
हाल हवाई मार्ग हुँदै नेपाल भित्रिने पर्यटकको गणना गरी पर्यटक आगमन तथ्याङ्क निकाल्ने गरिएको छ। भारततर्फ खुला सिमानाका कारण स्थलमार्गबाट आउने पर्यटकको यथार्थ विवरण प्राप्त हुन सकेको छैन। विभिन्न सीमानाकाबाट जनकपुर, लुम्बिनी, पशुपतिनाथ, मुक्तिनाथ लगायत तीर्थस्थलमा भारतीय धार्मिक पर्यटक उल्लेख्य मात्रामा आएको पाइन्छ।
अर्कातर्फ, अध्यागमनको तथ्याङ्कमा एउटै पर्यटक एकभन्दा बढी पटक आउँदा पटकैपिच्छे गणना हुने तथा विदेशी नागरिकता लिएर परिवार भेट्न भिसा लगाई नेपाल आउने नेपालीहरूलाई समेत उक्त तथ्याङ्कमा समेटिन्छ। यस्ता पर्यटक केही लाखमा देखिए पनि हामीले हिसाब गर्नुपर्ने भनेको विदेशी मुद्रा नेपाल ल्याउने, अधिक दिन नेपालमै बिताउने पर्यटकको हो।
यस्ता पर्यटकबाट मात्र पर्यटन, आर्थिक गतिविधि र विदेशी मुद्रा सञ्चितिमा योगदान हुन्छ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान दुईदेखि चार प्रतिशत मात्रै हो। कोभिड महामारीका कारण लय समात्न बाँकी रहेको पर्यटनले सन् २०२२ मा त १.९८ प्रतिशत मात्र योगदान पुर्यायो। यसको ठूलो हिस्सा पनि पर्वतारोहणबाट सङ्कलन हुने सलामी दस्तुरले ओगटेको छ।
सन् २०२२ को तथ्याङ्क अनुसार एक जना पर्यटकले औसत १३.१ दिन नेपाल बसेर दैनिक ४०.५ अमेरिकी डलर खर्च गरेको पाइएको छ।
नेपालका लागि पर्यटकको मुख्य स्रोत भारत, चीन, अमेरिका, बेलायत, श्रीलंका, भूटान लगायत देशहरू हुन्। सन् २०२२ मा क्रमशः भारत, अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया र बाङ्लादेशबाट धेरै पर्यटक नेपाल आएका थिए।
पछिल्लो समय नेपालीहरू पनि विदेश घुम्न जाने प्रचलन बढ्दो छ। यहाँका नागरिक विदेश घुम्न जाँदा, यहाँका विद्यार्थी विदेश पढ्न जाँदा स्वदेशी मुद्रा विदेशिने पनि भइरहेको छ।
पर्यटकवहन क्षमता
नेपालमा हाल वर्षैभरि सञ्चालनयोग्य विमानस्थल ३७ वटा छन्। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतमबुद्ध विमानस्थल र पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान भर्ने स्तरका छन्। अन्तर्राष्ट्रिय हवाई सीट क्षमता वार्षिक ८७.५५ लाख पुगेको छ।
हाल नेपालमा २९ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेवा दिइरहेका छन्। सन् २०२२ मा आगमनतर्फ १२ हजार १५८ र प्रस्थानतर्फ १२ हजार १५४ गरी जम्मा २४ हजार ३१२ अन्तर्राष्ट्रिय उडान भएका थिए। आन्तरिकतर्फ १० वटा कम्पनीले सेवा दिइरहेका छन्।
सन् २०२२ को अन्त्यसम्म नेपालमा पर्यटक लक्षित होटलको संख्या एक हजार ४०१ पुगेको छ। जसमध्ये पाँच तारे होटल १९ वटा, एकदेखि चार तारे होटल १६० वटा, हेरिटेज एवं बुटिक होटल र रिसोर्ट १२८ वटा छन्।
