अपर्याप्त छ विदेशगमनको भाष्य
बढ्दो विदेशगमनलाई लिएर जुन भाष्य बनाइएको छ त्यसले संसारभरि विकास भइरहेको ‘इन्स्ट्यान्ट ग्राटिफिकेशन’ को प्रभाव समेट्न सकेको छैन।
पछिल्ला वर्षहरूमा नेपालबाट पढ्न वा काम गर्न विदेश जाने क्रम ह्वात्तै बढेको छ। पढ्नका लागि भनेर अमेरिका, अस्ट्रेलिया वा क्यानडा गइरहेछन् भने काम गर्न मलेशिया वा खाडी मुलुकहरू जाने चलन छ। यो दुवै संख्या पछिल्ला वर्षहरूमा बढ्दै गएका छन्।
१० वर्षयता पढ्न वा काम गर्न विदेश जानेको संख्या कोभिडको समयमा बाहेक निरन्तर बढ्दै गइरहेछ। गत वर्ष मात्र काम र अध्ययनका लागि झन्डै नौ लाख युवाले देश छाडेका छन्।
यस्ता तथ्याङ्कको प्रस्तुतिले समाजमा विभिन्न खाले चासो सिर्जना गर्ने गरेका छन्। यसरी युवाहरू देश छाड्दै गर्दा नेपालले केही दशकका लागि मात्र पाएको जनसांख्यिक लाभ (तरुण देशका रूपमा) लिन नसकेको, विदेशी मुद्रा ठूलो मात्रामा बाहिरिएको, परिवार र सम्बन्धमा दरार आएको, प्रमुख उपभोक्ता नै युवाहरू हुने भएकाले उपभोगमा कमी आएर अर्थतन्त्र सुस्त भएको जस्ता विषयहरू मिडिया र सामाजिक विमर्शहरूमा व्यक्त हुने गरेका छन्।
आखिर युवाहरू किन यसरी विदेश गइरहेछन् त?
यो प्रश्नको जवाफमा एउटा सामान्य भाष्य सिर्जना भएको छ। त्यो हो, देशमा अवसर नभएकाले र भ्रष्टाचार एवं कुशासन हावी भएकाले युवाहरू विदेशिइरहेछन्।
के यो भाष्य सही नै हो त? यसमा शङ्का गर्न सकिने आधारहरू प्रशस्त छन्। त्यसैले पहिला यो भाष्यको सिर्जना कसरी भइरहेछ भन्नेबारे छलफल गरौं।
यो भाष्य मूलतः तीन वटा आधारमा निर्माण भएको पाइन्छ। पहिलो, अनुमानका आधारमा। दोस्रो, विदेश जाने युवासँग गरिएका सामान्य कुराकानी वा अन्तर्वार्ताका आधारमा। तेस्रो, राजनीति गर्नेले एकअर्कालाई आरोप लगाउने क्रममा।
अनुमानका आधारमा पनि विचार र ज्ञान निर्माण हुन्छन्। त्यसैले अनुमान आफैंमा समस्या होइन बरु ज्ञान निर्माणको प्रस्थानबिन्दु हो। कुराकानी र अन्तर्वार्ता त अध्ययन अनुसन्धानका विधि वा उपकरण नै भइहाले। पूर्वाग्रह र आरोप-प्रत्यारोप त राजनीतिका विशेषता नै भइहाले।
तर, यी दुई विधिबाट मात्र निर्माण भएका भाष्य र विचारमा धेरै सीमा छन्। यतिले मात्र एउटा जटिल, बृहत् र बहुआयामिक सामाजिक प्रवृत्तिलाई फराकिलो र विस्तृत ढङ्गले बुझ्न सघाउँदैन।
उदाहरणका लागि खराब राजनीतिबाट निराश भएर युवा विदेशिए भन्दै गर्दा प्रश्न उठ्छ, के नेपालको खराब राजनीति र त्यसैको सेरोफेरोमा हुर्केको आर्थिक संरचना सबैका लागि खराब छ? धेरै मानिसका लागि खराब भए पनि यो राजनीति र अर्थतन्त्रबाट लाभ लिइरहेका मानिसको संख्या पनि त सानो छैन! नेतादेखि उच्चपदस्थ कर्मचारी र साहुमहाजन हुँदै शहरबजारमा घर लगायत थोरैतिनो जायजेथा भएका मानिसको संख्या पनि सानो छैन। पढ्नकै लागि भनेर पैसा खर्च गरेर जानेहरू यही वर्गका हुन्। वर्तमान राजनीति र अर्थतन्त्रबाट उनीहरूले प्रशस्तै लाभ उठाएका छन्। आखिर सत्ता सञ्चालनमा संलग्न नेताकै सन्तान पनि विदेश गएका छन्।
