नेपाल-चीन सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री
चिनियाँ प्रधानमन्त्री ली छ्याङले नेपाल र चीनबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको महसूस गरेको बताएका छन्।
हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय वार्ता शुरू हुनुअघि चिनियाँ प्रधानमन्त्री छ्याङले स्वागत मन्तव्यमा यस्तो धारणा राखेका हुन्। उनले नेपालका प्रधानमन्त्री दाहालको यस भ्रमणले द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरणमा थप सहयोग पुगेको बताए।
चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद रहेको पनि उनले बताए। उनले प्रधानमन्त्री दाहालले चीन-नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुर्याएको उल्लेख गरे।
प्रधानमन्त्री छ्याङले नेपालको सदियौं पुरानो छिमेकी चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा पनि राखेका थिए।
हाल बेइजिङस्थित ग्रेट हल अफ दी पिपुल्स कंग्रेसमा द्विपक्षीय भेटवार्ता जारी छ। -रासस