केरुङ-काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययनमा भएको प्रगतिप्रति नेपाल र चीन सन्तुष्ट
केरुङ-काठमाडौं सीमापार रेल्वेको सम्भाव्यता अध्ययनमा भएको प्रगतिप्रति नेपाल र चीनले सन्तोष व्यक्त गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा मंगलबार नेपाल र चीनले जारी गरेको संयुक्त वक्तव्यमा चीन-नेपाल रेल्वे कर्पोरेशनको आठौं कार्य बैठक पनि जतिसक्दो छिटो बस्ने योजना बनाइएको छ। रेल्वेको जनशक्तिलाई तालीम प्रदान गर्न पनि चिनियाँ पक्ष सहयोग गर्न तयार भएको वक्तव्यमा उल्लेख छ।
यस्तै, टोखा-छहरे सुरुङमार्ग परियोजनाको सम्भाव्यता अध्ययनलाई द्रुत गतिमा अघि बढाउन पनि दुवै देश सहमत भएका छन्। यस आयोजनाले नेपाल र चीनबीचको सम्पर्कलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ।
यसैगरी, काठमाडौं चक्रपथ आयोजना विस्तारको दोस्रो चरणलाई छिटो कार्यान्वयनमा लैजान पनि दुई देश सहमत भएका छन्।
लिची-नेछुङ बन्दरगाहको स्थापना तथा चाङ्गमु-खासा बन्दरगाहमा प्यासेन्जर सेवा पुनः शुरू भएकोमा नेपाल र चीनले स्वागत गरेका छन्। चिनियाँ पक्षले नेपालतर्फ लिची-नेछुङ बन्दरगाहमा सक्दो छिटो सुविधा विस्तार गर्न पनि सहयोग प्रदान गर्ने भएको छ।
अधिकभन्दा अधिक चिनियाँ भाषा प्रशिक्षक तथा स्वयंसेवकलाई नेपाल पठाएर नेपालमा चिनियाँ भाषा शिक्षामा सहयोग गर्न पनि चीन तयार भएको उल्लेख छ।
यसैगरी, दुई देशबीचको मित्रता प्रतीकका रूपमा नेपालले चीनलाई एक जोडी एकसिङ्गे गैंडा पनि उपहारस्वरूप प्रदान गर्ने भएको छ।