देवीप्रसाद सुवेदीको ‘मनु’ लाई पद्मश्री साहित्य पुरस्कार
२०७९ सालको पद्मश्री साहित्य पुरस्कार उपन्यास मनुलाई प्रदान गरिने भएको छ भने कलाकार दुर्गा बराल (वात्स्यायन)लाई पद्मश्री साधना सम्मान र शिक्षाविद् सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार प्रदान गरिने भएको छ।
२०७९ सालको पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास मनुलाई प्रदान गरिने भएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा निर्णायक समितिको निर्णय बमोजिम मनुलाई पुरस्कार प्रदान गरिने भएको हो।
२०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ।
प्रतिष्ठानलाई प्राप्त १८० पुस्तकमध्ये छनोट प्रक्रियाको पहिलो चरण (विस्तारित सूची)मा १५ र दोस्रो चरण (संक्षिप्त सूची)मा पाँच पुस्तक सार्वजनिक गरिएको थियो। ती पाँचमध्ये मनुलाई उत्कृष्ट मान्दै पुरस्कार प्रदान गरिने भएको हो।
मनु ऋग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक–सांस्कृतिक उपन्यास हो। उपन्यासमा मूल पात्र मनुको नेतृत्वमा सुर र असुरबीचको द्वन्द्व समाप्त भई उनकै नेतृत्वमा मानव जातिको विकास भएको कथा प्रस्तुत गरिएको छ।
यसैगरी, प्रतिष्ठानले कलाकार दुर्गा बराल (वात्स्यायन)लाई पद्मश्री साधना सम्मान प्रदान गर्ने भएको छ। प्रतिष्ठानले २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ।
२०२० को दशकदेखि चित्रकला र कार्टूनका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका बराललाई उनको विशिष्ट योगदानका लागि साधना सम्मानद्वारा सम्मानित गरिने भएको हो।
यस्तै, पद्मश्री गौरव पुरस्कार यस वर्ष शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गरिने भएको छ। गत वर्षदेखि प्रतिष्ठानले समाजलाई गौरवपूर्ण योगदान दिने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वलाई पद्मश्री गौरव पुरस्कारद्वारा सम्मान गर्न थालेको छ।
पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन वटैको राशि रु.तीन लाख रहेको छ। तीन वटै सम्मान तथा पुरस्कार कोजाग्रत पूर्णिमाका दिन अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन्।