६० वर्षदेखि कुरिरहेको कोरला
खम्पा विद्रोहअघि नेपाल र तिब्बतको प्रमुख व्यापारिक नाकाका रूपमा रहेको कोरला ६ दशकदेखि बन्द रहँदा व्यापारी मात्रै होइन, दुवै देशका नागरिक पनि कठिनाइ भोगिरहेका छन्।
नेपाल र चीनको सीमा नाका हो, कोरला। मुस्ताङ र तिब्बतलाई जोड्ने यो नाका खोल्ने चर्चा चलेकै ६ दशक नाघिसक्यो। तर, नाका नखुल्दा कोरलाबाट पाउने लाभबाट नेपाल वञ्चित छ।
पश्चिमतिर कोरला नाकाको फाँटमा ‘नेपाल’ लेखिएको २४ नम्बर सीमास्तम्भ ठडिएको छ। पारि तिब्बतमा धमाधम काम चलिरहेको छ। चीनले आफ्नो पूर्वाधार निर्माणको कार्य सक्नै लाग्दा नेपालतर्फ भने एकीकृत भन्सार निर्माणको प्रक्रिया बल्ल शुरू हुने क्रममा छ।
नेपालतर्फ कोरला नाका सुनसान भएको पनि ६ दशक नाघिसक्यो। सन् १९६० को दशकअघिसम्म कोरला नेपाल र तिब्बतबीचको महत्त्वपूर्ण व्यापारिक नाका थियो। खम्पा विद्रोह भएसँगै कोरला नाका बन्द भयो।
कोरला नाकामा रहेको सीमा स्तम्भ।
तिब्बतमा चीनको शासन शुरू भएसँगै त्यहाँ खामका बासिन्दा विरोधमा उत्रिए। उनीहरूले नेपालको भूमि प्रयोग गरेर सन् १९६० मा विद्रोह शुरू गरे। जुन खम्पा विद्रोहको नामले परिचित छ।
खम्पा विद्रोहका क्रममा मनाङ र मुस्ताङको भूमि प्रयोग भएको थियो। त्यसबाट सशङ्कित चीन-नेपालले दुवै तर्फका नाका बन्द गरेका थिए। नेपालले पनि उपल्लो मुस्ताङलाई निषेधित क्षेत्र बनाएको छ। निषेधित क्षेत्र हुनुमा त्यहाँ रहेका ऐतिहासिक सम्पदाको संरक्षण गर्नु पनि हो।
त्यसयता पटक पटक कोरला नाका खोल्ने प्रयास गरिए पनि सफल भएन। अहिले उपल्लो मुस्ताङ र तिब्बतका बासिन्दा तथा व्यापारीले वर्षको दुई पटक कोरला नाकामा व्यापार मेला लगाउने गरेका छन्। कोभिड-१९ महामारीयता त मेला पनि हुन सकेको छैन।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणसँगै पर्यटन र व्यापारको हिसाबले महत्त्वपूर्ण मानिएको कोरला नाका फेरि चर्चामा छ। यस पटकको चीन भ्रमणमा कोरला नाकाबारे निर्णय हुने अपेक्षा गरिएको छ।
व्यापार र पर्यटनको आश
गण्डकी प्रदेश सरकारले यस वर्ष लुम्बिनी, गलेश्वर, मुक्तिनाथ हुँदै कैलाश पर्वतसम्मको ‘मुक्तिमार्ग’ को सम्भाव्यता अध्ययन गर्दै छ। गण्डकी प्रदेशको वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ, ‘अन्तरप्रदेश समन्वयमा लुम्बिनी-मुक्तिनाथ-कैलाश पर्वत जोड्ने मुक्तिमार्ग निर्माण कार्य प्रारम्भ गर्न विस्तृत सम्भाव्यता अध्ययन गरिनेछ।’
धार्मिक पर्यटनका हिसाबले महत्त्वपूर्ण यो मार्गको सम्भाव्यता अध्ययनका लागि एक करोड बजेट विनियोजन गरिएको छ। कोरला नाका खुले मात्र मुक्तिमार्गमा कैलाश पर्वतको रूट मिल्नेछ। कोरला नाका खुल्ने विश्वासले प्रदेश सरकारले मुक्तिमार्गको योजना अघि सारेको हो।
कोरला नाका। तस्वीर: अर्जुन गाहा मगर
यस वर्ष नेपाल आउने भारतीय पर्यटकको संख्या पनि बढेको छ। मुक्तिमार्गले तीर्थाटनका लागि आउने भारतीय पर्यटकको संख्या अझ बढाउने मुस्ताङबाट गण्डकी प्रदेश सभा सदस्य विकल शेरचन बताउँछन्। “गण्डकी प्रदेशको पर्यटन र आर्थिक विकासका लागि उपल्लो मुस्ताङले अवसरको चाङ बोकेको छ,” शेरचन भन्छन्।
