नागरिकता विधेयक प्रमाणीकरण गर्दा खुशी लाग्यो: राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्न पाउँदा खुशी लागेको बताएका छन्।
राष्ट्रपति पौडेलले मधेशमा वर्षौंदेखि व्याप्त नागरिकता समस्या समाधानमा भूमिका निर्वाह गर्न पाउँदा खुशी भएको बताएका छन्। “मधेशमा वर्षौंदेखि रहेको समस्या समाधान गर्न नागरिकता विधेयक प्रमाणीकरण गर्दा खुशी लाग्यो,” पौडेलले भने।
जनकपुरमा सोमबार आयोजना गरिएको नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले नागरिकता विधेयक प्रमाणीकरण भएसँगै मधेशमा देखिएको नागरिकता समस्या समाधान हुने बताए। यसले सामाजिक न्याय र कानूनी राज्यको समेत अनभूति गराएको उनको भनाइ थियो।
मधेशलाई कृषिको आधारभूमि बनाउन सकिने उनले बताए। पौडेलले पहाडको जल र तराईको अन्न नेपालको समृद्धिको आधार बन्न सक्ने बताए।
मधेशमा देखिएको कृषि र सिंचाइका समस्या समाधान गर्न आफूले वर्षौंदेखि अवाज उठाउँदै आएको स्मरण गरे। सिंचाइको समस्या समाधान गर्न सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो।
यससँगै राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश र स्थानीय सरकारका लागि संविधानले सुरक्षित गरेका सम्पूर्ण अधिकार प्रदान गर्ने प्रक्रियामा विलम्ब गर्न नहुनेमा जोड दिए।
जनकपुरधाम उपमहानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कुनै पनि बहानामा संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर गर्ने कार्य गर्न नहुने बताए। देशमा भाइचारा र सद्भाव कायम राख्न सबै लाग्नुपर्ने उनको भनाइ थियो।