कांग्रेसको महासमिति बैठकको तयारीका लागि समिति गठन
नेपाली कांग्रेसको महासमिति बैठकको तयारीका लागि विभिन्न समिति गठन गरिएको छ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी मंसीर १३, १४ र १५ गते काठमाडौंमा महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको छ। बैठकले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल आयोजक समिति गठन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य, प्रदेश कार्यसमितिका सभापति एवं काठमाडौं उपत्यकाका तीनै जिल्लाका पार्टीका जिल्ला सभापति, भ्रातृ संस्थाका केन्द्रीय अध्यक्षहरू समेत छन्।
यस्तै, कांग्रेसले महासमितिको बैठकमा प्रस्तुत गरिने नीतिगत प्रस्ताव तयार गर्न उपसभापति एवं नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा प्रस्ताव तयारी समिति गठन गर्ने निर्णय गरेको छ। समितिमा केन्द्रीय पदाधिकारीहरू, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यहरू छन्।
महासमितिको बैठकमा सांगठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नेछन् भने समसामयिक राजनीतिक प्रस्ताव महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नेछन्। यसैगरी, सभापतिले आवश्यकता अनुसार विभिन्न विषयमा अन्य समितिहरू गठन गर्न सक्ने बैठकको निर्णय छ।
बैठकले एक महीनाको अवधिमा गरिएका आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बीपी साहित्य महोत्सव लगायत महत्वपूर्ण र प्रभावकारी भएको सम्बन्धमा समीक्षा गरेको छ। बैठकले नेपाल सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षा विधेयक’ लाई लिएर आन्दोलित शिक्षक र नेपाल सरकारबीच भएको वार्ता र सहमतिको हार्दिक स्वागत गरेको छ।
साथै, विद्यालय शिक्षा ऐनको विधेयक संसद्मा दर्ता भइसकेकाले संसदीय प्रक्रिया भित्रैबाट संशोधन र परिमार्जनका माध्यमले विधेयकलाई सर्वस्वीकार्य बनाउन सकिन्छ भन्ने दृढ विश्वासका साथ कांग्रेसले सार्थक पहल गर्ने निर्णय गरेको छ। बैठकले विधेयकमा प्रभावकारी भूमिका निर्वाह गर्न कांग्रेस संसदीय दललाई निर्देश गरेको मुख्यसचिव पौडेलले बताए।