बाजुरामा भाइरल ज्वरोले दुई जनाको मृत्यु
बाजुराको खप्तड छेडेदह गाउँपालिका-२ जयबागेश्वरीको माटेसागुमा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ।
भाइरल ज्वरोले जयबागेश्वरीकी ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाहीको मृत्यु भएको स्थानीय दीर्घबहादुर शाहीले बताए। बुढाको चार दिन पहिले र शाहीको आइतबार मृत्यु भएको उनले बताए।
गाउँमा रहेका १६० भन्दा बढी परिवारका प्रायः सबैजसो घरमा ज्वरोका बिरामी छन्। भाइरल ज्वरोले पूरै गाउँ नै प्रभावित रहेको स्थानीय गणेशबहादुर शाहीले बताए। उनका अनुसार भाइरल ज्वरो फैलिएको एक साता भइसकेको छ। उपचारका लागि पहल गर्दा पनि कतैबाट स्वास्थ्यकर्मी नआएको स्थानीय बासिन्दाले गुनासो गरेका छन्।
ज्वरो १०३ डिग्रीमाथि आउने, खोकी लाग्ने, श्वास फुल्ने जस्ता लक्षण देखा परेको जनाइएको छ। गाउँमा भाइरल ज्वरो फैलिएको खबर पाएपछि स्वास्थ्यकर्मीको टोली पठाउन लागेको स्वास्थ्य कार्यलय, बाजुराका निमित्त प्रमुख महेश चन्दले बताए।
खप्तड छेडेदह गाउँपालिकाबाट दुई जना स्वास्थ्यकर्मी पठाइसकेको र जिल्ला स्वास्थ्य कार्यालयबाट औषधि सहितको टोली पठाउन लागेको चन्दले बताए। भाइरल ज्वरोबाट ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगी सबैभन्दा बढी प्रभावित छन्। स्वास्थ्य चौकी एक घण्टा टाढा रहेकाले उपचारमा जान निकै समस्या भएको छ।
गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतका अनुसार स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइसकिएको छ। “गाउँमा ल्याब सहितको टोली पठाएका छौं, रोगको पहिचान गरेर नियन्त्रण नभए जिल्ला, प्रदेश र संघमा सहयोगका लागि जानकारी गराउँछौं,” अध्यक्ष रावतले भने।