कुशल मल्लको विश्वकीर्तिमान
टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक प्रहार गरेर नेपाली ब्याटर कुशल मल्लले विश्वकीर्तिमान रचेका छन्।
१९औं एशियाली खेलकूद अन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा मंगोलिया विरुद्धको खेलमा बायाँहाते ब्याटर कुशलले ३४ बलमा शतक बनाएका हुन्। उनले २९७ को स्ट्राइक रेटमा ३४ बलमा १०१ रन बनाएका हुन्।
यसअघि टी-२० अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकाका डेविड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक प्रहार गर्दै कीर्तिमान रचेका थिए।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्स विरुद्ध खेल्नेछ। यो समूहमा शीर्षस्थानमा रहन सके नेपाल क्वार्टरफाइनलमा प्रवेश गर्नेछ।
क्वार्टरफाइनलमा भने नेपालले भारत, बाङ्लादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तानमध्ये एउटा टोलीसँग खेल्नेछ। पाँच वटै देशले एकदिवसीय विश्वकप प्रतियोगिताका कारण आफ्नो दोस्रो टोली एशियाली खेलकूदमा सहभागिताका लागि पठाएका छन्।