ज्ञानेन्द्र शाहले गरेका कुरा, नगरेका, गर्न नहुने र गर्नुपर्ने
देशको भलो चिताउने र पूर्व राजपरिवारको मर्यादित भविष्य चाहने हो भने पूर्व राजा ज्ञानेन्द्र शाह मैदानमा नउत्रेको बेस। एक चोटि नै धेरै भयो।
ज्ञानेन्द्र शाह अधिराजकुमार हुँदा विदेशीलाई गैंडा बेचेको सम्बन्धी रिपोर्टको सन्दर्भमा सन्देशवाहक पत्रकार गोपाल गुरागाईं र नियमित स्तम्भ त्यो रिपोर्टमा गुरागाईंलाई स्थान दिने हिमालखबरमाथि कडै प्रहार भयो। संविधान खारेज गरी हिन्दू राष्ट्र स्थापित गर्ने उद्देश्य लिएको राजनीतिक तप्काबाट त्यस्तो गालीको वर्षा आएको छ। प्रस्टै छ, यसको ध्येय देश समाजको उत्थान भन्दा गुमेको आफ्नो वर्चस्व फर्काउनेतर्फ सोझिएको।
ज्ञानेन्द्र शाहमाथि गैंडा बेचेको प्रसङ्गमा मात्र होइन, कैयौं विषयमा प्रश्न गर्न सकिन्छ। एकातर्फ विकसित राजनीतिक माहोलले केही फल झरिहाल्छ कि भन्ने आशमा रहेका छन् ज्ञानेन्द्र भने, उनका विगतका विभिन्न सन्दर्भ सम्झाउने मौका पनि जुरेको छ।
सर्वप्रथम, पूर्व राजामाथि गरिने सबैभन्दा ठूलो दोषारोपणबाट फेरि पनि उनलाई मुक्त गर्नुपर्ने जिकिर आवश्यक देखिन्छ। त्यो हो, २०५८ सालको दरबार हत्याकाण्डको समाचार सार्वजनिक भएसँगै ज्ञानेन्द्रले दाइ वीरेन्द्रको हत्या गरेको भन्ने अफवाह फैलियो, जबकि प्राप्त सबै प्रमाणले गोलीकाण्ड युवराज दीपेन्द्रबाट रचिएको भन्ने जनाउँथ्यो। अर्को सजिलै फैलिन सक्ने अफवाह विद्रोही माओवादीद्वारा नारायणहिटी काण्ड रचिएको भन्ने हुन सक्थ्यो, या विदेशी जासूस अथवा अन्य कुनै पात्र। तर, त्यसो नभई अधिकांश ज्ञानेन्द्रमाथि नै खनिए र भाष्य त्यस्तै बन्यो।
हत्याकाण्डका वेला ज्ञानेन्द्र पोखरामा थिए। त्यति परबाट उनले आफ्नो भतिजालाई ‘ब्रेनवाश’ गरेर आफ्ना बुबा, आमा, काका, काकी, भाइ, बहिनीको हत्या गर्न लगाउने कुरा पत्यारिलो थिएन। आफ्ना नजिकका परिवार गुमाएर एक्लो हुँदा तथ्यको जाँच र खोजभन्दा पनि षड्यन्त्र फैलाउने र त्यसैको आहालमा रमाउनेबाट ज्ञानेन्द्रले सहानुभूति पाउन सकेनन्, दीपेन्द्रको गोलीले श्रीमती कोमलको फोक्सो छेड्दाको चोट लाग्दा पनि। विचार निर्माणकर्ताको यस्तो बुझाइले जनमानसमा अन्योल छायो।
साँचो के हो भने, ज्ञानेन्द्रले अधिराजकुमार हुँदा देखाउने गरेको रूखो व्यवहार, राजपरिवारको हैसियतले लिने गरेको व्यापारिक फाइदा इत्यादिका कारण उनको छवि आमजनमा राम्रो थिएन। छोरा पारसका विभिन्न कर्तुतले पनि छवि धमिलो थियो। जति नै अलोकप्रिय भए पनि नौ-नौ जना आफन्तको हत्या आरोप ज्ञानेन्द्रमाथि लाग्यो, त्यो एक एक निर्दोषमाथि भएको घोर अन्याय थियो। तर, राजा हुन पुगेका उनले श्रीपेचको मर्यादाको लागि शायद आफ्नो निजी प्रतिरक्षा गर्न मिलेन। उनले गणतन्त्र घोषणापश्चात् दरबार छाड्नुअघि २०६५ जेठ २९ मा नारायणहिटीमा पत्रकार सम्मेलन गर्दै केही बोले, तर त्यसले धेरैको ध्यान तान्न सकेन।
दरबार छोडे पनि ज्ञानेन्द्रले देश छोडेनन्। एकातिर उनको माटोप्रतिको लगाव देखियो, अर्कातिर नेपाली समाजको सहिष्णुता पनि। सत्ताच्युत राजा विरलै आफ्नो देशमा रहन पाएका छन्, विश्व इतिहासमा। यूरोप र एशियाका अन्य मुलुकमा सम्भव नभएको परिस्थिति नेपालमा देखियो।
सत्ताच्युत भएको केही समयलाई ज्ञानेन्द्रले राजनीतिक भाषा बोलेनन्। यसको कारण ‘असोजतन्त्र’ ले जनतामा पारेको गहिरो नकारात्मक छाप हुन सक्छ। लागेको थियो, आफूलाई सामाजिक-सांस्कृतिक कार्यमै सीमित गरेर उनले पूर्व राजपरिवारको मर्यादित भविष्य सुनिश्चित गर्न खोजेको जस्तो देखिन्थ्यो, तर वेलाबखत उनको महत्त्वाकांक्षा बाहिर आउन थाल्यो। आज आएर राजकाज र राजनीति ओरालो लाग्दै गर्दाको अवस्थालाई उनले गुमेको गद्दीमा पुनःस्थापित हुने अवसरका रूपमा देखेका छन्, ‘मौका’ को फाइदा उठाउँदै यस्को साथसाथै पञ्चायतकालदेखि २०६२ सालको शाहीकालसम्म सत्ताको फाइदा लिएको वर्गले आफ्नो वर्चस्व फिर्ता ल्याउन ज्ञानेन्द्रलाई उक्साइरहेको बुझ्न गाह्रो छैन।
असोज ७ गते भक्तपुर पुगेका ज्ञानेन्द्र शाह।
तर, आसेपासे र सल्लाहकारलाई दोष दिएर धर छैन: आफ्नो, परिवार र सिङ्गो मुलुकको अहित नगर्ने उचित निर्णय लिने जिम्मा त पूर्व राजाकै हो। उनले ‘राजकाज बिग्रियोस्, संविधान भत्कियोस् र भाँडभैलोको बीच मेरो पालो फेरि आउँछ’ भन्ने सोच राखेका छन् भने त्यो सबैका लागि हानिकारक हुनेछ। तर, गत केही महीनायताको क्रियाकलाप हेर्दा ज्ञानेन्द्र यही बाटो लागेका छन्। सार्वजनिक विचार निर्माणभन्दा पनि भइपरिआएको कुराको विश्लेषण गर्ने बौद्धिक जमातको मौनताले पनि ज्ञानेन्द्रलाई केही हौसला दिएको हुनुपर्छ।
बेवकुफीबाट देश बचाऔं