यस्तै, ती होटलको बेड संख्या ५३ हजार ३६५ छ। एक हजार ८०५ बेड संख्या सहित ४४९ वटा होमस्टे समेत सञ्चालनमा छन्।
आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म चार हजार ७७३ ट्राभल एजेन्सी, तीन हजार १३६ ट्रेकिङ एजेन्सी, ९४ वटा र्याफ्टिङ एजेन्सी, ९२ वटा पर्यटक ट्रान्सपोर्ट सेवाप्रदायक संस्था सञ्चालनमा आएका छन्।
प्रवर्द्धनात्मक अभियान
सन् १९९८ लाई ‘भिजिट नेपाल ९८’, सन् २०११ लाई ‘नेपाल पर्यटन वर्ष’, विसं २०७३ लाई ‘नेपाल घुमफिर वर्ष’, वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएर सन् २०२० लाई ‘भिजिट नेपाल २०२०’ लगायत कार्यक्रम बनाई प्रवर्द्धनात्मक अभियान सञ्चालन भए।
नेपाल पर्यटन बोर्डले विभिन्न मुलुकमा सञ्चालन हुने पर्यटन मेलामा सहभागी भई प्रचारात्मक कार्यक्रम समेत गरिरहेको हुन्छ। यीमध्ये कुनै कार्यक्रम आंशिक सफल भए भने कुनै भएनन्। ‘भिजिट नेपाल २०२०’ त कोभिडकै कारण स्थगित भयो।
आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा सन् २०२३ देखि २०३२ को दशकलाई ‘नेपाल घुमौं, नेपाल चिनौं’ भन्ने नारा सहित पर्यटक दशकका रूपमा मनाइने घोषणा समेत भएको छ। घोषणासँगै पर्यटनसँग सम्बन्धित जनशक्ति उत्पादनका लागि तालीम, सम्पदा संरक्षण र प्रवर्द्धन, पर्यटन पूर्वाधार योजना तर्जुमा, अनुगमन र नियमनका साथै नयाँ गन्तव्यको खोजी र विकासलाई प्राथमिकता दिनुपर्नेछ।
नेपालमा भएका पर्यटकीय स्रोतहरूको विविधताका कारण यहाँ बैठक, प्रोत्साहन, सम्मेलन, प्रदर्शनी (MICE) पर्यटनको निकै ठूलो सम्भावना छ। त्यसका लागि करोडौं खर्चेर विदेशमा गई पोस्टर-पम्प्लेटका माध्यमबाट गरिने प्रचारभन्दा मौखिक प्रचार नै प्रभावकारी हुन्छ। एक जना मात्र बौद्धिक पर्यटकलाई यहाँको स्रोत, संस्कृति, संस्कार, सेवा र सत्कारले सन्तुष्ट बनाई पठाउन सक्यौं भने त्यो नै सबैभन्दा प्रभावकारी प्रवर्द्धन हुन्छ।
समयसापेक्ष नीतिगत सुधारको खाँचो
काठमाडौं विमानस्थल उत्रनासाथ सम्पदैसम्पदाले भरिपूर्ण शहर घुम्न पाउनु, आधा घन्टाको उडानमै होटलको बाल्कोनीमा बसेर फेवा तालमा प्रतिविम्बित माछापुच्छ्रे लगायत हिमालहरू आफ्नै हातले छुन सकिएला जस्तो अनुभव गर्न पाउनु, तीन घन्टाको सडक यात्रामै चितवन राष्ट्रिय निकुञ्ज पुगी दुर्लभ वन्यजन्तु हेर्दै जङ्गल सफारी गर्न पाउनु, माउन्टेन फ्लाइट गर्न पाउनु लगायत कारणले नेपाल विश्वभरका पर्यटकका लागि आकर्षक गन्तव्य हो।
