अन्तर्राष्ट्रिय उडानको पर्खाइमा पोखरा
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुन थालेसँगै पूर्वाधार निर्माणमा लगानी गरेका पोखराका पर्यटन व्यवसायी अन्तर्राष्ट्रिय उडान हुन नसकेपछि निराश छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनअघिदेखि नै नियमित अन्तर्राष्ट्रिय उडान हुन्छ कि हुँदैन भन्ने अन्योल थियो। विमानस्थल बनेपछि भने अन्तर्राष्ट्रिय उडान हुन्छ भन्ने पोखरेलीको आश थियो। तर, एक वर्ष पुग्नै लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।
अन्तर्राष्ट्रिय उडान हुने आशले कोभिड-१९ को महामारीअघिबाटै पोखराका पर्यटन व्यवसायीले ऋण गरेरै लगानी बढाएका थिए। होटल थपिएका थिए। पूर्वाधार बन्न थालेका थिए। तर, कोभिड-१९ महामारीले पारेको असरले पर्यटन व्यवसायीलाई ऋणमा डुबायो।
विमानस्थलको उद्घाटनपछि अन्तर्राष्ट्रिय उडानले सहज बनाउने आशमा थिए, यहाँका पर्यटन व्यवसायी। तर, अहिलेसम्म उडान उडान नहुँदा उनीहरू चिन्तित छन्।
“विमानस्थल बन्यो मात्रै, उडान हुन सकेको छैन। हामीले ठूलो आश राखेका छौं, तर नागरिक उड्ययन प्राधिकरणले पोखरालाई प्राथमिकतामा नराखेको जस्तो देखियो,” पर्यटन व्यवसायी गोपी भट्टराई भन्छन्, “यही अवस्था रहे पर्यटन व्यवसायी पलायन हुने अवस्था आउँछ।”
अर्कातिर, उद्घाटनको १५ दिनमै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको यती एअरलाइन्सको विमान सेतीको खोंचमा खस्यो। विमानमा सवार चालक दलका सदस्य सहित ७२ जनाले ज्यान गुमाए।
यो दुर्घटनाका कारण पोखराले ठूलो मानवीय क्षतिसँगै आर्थिक नोक्सानी पनि बेहोर्यो। जसका कारण मनोवैज्ञानिक त्रासले विमानबाट पोखरा आउने पर्यटकको संख्या ह्वात्तै घट्यो।
यस्तै, पोखरा भित्रिने मुख्य सडक पृथ्वी राजमार्ग पनि सहज भएन। स्तरोन्नतिको काम चलिरहँदा यात्रुले सास्ती खेप्नुपर्ने अवस्था आयो। जसले गर्दा पोखरा आउने आन्तरिक पर्यटक पनि घटे। जसकारण लगानी डुब्ने अवस्था आएको पर्यटन व्यवसायी दुखेसो गर्छन्।
नौ महीनामा दुई उडान
उद्घाटनको नौ महीनामा विमानस्थलमा दुई वटा मात्रै अन्तर्राष्ट्रिय उडान भएका छन्। गत असार ६ गते चीनको छेन्दु शहरबाट सिचुवान एअरलाइन्सको एअरबस-३११ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। छेन्दुबाट १३५ यात्रु पोखरा आएका थिए। उनीहरूलाई पहिलो पटक ‘अन अराइभल’ भिसा प्रदान गरिएको थियो।
उनीहरू पोखरामा भएको चीनको दुई हजार वर्ष पुरानो ‘ड्रागन बोट फेस्टिभल’ मा सहभागी हुन आएका थिए। पहिलो अन्तर्राष्ट्रिय उडानको स्वागत गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अन्तर्राष्ट्रिय उडानको बाटो खुलेको बताएका थिए। तर, अहिलेसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन्।
त्यस्तै, गत भदौ २३ मा भूटानको रोयल भूटान एअरलाइन्सले राजधानी थिम्पुको पारो विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो अन्तर्राष्ट्रिय उडान गरेको थियो। जसमा चालक दलका सदस्य र तीन यात्रु गरी सात सदस्यीय टोली पोखरा ओर्लिएको थियो भने पोखराबाट ४२ यात्रु पारोका लागि उडेका थिए।
विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलो पटक आम्दानी गरेको बताएका थिए। रोयल भूटान एअरलाइसन्सले प्रतियात्रु तीन हजार रुपैयाँ सहित ‘ग्राउन्ड ह्यान्डलिङ’ शुल्क विमानस्थललाई तिरेको थियो। त्यसपछि भने कुनै अन्तर्राष्ट्रिय उडान भएका छैनन्।
त्यति वेला यात्रुको स्वागत र बिदाइ गर्न गण्डकीका पर्यटन मन्त्री दीपेन्द्रबहादुर थापा सहित पोखराका मेयर धनराज आचार्य विमानस्थल पुगेका थिए। मेयर आचार्यले विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेको बताएका थिए। उडानका लागि चीन सकारात्मक भए पनि पहिले भारतका शहरबाट उडानका लागि प्रयास भइरहेको आचार्यको भनाइ थियो।
दुई अन्तर्राष्ट्रिय उडान गरेर रमाइरहेको पोखरा विमानस्थलमा नियमित उडानका लागि बहस र छलफल भए पनि निष्कर्षमा पुग्न सकिएको छैन। अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक उडानमै सीमित छ।
अन्तर्राष्ट्रिय उडान कहिले?