ज्ञानेन्द्रले घरिघरि चतुर्याइँभन्दा मूर्खता प्रदर्शन गरेका छन्, जसको उपज थियो शाही कदम जस्तो देश, काल र परिस्थिति नबुझी चालिएको कदम। यसबाट उनले आलोचना र अलोकप्रियता मात्र कमाएनन्, ऐतिहासिक राष्ट्रिय राजसंस्था नै सिध्याए।
द्वन्द्वकालको निहुँमा ज्ञानेन्द्रले सेनाको सहयोगमा सत्ता हडप्ने शङ्का फैलिंदै गर्दा उनका सहयोगी प्रभाकरशमशेर राणा मार्फत यस लेखकले उनलाई एक पत्र पठाएको थियो। सार थियो- “राजसंस्था कुनै बहालवाला राजाको पेवा होइन, नेपाली इतिहास र जनताको सम्पत्ति हो। संवैधानिक राजाले आफ्नो स्थान बुझ्नुपर्छ, अन्यथा राजसंस्थाका लागि अनिष्ट हुनेछ। जनता बुझ्ने भइसके।”
१० पृष्ठ जतिको त्यो पत्र राजा ज्ञानेन्द्रकहाँ पुग्यो भन्नेसम्म थाहा पाएँ। प्रभाकरजीले फोन गरेर “सरकारले थ्यांक्यू मर्जी भयो है” सूचना दिए।
शाही कदम चालियो, सेनाको आडमा ‘कु-दे-ता’ गरियो, चरम मूर्खताको प्रदर्शन भयो। मोबाइल फोन र तार काटियो, तर संसारलाई खबर त पुर्याउनुपर्यो, आफ्नो सम्पर्कको प्रयोग गर्दै संयुक्त राष्ट्रसंघ परिसर छिरेर यूएनडीपीका हाकिमको सुझावमा कार्यालयको स्याटेलाइट फोन समाएँ अनि बीबीसी नेपाली सेवाका रवीन्द्र मिश्रलाई राजाका उपद्रव सुनाएँ।
त्यसको केही समयपछि एउटा सम्मेलनमा भाग लिन अमेरिकाको विस्कन्सिन प्रान्तको म्याडिसन शहर पुगेका वेला प्रभाकरजीको फोन आयो, ज्ञानेन्द्रले सूचना तथा सञ्चारमन्त्री बनाउन चाहेको सुनाए। एक रात सोचेर भोलिपल्ट सौहार्दताका साथ जवाफ फर्काएँ- “नो, थ्याङ्क्यू” भनिदिनुहोला।
अर्को एउटा प्रसङ्ग, नारायणहिटी सचिवालयको फोन आयो, “सरकारले नागरिक समाजसँग भेट गर्न चाहिबक्सेको छ, गोकर्णमा।” तोकिएको स्थान पुग्दा त मेला रहेछ, सयौं आमन्त्रितले लाइन लागेर दर्शनभेट गराउने। आफ्नो पालो आउँदा तत्कालीन राजालाई सोधें, “राजनीतिक दलप्रतिको यत्तिको नकारात्मक धारणा किन यहाँको?”
आक्रोशित मुद्रामा ज्ञानेन्द्रले अंग्रेजीमै जवाफ फर्काए, “कनक, भ्रष्ट र नालायक (दलहरू)लाई सबै कुरा सुम्पिदिन भन्छौ भने आजै राति म सबै दिइदिन्छु।” अनि मेरो कुममा हात लगाएर बाटो लाग्न सङ्केत गरे।
शाह खानदानको एकीकरणदेखिको इतिहास सेलाइदिने केन्द्रीय पात्र ज्ञानेन्द्र हुन पुगे, २०५९ असोज १८ र २०६१ माघ १९ गतेको कदमका कारण। उनको अप्रजातान्त्रिक क्रियाशीलता विरुद्ध जनता जुर्मुराए, नागरिक समाज सक्रिय भयो, सात राजनीतिक दल संगठित भए र जनआन्दोलन सफल भयो। भलै, यो सबको बढी फाइदा माओवादीलाई हुन पुग्यो।
गोकर्णको त्यो ‘दर्शन भेट’ ले फेरि पनि प्रस्ट पारेको थियो, राजनीतिक दलप्रतिको ज्ञानेन्द्रको नकारात्मकता। वास्तवमा दलहरूलाई अक्षम ठान्ने उनी आफैं क्षमताविहीन थिए, जुन कुरा देखिंदै गयो र दलहरूप्रतिको नकारात्मकता त केवल अवसरवाद थियो भन्ने पनि देखियो। आजै पनि प्रस्ट छ, उनी गद्दीमा फर्कने हो र ‘संवैधानिक राजा’ बन्ने हो भने, राजकाजमा हस्तक्षेपको शृङ्खलाले निरन्तरता पाउनेछ। यति गहिरो गरी गडेको छ, ज्ञानेन्द्रको दलहरूबारे धारणा एकातिर भने आफ्नै सुझबुझ र क्षमताबारे भने उच्चतम आकलन। उनमा रहेको अहम् र अक्षमताको सङ्गम त शाही शासनकालले नै प्रस्टै पारिदियो, र आजभोलि फेरि देखिंदै छ।
आखिर केवल एक नागरिक ‘ज्ञानेन्द्र’, जो राजखानदान हुनुको कारणले मात्र फेरि ‘जनताको चाहना’ भन्दै गद्दीमा फर्कन चाहन्छन्। शक्तिको प्यासले उनलाई सक्रिय बनाएको छ। देश त्यति बिग्रिएको हैन, उनी र उनका अनुयायीले त्यो भाष्यलाई स्थापित गर्न जोड दिएका हुन्, आफ्नो सुव्यवस्थाका लागि। देश बिग्रियो भनेर राजावादीले घोषणा गर्दै गर्दा भन्न आवश्यक छ, तिम्रो वर्तमान संविधानको सोचपूर्ण समीक्षा नभई हठात् खारेजीको अभियानले भने देशको स्थिरता र सामाजिक सन्तुलन बिग्रिने सुनिश्चित छ।
अन्तत: धेरै समय नबित्दै जनता जागे राजतन्त्रको हातबाट खोसेर प्रजातन्त्र बचाउन, तर राजनीतिकर्मीसामु माओवादीलाई शान्तिपूर्ण राजनीतिमा भित्र्याउने चुनौती छँदै थियो। त्यत्रो विध्वंस गरेर आएको, आफ्ना कार्यकर्तालाई नानाथरी सपना बाँडेको माओवादी नेतृत्व प्रतिस्पर्धी दलीय राजनीति स्विकार्न केही ‘उपलब्धि’ देखाउन चाहन्थ्यो, त्यसैले उसको माग रह्यो- राजसंस्थाको अन्त्य। यता, सात दलको नेतृत्वलाई माओवादीलाई जङ्गल फर्कनबाट रोक्नु थियो भने दशकौंदेखि लोकतन्त्रमाथि नारायणहिटीको खेलले आजित नै थिए।
तैपनि ऐतिहासिक राजसंस्था ‘वास्तविक संवैधानिक’ रूपमा बचाइराख्ने कोशिश नभएको होइन। जनआन्दोलनका ‘कमान्डर’ गिरिजाप्रसाद कोइराला लगायत अन्यले ज्ञानेन्द्रलाई सक्रिय शासन छाड्न सुझाव दिंदै कुनै न कुनै रूपमा राजसंस्थाको निरन्तरता दिने प्रस्ताव गरे, जस्तै ‘बेबी किङ’ या ‘सांस्कृतिक राजा’। लोकतन्त्र र राजसंस्थालाई नेपाली राजनीतिका दुई खम्बा मान्ने विदेशी पनि लागिपरे ज्ञानेन्द्रलाई मनाउन, विशेषगरी अमेरिकी र भारतीय पक्ष। तर, यी सब सुझावलाई ज्ञानेन्द्रले अस्वीकार गरे। त्यत्रो जनउभारबाट संस्थाच्युत हुँदा पनि उनले ‘बीचको बाटो’ श्रीपेच र गद्दी यथावत् राख्ने सुझाव मानेनन्।
यो पनि गल्ती दोहोर्याउने उनको प्रवृत्तिको निरन्तरता थियो र उनले आफू भर्खरै बर्खास्त राजालाई राजसंस्थाभन्दा अहम् ठान्दै शाहवंशको निरन्तरतामा ‘ब्रेक’ लगाए। हुँदाखाँदाको राजसंस्था मास्न अति नै गाह्रो कुरा थियो, तर मूलत: ज्ञानेन्द्रकै कारण यो सम्भव भएको हो।
‘व्यवसायी’ ज्ञानेन्द्र
पञ्चायतकालमा ज्ञानेन्द्रलाई सफल व्यवसायी मान्ने गरिन्थ्यो। स्वर्गीय प्रभाकरशमशेर राणा जस्ता अब्बल व्यवसायीको सहयोग र राजपरिवार सदस्य हुनुको कारण उपलब्ध सुविधा र सहुलियतले उनको कमाइ चलेको थियो, जस्तै- सोल्टी होटल र सूर्य टोबाको। सार्वजनिक जीवनमा राजसी ठाँट र गम्भीर मुद्रामा पेश हुने ज्ञानेन्द्रको क्षमता र बौद्धिकता नाप्ने अवस्था पञ्चायतकालमा थिएन। न त उनीबारे फैलिएका विभिन्न काण्डको हल्ला तथ्य भनेर पत्याउन सकिन्थ्यो। यद्यपि क्रमशः गल्ती गर्दै गएको देखियो र स्थितिको सही आकलन गर्न नसक्ने उनको चरित्र जगजाहेर हुँदै आयो।
सन् १९९० को दशकमा काठमाडौं ‘हाई सोसाइटी’ मा चलेको चर्चा थियो- जालझेलको ‘नाइजेरियन स्क्याम’ को पासोमा ज्ञानेन्द्र एक चोटि होइन, दुई चोटि परे। कपोलकल्पित कथा बुनेर ठूलो धनराशि दिने आश देखाउने, विशेषतः अफ्रिकाको मुलुक नाइजेरियाबाट आउने गरेको इमेलबाट दिइने प्रलोभन केटाकेटीले पनि फट्याइँ भनेर बुझ्न सक्थे, तर पनि धेरै नेपाली पासोमा परे। विडम्बना, नेपालका अधिराजकुमार ज्ञानेन्द्र पनि। देखेको मुलुक पुस्तकमा यो किस्साबारे लेखकको उल्लेख छ, तर कतैबाट प्रत्यक्ष वा अप्रत्यक्ष खण्डन आएन।
देखेको मुलुकमा ‘शाही बेवकुफ’ शीर्षकको खण्डभित्र उक्त ठगी फन्दाको प्रसङ्गमा लेखेको छु- “कसैले पैसा ठगिरहेको कुरा नबुझ्ने यस्तै-यस्तै व्यक्तिहरू नै ‘नाइजेरियन स्क्याम’ मा फस्ने गर्छन्। दुर्भाग्य नै मान्नुपर्छ, जनताले राजा मान्न ‘बाध्य’ ज्ञानेन्द्र पनि यस्तै पटमूर्ख सावित भए। उनी राजा हुनुपूर्व नै त्यो फन्दामा फसेको गाइँगुइँ हल्ला उपत्यकामा पैसाको कारोबार गर्ने सानो व्यावसायिक समूहमा नचलेको होइन, तर यो चर्चा आमजनताबाट टाढा नै रह्यो, ‘बाहिर’ आएन।”
दलहरूको अकर्मण्यता तथा माओवादीको विद्रोह साम्य पार्न नसकेका कारण देखाएका थिए ज्ञानेन्द्रले ‘कू’ गरेर आफू मन्त्रिमण्डलको अध्यक्ष हुन पुग्दा। तर, प्रत्यक्ष शासन गर्दै अधिनायक राजा बन्नुअघि नै उनले अर्को महाभूल गरेका थिए- पुष्पकमल दाहाल र माओवादी दस्तासँग मिलेर सत्ता हत्याउन गोप्य वार्ता चलाउनु। तर, फेरि एक्लै अघि बढेर शाही कदम चाले। आफूलाई जनताको मसीहा ठान्ने व्यक्तिले विध्वंसकारी माओवादीसँग वार्ता गर्नुले उनको दर्शन र सिद्धान्तशून्यताको धरातल प्रस्ट्याएको थियो।
दरबार हत्याकाण्डमा ज्ञानेन्द्रको कुनै कसूर थिएन, तर नारायणहिटीले जमाना अनुसारको पारदर्शी सूचना प्रवाह गर्न नसकेकै हो र यसै कारण पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा ‘षड्यन्त्रपूर्ण हत्या’ को भाष्य स्थापित हुन पुग्यो। दरबारको २१ जेठ २०५८ को विज्ञप्तिले ‘आकस्मिक रूपमा स्वचालित हतियार पड्किन गई’ जस्तो हास्यास्पद सूचना सार्वजनिक गरिंदा, हत्याकाण्डको ‘आँखो देखा हाल’ बयान रहेको भिडिओ टेप गायब हुँदा, दीपेन्द्रले नभई कुनै षड्यन्त्रद्वारा र सके ज्ञानेन्द्रकै मिलेमतोमा शाही परिवारको हत्या भएको शङ्काले फैलिन ठाउँ पायो। ज्ञानेन्द्र र उनको दरबार प्रशासनले सञ्चार व्यवस्थापन गर्न जानेनन्, जबकि पारदर्शिता र विज्ञप्ति लेख्ने क्षमता मात्रले पनि आधा समस्या हल हुन्थ्यो।
हरिद्वार स्नान
राजसंस्थाको पुनःस्थापनाका लागि आवाज उठाउने पंक्तिले शुरूमै यत्ति बुझे हुन्छ कि नेपालको एकीकरणअघिदेखि नै इतिहास बोकेको शाहवंशको निरन्तरता हुन नसक्नुमा कसैको मुख्य दोष वा भूमिका छ भने त्यो पात्र ज्ञानेन्द्र हुन्, शाही कदम चालेर, पछि राजसंस्था बचाउने विभिन्न सुझाव नमानेर। सात दल तथा माओवादी त राजसंस्था अन्त्यका सहयोगी पात्र थिए।
असोज १८ को कदम चालेर ज्ञानेन्द्रले देखाए, राजा त्रिभुवनको पालादेखिको राजदरबारको संसदीय प्रणालीमा हस्तक्षेप परम्पराको निरन्तरता। त्रिभुवनले २००७ सालपछि राजकाजमा आफ्नो केन्द्रीयतालाई स्थापित गर्न खोजे, महेन्द्रले त ‘कू’ नै गरी तीन दशकको निर्दलीय पञ्चायत थाले, जसले आधुनिक युगको नेपाली राजकाज, अर्थतन्त्र र संस्कृतिको विकासमा गतिरोध पैदा गर्यो।
२०४६ सालको जनआन्दोलनको रापतापका कारण वीरेन्द्र संवैधानिक राजा बन्न राजी भएका थिए, तर उनको पालामा पनि राजकाजमा क्रियाशील रह्यो दरबार। एउटै उदाहरण, द्वन्द्वकालमा सेना परिचालन गर्न ६-६ वर्ष दरबारले रोक्यो र सरकारलाई प्रहरी बलको भरमा माओवादी सशस्त्र विद्रोही सामना गर्न बाध्य पार्यो। ‘नेपालीले नेपाली मारेको हेर्न नचाहेको’ शाही धारणा बाहिर आयो, जबकि दिनहुँ नेपाली मारिंदै नै थिए। द्वन्द्वकालको वेला दरबारको यस्तो अड्कोबारे अनुसन्धान र चर्चा पर्याप्त भएको छैन।
३० वर्षको पञ्चायतकाल र एक दशकको माओवादी विद्रोहकाल देशलाई भासमा पार्ने, भविष्य अन्धकारमा धकेल्ने अवधि हुन्। नारायणहिटी दरबार त पञ्चायतको कर्ता नै रह्यो, अनि सशस्त्र विद्रोह फस्टाउन दिने सहयोगी बन्यो। आज आएर राजसंस्था र श्रीपेच पुनःप्राप्ति हुने ज्ञानेन्द्रको आश र अपेक्षा गम्दा, कतिको आश रहेको छ कि राजसंस्था र राजावादीहरू सच्चा राष्ट्रप्रेमी हुन् अरूको तुलनामा, र पृथ्वीनारायण शाहको असली बिंडो थाम्नेछन्। तर, विडम्बना, पुनः श्रीपेच पाउन ज्ञानेन्द्र पछिल्लो समय भारतको राजनीतिक हिन्दूत्ववादी नेताहरूको शरणमा पुगेका छन्। यसमा उनी वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालभन्दा फरक देखिंदैनन्। र, यसैकारण पनि राजावादी र माओवादीबीचको साँठगाँठबारे सतर्क हुनै पर्नेछ, जबकि यस्तो अवस्था जुराउने नेपाली कांग्रेस र एमाले दललाई दोषको भागीदार बनाउनै पर्छ।
नेपालको राजगद्दीमा फिर्ता जान नयाँ दिल्ली र लखनउको सहयोगको कोशिशलाई ज्ञानेन्द्रको अर्को महाभूल भन्नुपर्छ, जुन यस समय चलायमान् छ। कोभिड-१९ महामारीका वेला ज्ञानेन्द्र हरिद्वारमा गएर सन्त र ‘मठाधीश’ सँग गंगास्नान त गरे र भाइरसको ‘सुपरस्प्रेडर’ भएर स्वदेश फर्किए, त्यो ‘कर्तुत’ नै थियो जब कोभिड-१९ सम्बन्धी अन्योल र सनसनी व्याप्त थियो, मुलुक र संसारभर। ‘सुपरस्प्रेडर काण्ड’ पनि ज्ञानेन्द्रका तर्फबाट भएको गल्तीको निरन्तरता थियो।
२०७७ चैत ३० मा भारतको हरिद्वारमा स्नान गर्दै पूर्व राजा ज्ञानेन्द्र शाह।
स्वीकार्नै पर्छ, मुख्यत: पुष्पकमल दाहालको रजगजले अस्थिर बन्न पुगेको पार्टीगत राजनीति र राजकाज ज्ञानेन्द्रलाई फाप्दै गएको छ: उनी यस्तै अस्थिरता कुर्दै बसेका थिए। नयाँ संविधान अन्तर्गतको राजकाजले सही दिशा लिन सकेको छैन, संघीयता संस्थागत भएको छैन, युवा विदेश पलायनको लहर चुलिएको छ भने जनतामा निराशा व्याप्त छ। वर्तमानकै कुरा गर्ने भए, भारतको संस्थापन पक्षको ‘कम्फर्टेबल सरकार’ छ, जस मार्फत राजकाज थप कमजोर बनाउने काम हुँदै छ भने ज्ञानेन्द्र उही भारतको चाकरी गर्दै उत्साहित भएर लागेका छन्।
आफूलाई एक मात्र स्वाभिमानी राष्ट्रवादी, भन्नै पर्दा ‘पृथ्वीनारायणवादी’ ठान्ने राजावादीहरू वर्तमान भारतको उग्रवादी हिन्दू सत्ता सञ्चालकको सहायतामा सिंहासन र श्रीपेच प्राप्तिमा लागेका छन्। निर्वाचित संविधानसभाले बनाएको संविधानलाई स्वीकार र स्वागत नगर्ने वर्तमान भारतीय सत्ताको आडमा ‘ज्ञानेन्द्र एन्ड कम्पनी’ नारायणहिटी प्रवेशको योजना बुन्दै छ। यसरी ठाउँमा पुगेका ज्ञानेन्द्र वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलभन्दा कति फरक हुन सक्लान्? जबकि, उनले राष्ट्र प्रमुख पद प्राप्त गर्नुमा पनि नयाँ दिल्लीको टीकाको सहयोग थियो।
आजको दिनमा दलका नेताहरूका विभिन्न कर्तुतमध्ये प्रमुख नै नयाँ दिल्लीतर्फको घातक लचिलोपन हो- कसैले उत्तर प्रदेशको अयोध्याका लागि कालीगण्डकीबाट ‘शिला’ निर्यात गर्छन्, कसैले विध्वंस र विग्रह आह्वान गर्ने भारतीय बाबालाई प्रवचनका लागि निम्त्याउँछन् र ‘नेपाल भारतको अंश हो’ भन्दा ताली ठोक्छन्, कसैले राष्ट्रिय स्वयंसेवक संघ र बजरंग दलको जस्तो क्रियाकलाप तराई-मधेशमा रचाउँछन्, सिमानापारका गुन्डाहरूलाई बोलाएर। यस्ता क्रियाकलापको ज्ञानेन्द्र शाहले विरोध गर्नुपर्ने हो, तर विडम्बना उनी आफैं भारतीय उग्र-हिन्दूत्ववादी नेतृत्वको चंगुलमा छन्। स्वार्थ मेल खाएको छ। धर्म या आस्था सबैको हुन्छ, तर जुन दलगत हेतुले राजनीतिक हिन्दूत्व अघि बढेको छ र जसले आफ्नो स्वार्थका लागि नेपाललाई ‘हिन्दू राष्ट्र’ बनाउन चाहन्छ, त्यो निहित स्वार्थको प्रत्यक्ष सहयोगी नेपालका पूर्व राजा रहेका छन्।
योगी आदित्यनाथ