दोस्रो, कसैले कुराकानीका क्रममा यहाँको राजनीति ठीक नभएर निराश भएका कारण विदेश जान लागेको भन्यो भन्दैमा उक्त भनाइलाई हुबहु ग्रहण गर्नुपर्छ भन्ने छैन। त्यस्ता भनाइका सन्दर्भ बेवास्ता नगर्दा एकाङ्गी धारणाको निर्माण हुने खतरा छ। अस्ट्रियन दार्शनिक लुडविग विट्गेन्स्टाइनको भनाइ सापटी लिने हो भने भाषाको प्रयोग गर्नु खेल खेल्नु जस्तै हो। प्रयोगकर्ताको रणनीति नबुझी भाषाको अर्थ पहिल्याउन सकिन्न। रणनीति थाहा पाउन सन्दर्भको आवश्यकता पर्छ।
तेस्रो, अवसर नपाएर विदेश गएको धारणालाई पनि परीक्षणको कसीमा राख्नुपर्छ। आईआईडीएसले हालै गरेको एक अध्ययनले नेपालको सूचना प्रविधिको क्षेत्रमा केही रोचक तथ्य सार्वजनिक गरेको छ। उक्त अध्ययन अनुसार सन् २०२२ मा आइटी क्षेत्रको कुल निर्यात ५० करोड अमेरिकी डलर नाघेको र कोभिड–१९ महामारीपछि त्यो द्रुत गतिमा बढिरहेको छ। साथै, ६६ हजारभन्दा बढी रोजगारी सिर्जना भएको छ। आइटी क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा १.४ प्रतिशत योगदान पुर्याएको छ भने कुल विदेशी मुद्रा आर्जनमा ५.५ प्रतिशत हिस्सा ओगटेको छ।
सूचना प्रविधिको तीव्र विकासले आइटी क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा पनि ‘भर्चुअल्ली’ काम गर्ने सम्भावना बढ्दै गएको छ। यसको मतलब अवसर नपाएर भौतिक रूपमै देश छाड्नुका विकल्प उपलब्ध नभएका होइनन्। साथै, अन्य क्षेत्रमा पनि उपभोग्य बजारको विस्तारसँगै स्वरोजगारका आयामहरू पनि कम्तीमा पहिलेभन्दा त बढ्दै गएको नै देखिन्छ।
अदक्ष श्रमिकहरूको कोणबाट पनि हेरौं। एकातिर सस्तो र कठिन श्रमका लागि युवाहरू विदेशिइरहेका छन् भने देशमा त्यही श्रमको व्यापक अभाव छ। एक अध्ययनका लागि दोलखाको एउटा गाउँमा अनुसन्धानका लागि बस्दा मैले कामको उपलब्धता प्रशस्तै रहेको देखेको थिएँ। काम गर्ने मानिसको अभावका कारण ज्याला (खेतीपाती लगायतको) पनि बढेको रहेछ।
संघीयताको कार्यान्वयनपछि गाउँमा विकास निर्माणका काम बढेका कारण कामको दायरा पनि फराकिलो भएका छन्। मुख्य कुरा गाउँमा बस्दा कमाएको अधिकांश पैसा जोगिने रहेछ। गाउँमा बसेका युवासँग कुरा गर्दा खेतीपाती, विकास निर्माण, पशुपालन आदि गरेर सजिलै महीनाको ५०-६० हजार कमाउने रहेछन् र अधिकांश पैसा जोगिने रहेछ।
सोही गाउँका एक युवा रमेश थापा भन्छन्, “तैपनि गाउँमा कोही पनि बस्दैनन्। विदेश नगए पनि काठमाडौंमै बस्न खोज्छन्। गाउँमा छुट्टी मनाउन र खसी काटेर खान मात्र आउने गर्छन्।”
पक्कै पनि सबै युवा गाउँमै बसे भने सबैका लागि अवसर नपुग्ला, तर जति श्रमको माग छ त्यति पूरा भएको छैन।
यो लेखको उद्देश्य युवाहरूको विदेश पलायनका नयाँ कारण प्रस्तुत गर्ने र त्यसको समाधानका लागि नीतिगत उपाय सुझाउने होइन। बरु स्थापित भाष्यलाई अन्य कोणबाट पनि हेर्न मिल्छ कि भन्ने प्रश्न उठाउने मात्र हो।
