एशियाली खेलकूदमा २२८ पदकको छिनोफानो, नेपाल पदकविहीन
चीनमा जारी १९औं एशियाली खेलकूद अन्तर्गत आजसम्म २२८ पदकको छिनोफानो हुँदा नेपाल चाहिं पदकविहीन छ।
एशियाली खेलकूदमा सहभागी ४५ मुलुकमध्ये हालसम्म २५ मुलुकले पदक प्राप्त गरेका छन्। पदकविहीन नेपालले कुनै पनि खेलमा राम्रो प्रदर्शन गर्न सकेको छैन।
हालसम्म चीनले ३९ स्वर्ण, २१ रजत र नौ कांस्य सहित ६९ पदक प्राप्त गर्दै शीर्ष स्थान ओगटेको छ। यस्तै, दक्षिण कोरिया १० स्वर्ण, १० रजत, १३ कांस्य सहित ३३ पदकका साथ पदकतालिकाको दोस्रो स्थानमा छ।
जापान पाँच स्वर्ण, १४ रजत र १२ कांस्यका साथ ३१ पदक प्राप्त गर्दै तेस्रो स्थानमा तथा उज्वेकिस्तान चार स्वर्ण, ६ रजत र ६ कांस्य सहित १४ पदकका साथ चौथो स्थानमा छ। यस्तै, हङकङ तीन स्वर्ण, चार रजत र सात कांस्य सहित कुल १४ पदक प्राप्त गर्दै पाँचौं स्थानमा छ।
नेपालको निराशाजनक प्रदर्शन
चीनको हाङझाउमा जारी एशियाली खेलकूद अन्तर्गत अहिलेसम्मका खेलमा नेपाली खेलाडीले निराशाजनक खेल प्रदर्शन गरेका छन्। टेनिसमा सोमबार नेपालका सबै खेलाडी पराजित भए। नेपाल चार वटै स्पर्धामा पराजित भएको हो। पुरुष एकलतर्फ पहिलो चरणको खेल जितेका नेपालका प्रदीप खड्का सोमबार जापानी खेलाडीसित सोझो सेटमा पराजित भए।
पुरुष एकलतर्फ नै नेपालका अभिषेक बाँस्तोला हङकङका खेलाडीसित पराजित भए। यसैगरी, महिला डबल्समा नेपालकी अभिलाषा विष्ट र माहिका राणाको जोडी दक्षिण कोरियाका खेलाडीसित पराजित भयो। मिक्स डबल्समा पनि नेपालका अभिषेक बाँस्तोला र अभिलाषा विष्टको जोडी इन्डोनेशियाका खेलाडीसित पराजित भयो।
फेन्सिङमा पनि नेपाल पराजित
एशियाली खेलकूद अन्तर्गत सोमबार फेन्सिङमा पनि नेपालका सबै खेलाडी पराजित भए। पुरुष साब्रे व्यक्तिगत स्पर्धामा नेपालका प्रयास योञ्जन पाँच वटै खेलमा पराजित भए। उनी काजखस्तान, हङकङ, उज्वेकिस्तान, इरान र साउदी अरबका खेलाडीसित पराजित भए। पुरुष साब्रे व्यक्तिगत स्पर्धामा नेपालका राजेन्द्र गजुरेल कुवेत, हङकङ, चीन, भियतनाम, दक्षिण कोरिया र जापानका खेलाडीसित पराजित भए।
यस्तै, महिला फोइल व्यक्तिगततर्फ नेपालकी मन्दिरा थापा हङकङ, जापान, जोर्डन, दक्षिण कोरिया, मकाउ र थाइल्यान्डका खेलाडीसित पराजित भइन्। गोमा आचार्य दक्षिण कोरिया, थाइल्यान्ड, जापान, सिंगापुर, युएई र चीनका खेलाडीसित पराजित भइन्।
रग्बीमा नेपाल जितविहीन
रग्बीमा पहिलो पटक एशियाली खेलकूदमा सहभागी नेपालको पुरुष टोली पराजित भयो। समूह ‘सी’ मा रहेको नेपाल आइतबार यूएई, चीन र अफगानिस्तानसित पराजित भएको हो।
साइक्लिङमा पनि खराब प्रदर्शन
