सहुलियत मूल्य पसल असोज २१ गतेदेखि
चाडबाड लक्षित सहुलियत मूल्य पसल असोज २१ गतेदेखि मंसीर ३ गतेसम्म सञ्चालन गरिने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रूपमा सामग्री उपलब्ध गराउने उद्देश्य लिइएको छ।
सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दाल, गहुँ, आँटा, पीठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भटमासको तेल र चिउरा बजार मूल्यभन्दा प्रतिकिलो सात रुपैयाँ सस्तोमा बिक्रीवितरण हुनेछ। कर्णालीको सिमी तथा गेडागुडी, फापरको दाना, चिनो, कागुनो र उवा र जिउँदो खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो रु.१० छूट दिइनेछ।
यस वर्ष सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई रु.दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ। त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेशन मार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले रु.एक करोड छुट्याएको छ। साल्ट ट्रेडिङले चिनी प्रतिकिलो रु.९७ मा बेच्नेछ भने बजार मूल्यको तुलनामा नूनमा प्रतिकिलो रु. दुई छूट दिनेछ।
त्यस्तै, दुग्ध विकास संस्थानले घ्यूमा प्रतिकिलो रु.२०, पनीर प्रति २०० ग्राममा रु.२० र प्रति ५०० ग्राममा रु.५० छूट दिनेछ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको काठमाडौं उपत्यकामा रहेका आठ वटा बिक्री केन्द्र र तीन वटा घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा बिक्रीस्थल रहनेछ। त्यस बाहेक मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिरहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिममा खाद्य व्यवस्था कम्पनीले सहुलियत पसल सञ्चालन गर्नेछ।
त्यस्तै, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण स्टल रहनेछन्।
यस्ता पसल आवश्यकता अनुसार थप जिल्ला र स्थानमा पनि सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ। निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलरहरूका माध्यमबाट तोकिए बमोजिमको छूट पाउन सकिनेछ।
सहुलियत मूल्य पसलहरू प्रभावकारी भएको/नभएको विषयमा अनुगमन गर्न समिति पनि बनाइएको छ। चाडबाडको अवधिभर बजार अनुगमनको काम थप तीव्र पारिने मन्त्रालयले जनाएको छ।