नेपाली समाजको एउटा विशेषता छ, कसैले कुनै काम शुरू गर्यो भने अरूले पनि त्यही पछ्याउने। जस्तै, नाफा–नोक्सानको निकै विचार गरेर मात्र लगानी गर्ने भनिएका ठूला उद्योगी व्यवसायीले नै एकपछि अर्को गरेर ३२ वटा वाणिज्य ब्यांक खोले। ‘नेपाल राष्ट्र ब्यांकको आर्थिक गतिविधि अध्ययन, २०७९/८०’ अनुसार ६५ वटाको हाराहारीमा खुलेका सिमेन्ट कारखानाको उत्पादन क्षमताको औसत उपयोग दर ३०.५७ प्रतिशत मात्र छ। अर्थात्, ती पूर्ण रूपमा चल्न सकेका छैनन्।
कसैले स्वतन्त्र उठेर चुनाव जितेपछि देशभर स्वतन्त्र चुनाव लड्ने चलन आगो जसरी सल्कियो। तीज मनाउने चलनमा त्यसैगरी परिर्वतन आयो। घरको अगाडिको भागमा केही दशकअघि ‘नमस्ते’ आकारको संरचनाको डिजाइनले कति व्यापकता पाएको थियो सम्झनुस् त! ‘एक चल्तीको पत्रकार, एक अनलाइन न्यूज पोर्टल’ पनि चलेकै छ। शहरमा रेस्टुरेन्ट च्याउ झैं उम्रेकै छन्।
कसैले शुरू गरेर सफलता पायो भने अरूले पनि त्यही अभ्यास पछ्याउने यो प्रवृत्तिलाई ‘सैद्धान्तिक फ्रेमवर्क’ मा राखेर हेर्यो भने अहिले मौलाएको विदेशगमन कस्तो देखिएला?
विदेशगमनलाई विश्व प्रवाह र संरचनाको कसीमा जोड्नु पनि उपयुक्त होला। अहिलेको विश्व प्रविधि, सामाजिक सञ्जाल, उपभोक्ता संस्कृति आदिको कारणले ‘इन्स्ट्यान्ट ग्राटिफिकेशन’ (तत्काल सन्तुष्टि)को प्रभाव बढ्दो छ। मानिसहरू तत्कालै पाइने सन्तुष्टिको ध्याउन्नमा छन्। एउटा एप मन परेन, डिलिट गर्यो, अर्को इन्स्टल गर्यो। टीभीमा च्यानल वा यूट्यूबमा भिडिओ फटाफट फेर्यो। जागीर पनि उसैगरी छिटोछिटो फेर्यो। यस्तो प्रवृत्ति नेपालमा मात्र होइन विश्वभर नै मौलाइरहेछ।
कुनै समय नेपालमा निकै आकर्षक मानिने ब्यांकको जागीर छोडेर युवाहरू विदेश गइरहेका भेटिन्छन् अहिले। ब्यांकका साथीभाइसँग कुरा गर्दा भन्छन्, “युवाहरू अहिले अधीर भएका छन्। एक पटक हुनुपर्ने प्रमोशन भएन कि निराश भएर विदेश जान खोजिहाल्छन्। वा, एउटै काम एकाध वर्ष गर्नुपर्दा धेरै झिंजो मान्छन् र परिर्वतन खोजिरहन्छन्।”
यो कोणबाट हेर्दा नेपालमा अवसर नहुनु वा राजनीति खराब भएकाले मात्रै युवाहरू विदेश गएका होइनन्। नेपालकै परिस्थितिले मात्र नभई विश्व प्रवाह र संरचनाको धेरै प्रभाव परेको पनि हुन सक्छ! विश्वलाई प्रभावमा राखेको ‘इन्स्ट्यान्ट ग्राटिफिकेशन’ नेपालको राजनीति वा यहाँ उपलब्ध भएको वा नभएको भनिएको अवसरभन्दा धेरै परको विषय हो।
सारमा, जटिल र बहुआयामिक सामाजिक प्रवृत्तिको विश्लेषण र मूल्याङ्कन एकै कोणबाट मात्र गर्न सकिन्न। विभिन्न ‘फ्रेमवर्क’ बाट हेर्दा यसका तस्वीरहरू फरक फरक देखिन सक्छन् र व्याख्या नै फरक हुन सक्छ जसले विषयलाई सघन रूपमा बुझ्न सघाउन सक्छ। एकाङ्गी विश्लेषण गर्ने र त्यसैका आधारमा समाधानका लागि प्रशासनिक औजारहरू समातिहाल्दा समस्या थप जटिल बन्न सक्छ।
पत्रकारलाई छिटो छिटो ‘कन्टेन्ट’ चाहिने, विज्ञहरूलाई तत्काल विचार निर्माण गरिहाल्नुपर्ने र राजनीति गर्नेलाई मानिसको ध्यान खिच्न केही न केही बोलिरहनुपर्ने प्रवृत्ति पनि कतै ‘इन्स्ट्यान्ट ग्राटिफिकेशन’ को प्रभाव त होइन!
बहसमा विदेशगमन थप सामग्री: