कानूनले फेल भएकालाई न्यायाधीश नबनाउनु भनेकै छैन: मन्त्री गुरुङ
लिखित परीक्षामा फेल भएकाले पनि न्यायाधीशमा नियुक्ति पाएको कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले स्वीकारेका छन्।
नेपाली कांग्रेस केन्द्रीय समितिको सोमबार बसेको बैठकमा बोल्दै मन्त्री गुरुङले लोक सेवा आयोगबाट अनुत्तीर्ण हुनेहरूको सूची नपाएको दाबी गरे। बैठकमा गुरुङले भने, “पाँच-सात जना फेल भएका पनि पर्दो रहेछन्। कानूनमा पनि फेल भएकालाई नियुक्ति दिन मिल्दैन भनिएको छैन।”
मन्त्री गुरुङ सदस्य रहेको न्याय सेवा आयोगले परीक्षामा फेल भएकालाई पनि न्यायाधीश नियुक्त गरेको हिमालखबरले समाचार प्रकाशित गरेको थियो। “फेल भएका को को हुन् भन्दा लोक सेवाले थाहा छैन भन्दो रहेछ। हामीलाई नदिएको फेलको सूची पत्रकारलाई त दिंदो रहेछ,” बैठकमा गुरुङले भने, “यसरी नियुक्ति गर्नु एक प्रकारको कमीकमजोरी हो कि भन्ने मलाई अनुभूति भएको छ।”
प्रतिष्ठा, कार्यक्षमता र वरिष्ठताका आधारमा नियुक्ति दिइएको गुरुङको दाबी छ। पूर्व न्यायाधीशहरूले पहिलो पटक न्यायाधीश नियुक्तिको प्रशंसा गरेको उनले उनको भनाइ थियो।