पुष्पा र अञ्जली कोशी पुगेसँगै गैंडाको संख्या विस्तारको सम्भावना प्रचुर
“कोशीमा गैंडा विस्तार गर्न सकिने प्रचुर सम्भावना छ,” विगतमा आरक्षमा कार्यरत विभागका संरक्षणकर्मी चन्द्रशेखर चौधरी भन्छन्, “गैंडा जहाँ पुग्छ, त्यहाँ जोखिम बढ्नु त स्वाभाविकै हो। जोगाउने चुनौती त जहाँ पनि उस्तै हो।”
विश्व पर्यटन दिवसका अवसरमा आज (असोज १० गते बुधबार) कोशी टप्पु वन्यजन्तु आरक्षले दुई पाहुनाको स्वागत गर्दै छ। पाहुना हुन्, चितवन राष्ट्रिय निकुञ्ज परिसरमा रहेको जैविक विविधता केन्द्रमा हुर्किएका दुई गैंडा पुष्पा र अञ्जली।
२०७६ पुसमा निकुञ्जको पश्चिम सेक्टर तमासपुर क्षेत्रको एउटा घोलमा एक-डेढ महीना पुगेको अवस्थामा पुष्पा भेटिएकी थिई। “रातभरि कुर्दा पनि माउ नआएपछि केन्द्रमा ल्याइएको थियो,” जैविक विविधता केन्द्रका तत्कालीन प्रमुख बाबुराम लामिछानेले भने, “अञ्जलीलाई २०७७ चैतमा गैंडा गणनाका क्रममा कुजौलीको घाँसे मैदानमा भेट्टएका थियौं। डेढ महीना जति उमेर भएको उसको अवस्था पनि नाजुक थियो।”
केन्द्रमा ल्याइएपछि उसलाई औषधोपचार र स्याहारसुसार गरियो। खानपिनमा विशेष ध्यान दिइयो। गत वैशाख ३१ गते प्राकृतिक वासस्थानमा पनि छोडियो। तर, यिनीहरू मानव बस्तीतिरै आउन थाले।
यही कारण राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गठन गरेको प्राविधिक समितिको अध्ययन निष्कर्षका आधारमा दीर्घकालीन संरक्षणका लागि ४१ महीनाकी पुष्पा र ३४ महीनाकी अञ्जलीलाई कोशी पठाउने निर्णय भएको हो।
यी दुई गैंडालाई शुरूमा चितवनमा जस्तै निगरानीमा राखिनेछ। वातावरणमा घुलमिल हुने भएपछि मात्र जङ्गलमा छोडिनेछ। “तिनलाई शुरूको केही समय सौराहामा जस्तै पौष्टिक खाना दिइने र हेरालुको व्यवस्था गरिनेछ,” विभागका उपमहानिर्देशक अजय कार्की बताउँछन्।
अर्ना संरक्षणका लागि स्थापित, गैंडा विस्तारको सम्भावना
विगतमा नेपालको तराई क्षेत्रमा पूर्वपट्टि झापासम्मै गैंडा पाइने ऐतिहासिक विवरण भेटिएको भए पनि यो आरक्षमा पहिलो पटक गैंडा पुग्दै छ। अब कोशीमा गैंडा विस्तार गर्न सकिने सम्भाव्यता भएको पनि विज्ञहरूको तर्क छ।
“कोशीमा गैंडा विस्तार गर्न सकिने प्रचुर सम्भावना छ,” विगतमा आरक्षमा कार्यरत विभागका संरक्षणकर्मी चन्द्रशेखर चौधरी भन्छन्, “गैंडा जहाँ पुग्छ, त्यहाँ जोखिम बढ्नु त स्वाभाविकै हो। जोगाउने चुनौती त जहाँ पनि उस्तै हो।”
विगतमा आरक्षको क्षेत्र विस्तारको पहल पनि भएको थियो। यसबारे अध्ययन सम्पन्न भएर हालको श्रीलंका टापुदेखि चतराको नयाँ पुलको तल्लो तटसम्मको खयरको जङ्गललाई आरक्ष क्षेत्र बनाउने नीतिगत सहमति भएको थियो। तर, क्षेत्र विस्तारको सो काम अघि बढ्न सकेको छैन।
“अहिले लगिएका दुवै गैंडा पोथी भएकाले भोलिका दिनमा चितवनबाट अरू भाले पनि लानुपर्ने हुन्छ। त्यहाँ तिनको संख्या विस्तारका लागि पनि क्षेत्र विस्तारले सहयोग पुग्छ,” विभागका सूचना अधिकृत समेत रहेका चौधरी भन्छन्।
२०३२ सालमा स्थापित कोशी टप्पु आरक्षको मुख्य उद्देश्य नेपालमा अति दुर्लभ मानिएको अर्ना संरक्षण गरी संख्या वृद्धि गराउने हो। सप्तकोशी नदीले बनाएको टापुमा अवस्थित आरक्षमा अर्नाको संख्या ४५० हाराहारी छ।