सबैलाई विदितै छ, योगी आदित्यनाथ गोरखपुर पीठका महन्त हुन्। उनी हुन् अजय मोहन सिंह विष्ट, पौडी गढवालवासी, जो मात्र सन् १९९० को दशककमा गोरखपुर झरेर ‘राम मन्दिर’ अभियानमा सरिक भए। उक्त अभियानको नेतृत्व गर्ने महन्त अवेद्यनाथको सन् २०१४ मा निधनपछि आदित्यनाथ मठाधीश बनाइए र पूर्वज अवेद्यनाथ जस्तै ‘हिन्दूत्व’ को राजनीतिमा बलपूर्वक लागे।
भारतको उज्जैनस्थित महाकालेश्वरको मन्दिरमा पूजा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल।
नाथ सम्प्रदाय (कनफट्टा साधु)का हुँदाहुँदै नरेन्द्र मोदी र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का ‘राम जन्मभूमि’ अभियानका केन्द्रीय पात्र बन्न पुगे पहिले अवेद्यनाथ, अहिले आदित्यनाथ । उत्तर प्रदेशका मुख्यमन्त्री उनलाई नरेन्द्र मोदीको उत्तराधिकारीका रूपमा पनि हेरिन्छ।
ज्ञानेन्द्रले योगी आदित्यनाथसँग सम्बन्ध राख्नुले नेपालको भविष्यका लागि महत्त्व राख्दछ, किनकि प्रम मोदी र गृहमन्त्री अमित शाहले चलाएको सत्ताको प्रभावशाली सहयात्री नेता हुन् आदित्यनाथ, जसको उत्तर प्रदेशको निर्वाचन नतीजाले धेरै हदसम्म नयाँ दिल्लीको राज सुनिश्चित गर्छ। र, आमनिर्वाचनका लागि मात्र ६ महीना बाँकी छ। कसैको विचार छ कि मोदीलाई आफ्नो र भाजपाको राजनीतिका लागि नेपाललाई हिन्दू राष्ट्रमा परिणत गर्नु छ, तर राजसंस्था ब्युँताउने चासो यसअघि थिएन। तर, समय बित्दै जाँदा नेपालमा त्यो काम गर्न पूर्व राजाको सहयोग चाहिने देखेर ज्ञानेन्द्रलाई रहेको आदित्यनाथको सहयोगमा भारतीय प्रधानमन्त्रीको समर्थन छ।
आदित्यनाथले मुख्यमन्त्री बन्नु धेरै अघि सन् २००६ मै नेपालको ‘हिन्दू राष्ट्र’ पहिचानका लागि वकालत गरेका थिए र राजालाई नारायणहिटीबाट निष्कासन गर्ने र पुनःस्थापित संसद्ले गणतन्त्र घोषणा गरेकामा विरोध जनाएका थिए। (आदित्यनाथको पुस्तिकाः हिन्दू राष्ट्र नेपाल, अतीत और वर्तमान, प्रकाशकः विश्व हिन्दू महासंघ-भारत, २००६)
आदित्यनाथ सन् २००५ को शाही कदमको खुलेआम समर्थक थिए र शेरबहादुर देउवालाई अक्षमताका कारण बर्खास्त गरेको स्वागत गरेका थिए। “नेपालको हिन्दूत्व निष्ठा, चरित्र र इतिहास” कायम गर्नुपर्ने उनले लेखेका छन्। उनका लागि १८ मे २००६ एक “कालो अध्याय” थियो, “जब कंगारु संसद् ने अप्रत्याशित और दुर्भाग्यपूर्ण निर्णय लिया”, जसको दोष उनी “माओवादीयों, इस्लामिक उग्रवादीयों और इसाइयों” लाई दिन्छन् । यसरी आदित्यनाथले आफूलाई मन पर्दो विश्लेषण पेश गरेका छन्, जहाँ लोकतान्त्रिक दल र आमजनताका आन्दोलनले केही नाप्दैनन्।
उति वेला, सन् २००६ मै, योगीले लेखेका थिए, “नेपालके संविधानके मूल ढाँचो पुनः परिवर्तन करनेके लिए हमने अपने शक्तियों का प्रयोग कर प्रयास करना चाहिए।” यसरी आदित्यनाथले नेपाली राजनीतिक प्रक्रियामाथि हस्तक्षेप गर्ने विचार उहिलेदेखि नै पालेका थिए, जति वेला उनी भाजपाका तर्फबाट भारतीय संसद्का सदस्य थिए। आज उनी मोदीको दाहिने हात तथा अति महत्त्वपूर्ण उत्तर प्रदेश राज्यका मुख्यमन्त्री हुन्, ती व्यक्ति जसले सन् २०२४ अप्रिल/मेमा हुने आमनिर्वाचनमा भाजपाका लागि केन्द्रीय भूमिका खेल्नेछन्।
नेपालको संविधानलाई उक्त निर्वाचन अगावै भत्काउने प्रयास भारतीय सत्ताको हुनेछ, घटनाक्रमको विश्लेषणले यही देखाउँछ। यसकारण ज्ञानेन्द्र-आदित्यनाथका भेटघाट, त्यसबाट आउने संयुक्त बुझाइ र योजनाले महत्त्व राख्दछ। र, खतराको सङ्केत पनि दिन्छ।
आदित्यनाथ र ज्ञानेन्द्रबीचको सम्बन्ध घनिष्ठ देखिन्छ। २०७३ कात्तिक ४ मा वनकाली, पशुपतिमा आयोजित विराट् हिन्दू सम्मेलनमा दुवै एउटै मञ्चमा थिए र राजदरबारबाट बहिर्गमनपछि ज्ञानेन्द्रले त्यहाँ पहिलो अभिव्यक्ति दिएका थिए र नेपालको ‘हिन्दू अधिराज्यको’ पहिचानको बखान गरेका थिए। २०७४ पुस २४ मा मुख्यमन्त्री आदित्यनाथले राजाकै रूपमा लखनउमा ज्ञानेन्द्रको स्वागत गरे।
आज आएर नरेन्द्र दामोदर दास मोदीको आफ्नो राजनीतिलाई मात्र नेपालमा हिन्दू राष्ट्र चाहिएको होइन, अजय मोहन सिंह विष्टलाई पनि उत्तर प्रदेशको राजनीति र भोलिको राष्ट्रिय स्तरको राजनीतिका लागि नेपालमा ‘हिन्दू राजा’ र ‘हिन्दू राष्ट्र’ चाहन्छन् र यसका लागि क्रियाशील हुनेछन्। ज्ञानेन्द्र, उनको बुझाइमा ‘महाराजाधिराज’ हुन्, जबकि आमनेपाली अब धेरै पर पुगिसके। तर पनि, नेपाली राजनीतिमा राष्ट्रिय स्वयंसेवक संघको घूसपैठमा बबन्डर मच्चाउने काम हुँदै गर्दा नेपाली राजनीतिक दलहरू यो दक्षिणी हस्तक्षेप सामना गर्न जुर्मुराएको देखिंदैन।
पूर्व राजा ज्ञानेन्द्र शाहलाई २०७४ पुसमा भारतको लखनउमा स्वागत गर्दै आदित्यनाथ। तस्वीर: आदित्यनाथको ट्वीटर
लम्पसारवादी!