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा असोज ९ गते जारी संयुक्त वक्तव्यमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय उडान र हवाई रूटबारे दुवै तर्फबाट प्रोत्साहन र पहल गरिने उल्लेख छ। यसअघि चीन भ्रमणमा पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि सिचुवान एअरलाइन्सलाई छेन्दुबाट पोखरामा नियमित उडान आग्रह गरेका थिए। जसबारे एअरलाइन्स सकारात्मक रहेको श्रेष्ठको भनाइ थियो।
अन्तर्राष्ट्रिय एअरलाइन्ससँगै नेपाली एअरलाइन्सले पनि चीनका विभिन्न शहरमा नियमित उडान शुरू गर्नुपर्ने व्यवसायी बताउँछन्। “अरूलाई पर्खेर मात्रै हुँदैन, अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एअरलाइन्सले पनि चासो देखाउनुपर्छ,” पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्। अब अन्तर्राष्ट्रिय उडानका लागि पोखरा तयार रहेको श्रष्ठ बताउँछन्।
भारत सरकारसँग पनि नेपालले हवाई रूटबारे कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता रहेको विज्ञहरू बताउँछन्। भारतले हवाई रूट नदिएसम्म पोखरा विमानस्थल दीर्घकालीन रूपमा सञ्चालन गर्न सहज नहुने उनीहरूको ठम्याइ छ। त्यसो त भारतका विभिन्न शहरमा पोखराबाट सीधै उडानको पहल भएको थियो। तर, कूटनीतिक प्रयास नपुग्दा टुङ्गोमा पुगेको छैन।
अब पनि अन्तर्राष्ट्रिय उडान नहुने भने पोखरा विमानस्थलले आर्थिक सङ्कट झेल्नुपर्ने देखिन्छ। उद्घाटनका दिन चीन सरकारले विमानस्थल निर्माणका लागि प्रदान गरेको कुल ऋणको २५ प्रतिशत ब्याज मिनाहाको घोषणा गरेको थियो। सन् २०१६ मा चीनको एक्जिम ब्यांकले २१ करोड ६० लाख अमेरिकी डलर ऋण उपलब्ध गराएको थियो।
त्यो ऋणको किस्ता तिर्ने समय शुरू हुने अवस्थामा पुगेको छ। अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा ब्याज तिर्ने रकम जुटाउन विमानस्थललाई चुनौती छ।
अर्कातिर, धावनमार्गले पनि अन्तर्राष्ट्रिय उडानका लागि उल्झन थपेको छ। शुरूआतमा विमानस्थलको धावनमार्ग तीन हजार मिटर बनाउने सहमति भएको थियो। तर, पछि दुई हजार ५०० मिटर मात्र बनाइयो। जसले गर्दा अन्तर्राष्ट्रिय जहाजलाई उडान र अवतरण गर्न प्राविधिक रूपमा सहज नभएकाले उनीहरूले पोखरा आउन आनाकानी गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी बताउँछन्।
चीन भ्रमणअघि पोखरा आएका प्रधानमन्त्री दाहाललाई पनि मुल्मी सहित पोखराका व्यवसायीले धावनमार्गबारे जानकारी गराएका थिए। अन्तर्राष्ट्रिय उडानका लागि धावनमार्ग तीन हजार मिटर बनाउन आग्रह गरेका थिए।
२०३२ सालमा नै पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण गरिएको थियो। लामो समयको पर्खाइपछि बनेको विमानस्थलले पोखरा र समग्र गण्डकीमा नै पर्यटन र आर्थिक विकासको आशा देखाएको थियो। तर, अन्तर्राष्ट्रिय उडानका लागि पर्याप्त कूटनीतिक पहल हुन नसक्दा पोखरेलीको आशा धरमराएको छ।