अर्ना बाहेक आरक्षमा ४९० भन्दा धेरै पन्छी प्रजाति पाइन्छन्। घडियाल तथा मगर गोही समेत पाइन्छन्। गोंच लगायत विभिन्न जातका माछा पाइने यो आरक्षलाई सन् १९८७ मा रामसार क्षेत्रका रूपमा सूचीकृत गरिएको थियो।
आरक्ष नदीको बालुवाबाट बनेको टापुमा भएकाले यहाँ सिसौ र खयरको रूखको बाहुल्य छ। यस्तै, आरक्षमा बाघ वा अन्य ठूला शिकारी प्रजाति नभएकाले गैंडालाई त्यति जोखिम नहुने विज्ञहरूको राय छ।
चितवनमा गैंडाको संख्या बढ्यो, वृद्धिदर घट्यो
गैंडाका भालेपोथी र बच्चा प्रायः सँगै हुन्छन्। यो एकान्त रुचाउने प्राणी हो। माउसँग छुट्टिएका बच्चालाई बाँच्न गाह्रो हुन्छ।
गैंडाको जन्मजात तौल ५०-६० किलो हुन्छ। हुर्कने वेला दिनको झन्डै ५०० ग्रामदेखि एक किलोसम्म यसको तौल बढ्छ। दुई वर्षमा गैंडाको तौल चारदेखि पाँच सय किलोसम्मको हुन्छ। यसको आयु सरदर ४० वर्ष हुन्छ।
२०७७ चैतमा सार्वजनिक गैंडा गणनाले नेपालमा ७५२ वटा गैंडा रहेको देखाएको थियो। गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा मात्र ६९४ गैंडा थिए। चितवनमा पछिल्लो समय गैंडाको संख्या बढे पनि वृद्धिदर भने घटेको छ।
हाल बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ र शुक्लाफाँटामा १७ वटा गैंडा छन्।
२५ वर्षअघिको एक अध्ययनमा गैंडाले आफ्नो आहाराको १५ देखि २० प्रतिशतसम्म खेतीबालीबाट पूर्ति गर्ने गरेको पाइएको थियो। अहिले त्यो दुई-तीन प्रतिशतमा सीमित छ। अर्थात, गैंडा पहिला जस्तो खानाका लागि खेतबारीमा आउँदैन।
गैंडा संरक्षण कार्ययोजना (सन् २०१७-२१)मा चितवनमा गैंडाको संख्या बढ्दै जाँदा उच्च घनत्व भएको ठाउँबाट न्यून घनत्व भएको ठाउँमा सार्नुपर्ने विषयलाई जोड दिइएको थियो। सो कार्ययोजना लागू भएको तीन वर्षपछि बल्ल चितवनका गैंडालाई कोशीमा स्थानान्तरण गरिएको छ।
नेपालमा यसअघि पनि चितवनका गैंडालाई बर्दिया स्थानान्तरण गरिएको थियो भने ६ वर्षअघि कोशी टप्पुको अर्नालाई चितवन स्थानान्तरण गरिएको थियो। कुनै एक ठाउँमा भएका वन्यजन्तु कुनै महामारी वा विपत्ले जोखिममा पर्न सक्ने भएकाले सुहाउँदो वासस्थानमा स्थानान्तरण गर्ने गरिन्छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बनेपछि चितवन राष्ट्रिय निकुञ्ज स्थापना गरिएको थियो। निकुञ्ज स्थापना गर्नुअघि त्यहाँ २०२५ सालमा हेलिकोप्टरबाट गैंडाको गणना गरिएको थियो। गणना टोलीमा रहेका र त्यति वेला वन मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज शाखामा कार्यरत संरक्षणकर्मी हेमन्त मिश्रले गणनाको अनुभव सुनाउँदै चितवन राष्ट्रिय निकुञ्ज नबने २०४५ सालसम्ममा सबै गैंडा लोप हुने अनुमान आफूहरूले गरेको बताएका थिए।
गैंडाको आत्मा लगायत पुस्तकका लेखक समेत रहेका संरक्षणकर्मी मिश्रले निकुञ्ज बनेमा चितवनमा गैंडाको संख्या ३०० सम्म पुग्न सक्ने अनुमान गरेको पनि सुनाएका थिए। त्यति वेला नेपालमा हाराहारी १०० वटा गैंडा भएको अनुमान थियो। “तर हामी गलत सावित भयौं, चितवनमै गैंडाको संख्या ६०० नाघ्यो,” मिश्रले भनेका थिए।
अरू पनि,