ज्ञानेन्द्रको पछि लाग्ने राजावादीहरूले ‘लम्पसारवादी’ भनेर चिनाउने गरेका दलका नेताहरू अचेल दिल्ली गएर भाजपाको दैलो चहार्छन् अनि लखनउ गई आदित्यनाथको पनि दर्शन भेटका लागि धाउँछन्। यो नेपाली राजनीतिका लागि घातक प्रवृत्ति हो- कसैले भाजपाका पदाधिकारीको ‘रक्षाबन्धन’ को डोरो लाउँछन्, कोही भारतीय राष्ट्रिय कंग्रेसका नेतालाई भेट गर्न नपरोस् भनी हिंड्छन्, बिजोग नै छ।
‘लम्पसारवादी’ भनेको नयाँ दिल्लीको सामु झुक्ने नेपाली उच्चतम नेतृत्वको प्रवृत्ति।तर, राजावादीले अरूलाई लम्पसारवादी भन्दै गर्दा ज्ञानेन्द्र पनि आफ्नो ‘उत्थान’ का लागि भारतीय टेको प्रयोग गर्न उद्यत छन्, आदित्यनाथको आतिथ्य ग्रहण गर्छन्, यसै वर्षको वैशाख २७ गते पनि लखनउमा भेट गरे। मोदी र आदित्यनाथको सहयोगमा गद्दीमा फिर्ता गर्दै संविधान निमिट्यान्न पार्दै हिन्दू राष्ट्र फिर्ता गर्न चाहने ज्ञानेन्द्रको खेल नेपाल राज्यका लागि खतरनाक छ, र यो खतरा प्रत्यक्ष र विद्यमान छ। सन् २०१५ मा नेपालमाथि नाकाबन्दी लगाउने वर्तमान भारतीय सत्ता के के नगर्ला, त्यो पनि आफ्नो निर्वाचन जित्ने चासोको सन्दर्भमा? भारतभित्र त सबैलाई ‘पेलेर’ अघि बढ्ने गरेको मोदी सत्ता नेपाली मन र व्यवस्थाप्रति संवेदनशील हुने आश नराख्नु बेस।
राजाको सन्दर्भमा भोलि भारतीय सहायतामा श्रीपेच शिरमा लाउन पाउँदा ज्ञानेन्द्र कति ‘लम्पसार’ पर्लान् को कुरा नगरी आजैको ज्ञानेन्द्रको रवैया हेर्न सकिन्छ। गत वर्षकै घटनाक्रमका कुरा गरौं: भारतले नेपाली जलस्रोत क्षेत्रमा अरू देशलाई निषेध गर्दा र क्षेत्र आफ्नो कब्जामा राख्न पुष्पकमल दाहाल सहयात्री बन्दा; चिनियाँ लगानी या निर्माण कम्पनी रहेको जलविद्युत् परियोजनाका बिजुली भारतले आयातका लागि प्रतिबन्ध लगाउँदा; ‘ईपीजी’ प्रतिवेदनको कुरा समेत नेपालका प्रधानमन्त्रीले भारतीय समकक्षीसँग नउठाउँदा; भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई मार्ग नदिंदा- ज्ञानेन्द्र र उनका राजावादी पंक्तिले सशक्त स्वरमा कतै बोले? अनि भारतीय सुरक्षाकर्मीले महाकालीमा तुइन काटिदिंदा जयसिंह धामीको ज्यान गएकोबारे? भारतले गरेको नाकाबन्दीबारे धारणा सार्वजनिक गरेका छन् या छैनन् ज्ञानेन्द्रले? अनि लिपुलेक, लिम्पियाधुरा र चुच्चे नक्शाबारे बोले कि छेउछाउ हेरी बसे? मुख्य मुद्दामा नबोलेर, अझ लुकीलुकी हिंडेर, आफूलाई ‘राष्ट्रवादी’ कहलाउनेले अरूलाई धुरीबाट ‘लम्पसारवादी’ भन्दै चिच्याउने?
भारतमा अप्रिल-मे २०२४ मा हुने आमनिर्वाचनमा नयाँ दिल्लीको मोदी सत्ताले नेपाललाई उपयोग गर्ने अभीष्ट देखिन्छ, ‘गेमप्लान’ यस्तो छ भन्ने आकलन गर्न मिल्छ। यता दङ्गा भड्काएर उत्तर प्रदेश, बिहार र ‘हिन्दीभाषी क्षेत्र’ मा हिन्दू-मुस्लिम दूरी बढाउन सघाएर मोदी-शाह-आदित्यनाथ कम्पनीले भाजपाको मतभार बढाउन चाहन्छ। नेपालको संविधान विरुद्ध नेपालभित्रै विद्रोह सल्काएर २०८०/८१ को हिउँदसम्म खारेजीतर्फ धकेल्ने योजना प्रस्टै देखिन्छ, ताकि भारतीय हिन्दूत्ववादी मतदातालाई भन्न सकियोस्- “भारतमे हालके लिए संसदीय अङ्कगणितके कारण हिन्दू राष्ट्र सम्भव नही हे, लेकिन हमने नेपालमे हिन्दू राष्ट्र पुनःस्थापना करादिया।”
दिल्लीको यही योजनाको उपयोगी गोटी बन्न चाहेका देखिन्छन् ज्ञानेन्द्र र राजावादी पंक्ति, र नेपालमा सदैव अराजकता र अशान्ति चाहने उग्रवाम तप्काले यस क्रमलाई सहयोग गर्ने पनि पक्कै छ। जब जनताको समर्थन छैन वा घट्दो छ, उपद्रव मच्चाउने हो। संसदीय निर्वाचनमा नामेट भएपछि त माओवादी नेतृत्वले सशस्त्र विद्रोह थालेको हो, २०५२ फागुन १ मा।
भारतको वर्तमान हस्तक्षेपकारी सत्ताले नेपाललाई हिन्दू राष्ट्र बनाउन चाहेको छ, राजसंस्थाको पुनःस्थापना हैन। तर, नेपालको परिस्थिति र परिवेश तथा आफ्नो हतारोले गर्दा नयाँ दिल्ली र लखनउले राजसंस्थाको आडमा संविधानको खारेजी र हिन्दू राष्ट्रको पुनःस्थापना गर्न खोजेको बुझ्न गाह्रो छैन। र रणनीति यस्तो हुन सक्ने देखिन्छ, ठाउँ ठाउँमा धरान र मलंगवामा जस्तो घटना रचाउने, सम्हाल्न नसकेकोमा दलीय लोकतन्त्रको कमजोरीबारे प्रोपागान्डा गर्ने र संविधानको खारेजीको योजना सफल पार्ने। ज्ञानेन्द्रले (फेरि पनि) नबुझेको कुरा, यो सबै क्रियाकलापले नेपाल राज्यलाई यति गलाएको हुन्छ कि भारतको गुलाममा परिणत हुनेछ। यस दोषको भागीदार हुने/नहुने, गहिरो गरी विचार गरून् पूर्व राजाले ।
पशुपति, वनकालीमा २०७३ मा आयोजित अन्तर्राष्ट्रिय विराट् हिन्दू महासम्मेलनमा पूर्व राजा ज्ञानेन्द्र शाह र आदित्यनाथ लगायत। तस्वीर: ईकान्तिपुर।
कुरो छ कार्यकारी अधिकार नभएको संवैधानिक राजतन्त्र फर्काउने, काम गर्नु छ आज र भविष्यका निर्वाचित दल- गत सरकारले सम्हाल्नै नसक्ने गरी सामाजिक द्वन्द्व बढाउने। यसलाई वास्तवमा ‘द्रोह’ भन्नुपर्छ, कि पाकिस्तान र आज आएर भारतमा जस्तो धर्मनिर्देशित राजनीति भित्र्याउने प्रयास, जसले देशलाई चरम अस्थिरतातर्फ धकेल्छ, आर्थिक अग्रगमन रोक्छ, समुदाय समुदायमाझ खाडल खडा गर्छ। यस्तो खतरनाक खेलमा जानीनजानी लागेका छन् ज्ञानेन्द्र।
यसरी हेर्दा आज चरम लम्पसारवादी कोही हुन् भने ज्ञानेन्द्रलाई नै किन यो पगरी नगुथाउने, जो आफ्नो राजखलकको गरिमामय इतिहास बिर्सेर पृथ्वीनारायणकै उक्तिहरूका बर्खिलाप नेपालको स्वाभिमान लत्याएर विदेशी पक्षको आडमा शक्तिप्राप्तिको बाटोमा लागेका छन्, जबकि शुरूआतमै त्यो सत्ता गुम्नुमा कारक पात्र उनी आफैं हुन्। गद्दी प्राप्तिका लागि फेरि लम्पसारवादी हुँदै गर्दा देशभित्रको विद्वेष बढाउने तत्त्वसँग सहकार्य गर्न पनि तयार देखिन्छन् ज्ञानेन्द्र। कता बिर्सियो, उत्तर र दक्षिणको शक्तिसँग सदैव सतर्कता नै नेपालकाे रक्षाकवच हो भन्ने पृथ्वीनारायण शाहको वाणी?