कोरला नाका खोल्ने विषयमा सकारात्मक भएकैले तिब्बततर्फ पूर्वाधार निर्माण भइसकेका छन्। चीनले कोरला नाकासम्म सडक कालोपत्रे गरेको छ। तर, नेपालतर्फ भने २४ नम्बर सीमास्तम्भ मात्र एक्लै ठडिएको छ। सीमाबाट झन्डै २० किलोमिटर तल नेचुङमा भर्खरै सशस्त्र प्रहरी बलको पोस्ट स्थापना गरिएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी कोरला नाका खोल्न चीनलाई दबाब दिएर मात्र नपुग्ने बताउँछन्। यसका लागि नेपालले पनि तयारी गर्नुपर्ने मुल्मीको भनाइ छ। “कोरला नाका खुले नेपाल-चीन व्यापारिक सम्बन्ध प्रगाढ बन्छ,” पूर्वाधार विकास, व्यवस्थापकीय कार्य गर्नुपर्ने बताउँदै मुल्मी भन्छन्, “कोरला नाका भारत र चीनबीचको व्यापारिक ‘ट्रान्जिट’ का रूपमा पनि प्रयोग हुने सम्भावना छ।”
कोरला क्षेत्र पर्ने मुस्ताङ ‘क’ बाट निर्वाचित प्रदेश सभा सदस्य नम्डु गुरुङ निषेधित क्षेत्रलाई हटाएर नाका खोल्नुपर्ने बताउँछन्। ६ महीना उपल्लो मुस्ताङ र ६ महीना अन्य जिल्लातिर जाने उपल्लो मुस्ताङवासी कोरला नाका खुले वर्षैभरि त्यहीं बस्ने वातावरण बन्ने गुरुङ बताउँछन्। “कोरला नाका खुल्ने बित्तिकै उपल्लो मुस्ताङमा लगानीकर्ताको आँखा जान्छ,” उनी भन्छन्, “यस क्षेत्रको विकास गर्न समय लाग्नेछैन।”
यस क्षेत्रबाट प्रतिनिधित्व गरेका पूर्व सांसद इन्द्र धारा विष्ट कूटनीतिक असन्तुलनले गर्दा कोरला नाकाको मुद्दा अड्किएको बताउँछन्। कूटनीतिक हिसाबले मिलाउनुपर्ने विषय भएकाले नेपाल कमजोर देखिंदा कोरला नाका खुल्न नसकेको विष्टको भनाइ छ।
उपल्लो मुस्ताङ क्षेत्र। तस्वीर: दिनेश श्रेष्ठ/नेपाली टाइम्स
कोरला क्षेत्र रहेको लोमन्थाङ गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङ नाका खुले रोजगारीका अवसर सिर्जना हुने बताउँछन्। “कोरला नाका खुले युवाले रोजगारी पाउनेछन्,” अध्यक्ष गुरुङ भन्छन्, “यस पटक कोरला नाका खुल्नेमा आशावादी छौं।”
नाका खोल्न नेपालको तयारी
सधैं चर्चामा रहने कोरला नाका खोल्न चीनले तयारी गरिसकेको छ। त्यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरेको छ। तर, नेपालको भने अझै तयारी देखिंदैन।
सीमानाकामा मात्र नभएर कोरलासम्म पुग्ने सडक पनि बिग्रिएको छ। मुस्ताङ पुग्ने सडकको बीचमा पर्ने रुप्से झरनादेखि साँघुरो सडकले आवतजावत गर्न पनि कठिनाइ हुन्छ। सडकको स्तरोन्नतिसँगै झरना व्यवस्थापन गर्नुपर्ने व्यवसायी बताउँछन्।
त्यस्तै, कोरला नाकामा एकीकृत भन्सार कार्यालयको पूर्वाधार निर्माणका लागि करीब एक हजार रोपनी जग्गा अधिग्रहण गरिएको छ। नाका जोड्ने कालीगण्डकी करिडोर सडक आयोजनाको काम प्रक्रियामै छ।
उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष मुल्मी कोरला नाकाका लागि व्यापारिक पारवाहनका हिसाबले महत्त्वपूर्ण म्याग्दीदेखि मुस्ताङसम्म सडक सुधार्नुपर्ने बताउँछन्। मुल्मी भन्छन्, “नाका खोल्न पूर्वाधार निर्माण, सडक, अध्यागमन, सुरक्षा लगायतको व्यवस्था गर्नुपर्छ।”