बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा झडप
पोखराको मणिपाल अस्पतालमा सोमबार झडप भएको छ।
बिरामीको मृत्युको विषयलाई लिएर आफन्त र चिकित्सकबीच झडप हुँदा अस्पतालमा तनाव उत्पन्न भएको हो। अहिले पनि अस्पताल तनावग्रस्त छ।
सोमबार बिहान लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचार लागि मणिपाल अस्पताल ल्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएपछि आफन्त आक्रोशित बनेका थिए। अस्पतालले स्वास्थ्य जटिलताबारे जानकारी नदिई अकस्मात् मृत्युको मात्र जानकारी दिएको आफन्तजनको आरोप छ।
बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेका छन्। चिकित्सकले नै शुरूमा हातपात गरेपछि प्रतिरोध गर्नुपरेको आफन्तको भनाइ छ।
अस्पतालको स्थिति सामान्य बनाउन पीडित पक्षसँग वार्ताका लागि छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रवणकुमार विकले बताए। प्रहरीले स्थिति सामान्य बनाउने प्रयास गरिरहेको छ।
अस्पतालमा हुलदंगा गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। सुरक्षाका लागि अस्पतालमा प्रहरी परिचालन गरिएको डीएसपी विकले बताए।