त्यस्तै, साइक्लिङ क्रसकन्ट्रीमा प्रतिस्पर्धा गरेका नेपालका दुवै खेलाडीले दौड पूरा गर्न सकेनन्। महिलातर्फ उषा खनाल र पुरुषतर्फ सुरज राना मगर सहभागी भएका थिए। दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा भाग लिएका थिए।
पुरुषतर्फ कुल १७ खेलाडी सहभागी थिए। महिलातर्फ १५ खेलाडी सहभागी थिए।
बास्केटबलमा जापानसित पराजित
महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल जापानसँग पराजित भएको छ। समूह ‘बी’ अन्तर्गत नेपाल जापानसँग २२–४ अङ्कले पराजित भएको हो।
श्रेया खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा गरिसा सिलवाल, मिना गुरुङ र रिन्छेन मोक्तान छन्। नेपालले अब बुधबार काजखस्तानसित तथा शुक्रबार ताइपेईसित खेल्नेछ।
बक्सिङमा रविन विजयी
पुरुष बक्सिङमा सोमबार नेपालका रविन थापाले ५१ किलो तौल समूहमा अन्तिम ३२ को खेलमा इन्डोनेशियाका खेलाडीलाई पराजित गरे। उनी अङ्कका आधारमा ४–१ ले विजयी भएका हुन्। रविनले अब प्रिक्वार्टरफाइनलमा उत्तर कोरियाका खेलाडीसित खेल्नेछन्।
तेक्वान्दोमा दुवै खेलाडी पराजित
तेक्वान्दोमा सोमबार नेपालका दुवै खेलाडी पराजित भएका छन्। तेक्वान्दोमा नेपालकी अन्जली तामाङले मिश्रित खेल प्रदर्शन गरिन्। महिला ४९ किलोमुनिको तौल समूहमा उनले पहिलो चरणमा कम्बोडियाकी खेलाडीलाई १०–४ अङ्कले पराजित गरिन्।
प्रिक्वार्टरफाइनलमा भने अन्जली थाइल्यान्डकी खेलाडीसित पराजित भइन्। यस्तै, पुरुष ५८ किलोमुनिको राउन्ड अफ ३२ मा नेपालका राहुल कुमाल साउदी अरेबियाका खेलाडीसित पराजित भए।
जुडोमा पनि नेपाल पराजित
जुडोमा पनि नेपालका तीन जनै खेलाडी पराजित भए। नेपालका मनीता श्रेष्ठ, जंगबहादुर सारु र पुनम श्रेष्ठ इप्पोनका आधारमा पराजित भएका थिए।
पुनम महिला ७५ किलोमुनिको तौल समूहमा मंगोलियाकी खेलाडीसित पराजित भइन्। महिला ५७ किलोमुनिको तौल समूहमा मनीता तुर्कमिनिस्तानकी खेलाडीसित पराजित भइन्। यस्तै, पुरुष ८१ किलोमुनिको तौल समूहमा जंगबहादुर फिलिपिन्सका खेलाडीसत पराजित भए।
उसुमा कमजोर प्रदर्शन
उसुमा पनि नेपाली खेलाडीको प्रदर्शन कमजोर रह्यो। थाउलो अन्तर्गत महिला चाङक्वानमा नेपालकी सुस्मिता तामाङ ११ खेलाडीमध्ये आठौं स्थानमा रहिन्।
थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा १८ खेलाडीमध्ये अन्तिममा रहे।
पौडीमा हिट चरणबाटै बाहिरिए
पौडीमा नेपाली खेलाडी हिट चरणबाटै बाहिरिए। महिला २०० मिटर फ्री स्टायलमा नेपालकी डुवाना लामा हिट चरणबाटै बाहिरिइन्।
उनी आठ खेलाडी सहभागी हिटमा अन्तिम स्थानमा रहिन्। यस्तै, पुरुष ५० मिटर फ्री स्टायलमा एलेक्स शाह पनि आफ्नो हिटमा अन्तिम स्थानमा रहँदै बाहिरिए।