फराकिलो हिन्दूपन
ज्ञानेन्द्र शाहले दक्षिणएशियामा नेपालको छुट्टै ऐतिहासिक संस्कृति स्विकारेको एकल श्रीरामको भरमा चल्ने मोदीराजको ‘हिन्दूत्व’ भन्दा आफ्नै देशको फराकिलो र विविधतायुक्त हिन्दूपन र हिन्दू पन्थहरूको बखान गर्न सक्थे। तर, त्यसो गर्न त आफूलाई जनताको तवरमा राख्न सक्नुपर्छ, इतिहास बुझेको हुनुपर्छ। आफ्नो गुमेको साख फिर्ता ल्याउने ध्येयमा केन्द्रित हुँदा चाहिं जोसुकैको या जस्तोसुकै सहायता लिन पुगिन्छ, योगी र मोदी नै किन नहुन्। आफ्नो देशको जाज्वल्यमान संस्कृतिको हेक्का राख्ने क्षमता नहुनेले यस्तै हर्कत गर्छ।
ज्ञानेन्द्रले त आफ्नै पूर्वज पृथ्वीनारायण शाहका गुरु गोरखनाथबाट नेपालको सांस्कृतिक विविधताको अध्ययन शुरू गर्न सक्थे, जुन परम्पराको मुख्य संरक्षक हुनुपर्ने गोरखनाथ मठका मठाधीश ‘राम जन्मभूमि’ अभियानमा लागेका छन्। योगी आदित्यनाथलाई आफ्नो मठको इतिहास सम्झाउने काम नेपालबाट हुन सक्थ्यो। अनि नेपालभित्र हिन्दूपनलाई ‘एकल राम’ को बखान गर्दा कता हरायो मस्टो पूजन, कता हरायो तन्त्रज्ञान, त्यत्रो शैव-शक्तिको गाथा, अनि वैष्णवबीचको सांस्कृतिक विविधता र कृष्ण प्रणामीदेखि प्रकृतिपूजकसम्मको फराकिलो नेपाल! ज्ञानेन्द्रको ध्यान पनि एकल श्रीराममा केन्द्रित देखिन्छ योगी-मोदीका कारण, न कि ‘हाम्रै’ जानकी।
नरेन्द्र मोदीले आफ्नो राजनीतिक यात्रामा बल थप्न हिन्दू धर्मको ‘सिनिकल’ प्रयोग गरेका छन् र मुसलमान विरुद्ध इतरका जनमानसलाई उत्तेजित बनाउँदा आफ्नो मतभार बढ्छ भन्ने उनको ध्येय हो। नेपालमा पनि जसले सांस्कृतिक धर्म लगाव नभई राजनीतिक हिन्दूत्वको प्रयोग गर्न खोज्छ, तिनलाई पाकिस्तान या अफगानिस्तानका कट्टरपन्थी मुल्लाहभन्दा फरक मान्न मिल्दैन।
ज्ञानेन्द्र र उनी समर्थक राजावादीले सीमापारिको ‘हिन्दूत्व’ को आड लिंदा नेपाली इतिहास, सम्पूर्ण संस्कृति र बसोबास गर्ने जनसंख्याको अवहेलना गरेको बुझ्नुपर्छ। त्यस्तो कदमले एक त नेपालमा ‘हिन्दूमार्गी’ बाहेक बौद्धमार्गी, मुसलमान, इसाई, प्रकृतिपूजक, मिश्रित हिन्दू-बौद्ध आस्था राख्ने (‘सिन्क्रेटिक’) जमात, तथा खाँटी नास्तिकहरूको अवहेलना गर्छ, साथै दक्षिणी अतिवादी शक्तिको आडमा नेपालमा संवैधानिक उथलपुथल भित्र्याउन खोज्दा संसारसामु भूराजनीतिक हिसाबले नेपाल देश निकै कमजोर बन्छ। ज्ञानेन्द्रको खेलले कति परसम्म असर पर्छ, बुझौं।
ज्ञानेन्द्रको ‘डीएनए’
२०४७ सालको संविधान एक असल दस्तावेज थियो। यसैले नेपालमा लोकतन्त्र, मानव अधिकार, सामाजिक न्याय तथा आधारभूत स्वतन्त्रताको प्रत्याभूति दिलाएको हो। तर, माओवादीले ल्याएको उथलपुथल र सहयोगी पात्रका रूपमा दरबारले प्रजातान्त्रिक राजकाजमा ल्याएको अस्थिरताका कारण २०४७ सालको संविधान टिकाउन सकिएन। २०४७ को संविधानको प्रतिरक्षक हुँदाहुँदै लेखकको राय छ: त्यो संविधान ब्युँताउने हो भने धेरै अस्थिरता उत्पन्न हुन सक्छ, जबकि उसको मूलभूत लोकतान्त्रिक ‘सामग्री’ २०७२ सालको संविधानमा अटाएकै छ। वर्तमान संविधानकै समीक्षा र समयानुकूल सुधार गर्दै अघि बढ्नु सही बाटो हो, जसमा २०४७ सालको संविधानका मूलभूत राजनीतिक-सामाजिक प्रावधान यथावत् राख्नुपर्छ, सके अझै बलियो बनाउनुपर्छ, जस्तै ‘सशस्त्र द्वन्द्व’ को प्रस्तावनामा स्वीकारोक्तिको खारेजी। तर, ज्ञानेन्द्र एन्ड कम्पनीले त यसको हठात् खारेजी खोजेका छन्, र दोहोर्याउनै पर्ने- विदेशीको सहायता लिईकन।
राजसंस्था फिर्ता गर्न नहुने एक मूल कारण त्यसो गर्न संविधान खारेज गरिनुपर्छ, जसका अनगिन्ती दूरगामी असरहरू हुनेछन्। फेरि अहिले संविधानको खिलाफ बोल्नेको आवाज चर्को छ भने बृहत् जनता चूप बसेका छन्, स्वर ठूलो गर्दैमा जनमत मान्नु हुँदैन।
यो पनि नबिर्सौं कि राजसंस्था पुन:स्थापित गर्ने भन्दै गर्दा, फेरि राजा हुने पात्र उनै ज्ञानेन्द्र हुन्। जसको गैरलोकतान्त्रिक अधिनायकवादी चरित्र यसरी उदाङ्गो हुन पुग्यो कि कसैको मनमा दुविधा नै छैन कि राजगद्दीमा फर्किए उनको लोकतान्त्रिक आचरण र मान्यताले फेरि चरम अस्थिरता जन्माउँछ। नारायणहिटीबाट बाहिरिएको १५ वर्षमा असोज १८ को शाही कदम गल्ती थियो भनेर ज्ञानेन्द्रको मुखबाट उच्चारणसम्म भएको छैन। संवैधानिक राजा बन्दा ज्ञानेन्द्रले लोकतान्त्रिक परिपाटीलाई हस्तक्षेप गरिछाड्छन्, यो उनको ‘डीएनए’मै लेखिएको कुरो हो। उनको हालैका वाणीहरू पनि सुन्नुस्, कता छ लोकतन्त्रप्रति कटिबद्धता, मात्र छ त ‘जनताको चाहना’ भन्ने आत्मरति।