नेपालको पर्यटन क्षेत्रको नियमनका लागि पर्यटन नीति, २०६५ र सांस्कृतिक क्षेत्रको नियमनका लागि राष्ट्रिय संस्कृति नीति, २०६७ तथा उड्डयन क्षेत्रको नियमनका लागि हवाई नीति, २०६३ जारी गरी कार्यान्वयनमा ल्याइएको छ। तथापि बदलिंदो युगमा यस्ता नीतिमा समयसापेक्ष संशोधन गर्नुपर्छ।
२०३५ सालमा बनेको पर्यटन ऐन र १३ वर्ष पहिलेको राष्ट्रिय संस्कृति नीति परिमार्जनका लागि मस्यौदा तयार गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसालै अग्रसरता लिएको पनि छ। मन्त्रालय अन्तर्गत विभाग, कार्यालय, निगम, प्राधिकरण, बोर्ड, प्रतिष्ठान, संस्थान, संग्रहालय, विकास समिति लगायत विविध निकाय गठन गरी सम्बद्ध ऐन, नीति, मापदण्ड, गठन आदेश, कार्यविधि, निर्देशिकाका आधारमा कार्यविभाजन गरी कार्यसम्पादनका लागि अधिकार प्रत्यायोजन पनि गरिएको छ।
राज्य संघीय संरचनामा गएपछि ठाउँविशेषका सांस्कृतिक र पर्यटकीय गतिविधि सञ्चालन, नियमन, विकास र प्रवर्द्धन गर्न प्रदेशस्तरमा र स्थानीय निकायमा समेत हस्तान्तरण गरी कार्य जिम्मेवारी दिइएको छ।
सुधारका उपाय
पछिल्लो १० वर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा विभिन्न दलका १८ मन्त्री र १३ सचिव फेरिएका छन्। यसकारण एउटा नेतृत्वकर्ताले शुरू गरेको अभियानलाई अर्काले निरन्तरता नदिनु, पुनः शून्यबाट गर्न खोज्नु, क्षेत्रगत, राजनीतिक र व्यक्तिगत स्वार्थ जोडिनु, सानो एकाइबाट लक्षित समुदायलाई हुने प्रभावकारी कार्यक्रमको सट्टा उच्च महत्त्वाकांक्षी परियोजनाको परिकल्पना गर्नु पर्यटन विकासका गम्भीर बाधक हुन्।
सम्पदाहरू जताततै भत्किएको अवस्थामा देखिनु, भित्ता तथा छानामा झार उम्रिएको देखिनु, सम्पदा वरिपरि लागूऔषध दुर्व्यसनीको जमात मात्र देखिनु, उनीहरूबाट पर्यटकमाथि असभ्य-अभद्र व्यवहार गरिनुले पर्यटकको मनमा नेपालप्रति नकारात्मक छाप बस्न सक्छ।
हामीले प्रचारप्रसारका विधि र शैलीलाई सच्याउनु पनि जरुरी छ। मन्त्रालय, बोर्ड र निजी संस्थाका केही पदाधिकारी पटक पटक विदेश गएर गर्ने खर्चिलो तर अत्यन्तै सस्तो प्रचारभन्दा विदेशी लेखक, पत्रकार, ब्लगर, सेलिब्रेटी आदिलाई नेपालमै निमन्त्रणा गरी यहाँका विभिन्न पर्यटकीय गन्तव्यमा पुर्याई भरपूर मनोरञ्जन र सन्तुष्टिका साथ सत्कार गरियो भने पर्यटन प्रवर्द्धन प्रभावकारी हुन्छ।
पदयात्रा र पर्वतारोहण विदेशी पर्यटकले प्रशस्त पैसा खर्च गर्ने क्षेत्र हुन्। पर्यटकबाट प्राप्त पैसालाई करको दायराभित्र ल्याउने प्रणालीको विकास हुनुपर्छ। नत्र सिजनमा विदेशबाट आएको पैसा अफसिजनमा विदेशमै पुगिरहेको पो छ कि? राज्यले यस विषयमा ध्यान दिनुपर्ने देखिन्छ।