बिहे समारोहमा आगलागी हुँदा इराकमा १०० जनाको मृत्यु
उत्तरी इराकी शहर काराकोशमा एक वैवाहिक समारोहमा आगलागी हुँदा १०० जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन्।
आगलागी हुँदा वैवाहिक समारोह आयोजना गरिएको हलको छत नै खसेको जनाइएको छ। जसले गर्दा यति धेरै मानिसले ज्यान गुमाएका अधिकारीहरूले बताएका छन्।
इराकको समाचार समितिले निनेवेह प्रान्तका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै हमदानियाहमा वैवाहिक समारोह भइरहेको एउटा हलमा भएको आगलागीमा १०० जनाको मृत्यु भएको र १५० भन्दा बढी घाइते भएका जनाएको छ। इराकको स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल–बद्रले पनि मृतकको संख्या पुष्टि गरेको एएफपीले जनाएको छ।
अस्पताल भर्ना भएका अधिकांश बिरामी जलेका, अक्सिजन अभावका कारण श्वासप्रश्वासमा समस्या भएका तथा केही भने भीडले कुल्चिंदा घाइते भएका छन्।
असोज ९ गते साँझ आगलागी भएको हो। यद्यपि आगलागी कारण अहिलेसम्म थाहा हुन सकेको छैन। प्रारम्भिक विवरण अनुसार पटाका पड्काउँदा आगलागी भएको बताइएको छ।
दुलहा र दुलही पनि आगोको चपेटामा परे/नपरेको केही जानकारी प्राप्त भएको छैन। नाच्न थालेपछि आगो सल्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।