ज्ञानेन्द्रले आफ्नो देशको भलो चिताउने हो र पूर्व राजपरिवारको मर्यादित भविष्य चाहने हो भने मैदानमा नउत्रेको बेस। एक चोटि उत्रेर ठूलो गल्ती भइसक्यो, मन्त्रिमण्डलको अध्यक्ष बनेर, ‘असोजतन्त्र’ रचेर। आसेपासेहरूको उत्साह त एकैछिनमा सुक्नेछ, जब कदम चालिन्छ र जनताले अभीष्ट बुझ्नेछन्, त्यति वेला राजपरिवारका लागि त्यो मर्यादाको स्थान समेत रहने छैन, जबकि आज जनताको चाहना त्यही हाे भनी अनुमान गर्न सकिन्छ, इतिहासको कदर गर्दै पृथ्वीनारायणको सन्तानका लागि उभिने राम्रो ठाउँ।
ज्ञानेन्द्रले सुन्नुपर्ने कुरा- राजनीति भन्ने कुरा पार्टीका नेतालाई गर्न देऊ, न तिम्रो राजनीति गर्न चाहिने चोखोपन छ न त दर्शन। ‘संवैधानिक राजा’ भने पनि तिमीले गर्ने लोकतान्त्रिक पद्धतिमा हस्तक्षेपकारी राजनीति नै हो। पूर्व राजपरिवारको सदस्य हुनु मात्रले त्यो अधिकार दिंदैन, त्यो पनि गलत कदमको इतिहास बोकेका पात्रले।
ज्ञानेन्द्रका आसेपासे नेता, कार्यकर्ता, धर्मभीरु, पूर्व प्रशासक इत्यादिको ध्याउन्न भने आआफ्ना अस्तित्व र करिअरका लागि हिन्दूत्वको प्रयोगमा पूर्व राजा र राजपरिवारलाई मुछ्नु हो, यो पनि सजिलै बुझ्न सकिने कुरा हो। अहिले अस्थिर राजनीति र अक्षम राजकाजको फाइदा लिंदै ‘ज्ञानेन्द्र एन्ड कम्पनी’ ले दक्षिणको राजनीतिक तथा गुप्तचरीय शक्तिको आडमा आफ्नो पुनरागमनको योजना बनाइरहेछ, जुन सबैका लागि महागल्ती ठहरिनेछ। सिमाना पारिबाट आयातीत शक्तिले नेपालमा अस्थिरता र दङ्गा फैलाए त्यसमा उनीहरू मुछिने नै छन्, यस्तो खतरा पूर्व राजा र उनका अनुयायीले किन मोल्ने?
संविधान राम्रो दस्तावेज हो, र संघीयता राम्रो छ, राम्ररी चलाउनुपर्छ भन्ने राष्ट्रिय जमात अहिले चूप बसेको छ। त्यो जमातको विचार संविधानको समीक्षा, परिमार्जन र पुनरावलोकन हो, खारेजी होइन। आयातीत हिन्दूत्वको आडमा ज्ञानेन्द्र सम्मिलित जत्थाले संविधान खारेजीतर्फ कदम चाले सुषुप्त जमात चूप नबस्ला कि हेक्का राख्नुपर्छ। राजनीतिशास्त्र नबुझ्ने, जन्मको भरमा गद्दीको आश गर्नेले नै यस्तो गल्ती गर्छ, जुन निजी प्रवृत्ति घरिघरि प्रमाणित भइसक्यो।
ज्ञानेन्द्रको ‘गेमप्लान’ यस्तो हुनुपर्ने हो- अहिलेको धमिलो पानीमा माछा मार्न नखोज्ने, नयाँ दिल्ली र लखनउसँगको साँठगाँठमा कुनै काम गरेर ऐतिहासिक कलङ्क नबोक्ने, उत्तर र दक्षिण दुवैसित सतर्कता अपनाउने, सहकार्य नगर्ने, आफ्नै पूर्वज पृथ्वीनारायणको नीति बोक्ने। यस्तो भए र नेपालमा राजनीतिक स्थिरता आए नेपालको पृथक् र स्वाभिमानी इतिहासमा गर्व गर्ने जनताले पृथ्वीनारायणका सन्तान-परिवारलाई सार्वजनिक जीवनमा मर्यादित स्थान दिनेछन् भन्नेमा सन्देह छैन। तर, जति पूर्व राजाको निजी महत्त्वाकांक्षा बढ्छ, पूर्व राजपरिवारको पुस्तौंका लागि सम्भावना मेटिनेछन्।
जसरी पनि शक्तिको केन्द्रबिन्दुमा पुग्न चाहने ज्ञानेन्द्र र जसरी पनि शक्तिको केन्द्रबिन्दुमा रहिरहन चाहने पुष्पकमल दाहालबीच सहकार्यको खतरा पनि आकलन गर्नुपर्नेछ, किनकि समय बित्दै जाँदा यी दुई आपसमा सहयोगी बन्न बेर छैन!
जतातिर पनि पल्टिन/ढल्किन सक्ने दाहाल र जसरी पनि राजगद्दीमा फर्कन चाहने ज्ञानेन्द्रबीच हिन्दूत्वको प्रोत्साहनमा हिमचिम बढ्न सक्ने हुनाले बाँकी सबैको सतर्कता आवश्यक छ। भारतका लागि ‘कम्फर्टेबल सरकार’ बनाएका प्रधानमन्त्री दाहालले मध्य प्रदेशको उज्जैनमा महाकालेश्वर मन्दिरमा गेरुवस्त्र धारण गरी पूजाआजा गराइसके, आफ्नो पूरै तथाकथित आस्था उल्टने गरी। अब उनलाई हिन्दूत्वको आड राजसंस्था फर्काउने कुरा गर्न के अप्ठेरो, आफ्नो राजनीतिक आयु लम्ब्याउन किन नगर्ने? नयाँ दिल्ली र लखनउ खुशी हुन्छन् भने उनलाई केको टन्टो? र, यस्तै मानसिकता रहेको छ पूर्व राजाको पनि ।