वेडिङ एल्बम: दक्षिणएशियाका घर घरको कथा
नाटकमा पात्रको प्रस्तुतिमा हुने विरोधाभासलाई दोष ठान्ने गरिए पनि वेडिङ एल्बममा भने निर्देशकले त्यसैलाई गुणका रूपमा पस्कन सफल देखिन्छिन्। परस्पर विपरीत आयाममा पनि सुन्दर छ, पात्रहरूको अभिनय।
दाम्पत्य जीवनको तेस्रो दशकमा हिंडिरहेका आमाबुबा। दाम्पत्य सुखद नरहेकी जेठी छोरी। दाम्पत्यप्रति उदासीन छोरो अनि दाम्पत्य उपभोगको व्यग्र प्रतीक्षामा रहेकी छोरी।
काठमाडौंको टेकुस्थित कौसी थिएटरमा असोज ४ गतेबाट मञ्चन भइरहेको नाटक वेडिङ एल्बमको मजबून हो यो। भारतीय नाटककार गिरीश कर्नाडले लेखेको नाटकले विशेषगरी बिहेको सन्दर्भ समातेर दक्षिणएशियाका घर घरको कथा भन्ने प्रयास गरेको छ। यसको नेपालीकरण गरेकी छन्, निर्देशक आकांक्षा कार्कीले।
नाटकले बिहेघरको कथानक उघार्दै जाँदा मानसिक स्वास्थ्य, यौनहिंसा, यौन मनोविज्ञान र नारी आत्मसम्मानको विषयलाई पनि सशक्त ढङ्गले प्रस्तुत गरेको छ। उपकथासँगै खुल्ने रहस्यहरूले नाटकलाई कसिलो बनाउँछन्।
विरोधाभासले जेलिएका पात्र
नाटकमा कान्छी छोरीको भूमिकामा रहेकी विदुषी (रञ्जना भट्टराई)लाई निर्देशकले बलियो पात्रका रूपमा चित्रण गरेकी छन्। घरमा आमा (लूनिभा तुलाधर) र काम गर्ने कुसुम दिदी (सेबिता अधिकारी)बीचको झगडालाई विदुषी सामान्य रूपमा लिन्छिन्। क्याफेमा आफूलाई हिंसा गर्ने युवाको पनि एक्लै सामना गर्छिन्। तर, उनलाई नेपथ्यका कुरा थाहा छैनन्। दिदी हेमा (केनिपा सिंह)को छटपटीलाई भिनाजुप्रतिको मायाको रूपमा मात्र बुझ्छिन्, घर बिग्रिंदै गएको भेउ पाउँदिनन्।
आफ्नो जन्मदर्तामा बुबाको नाम ‘बिग्रिएको’ कुरालाई काकाको झोंकका रूपमा मात्र बुझ्छिन्। बिहेपछि दूरदराज पुगेको पतिसँगको संवादहीनतालाई पनि पर्गेल्न सक्दिनन्। त्यसअघि बिहेको कुरा आयो कि उनी अधिकांश वाक्यमा ‘यदि बिहे भयो भने’ भन्ने उपवाक्य जोडिरहेकी हुन्थिन्। यसले बिहेमा निम्तिएको पटक पटकको अवरोध र दाम्पत्यप्रतिको उनको तीव्र आशक्ति झल्काउँछ। यस्तै, अनेक विरोधाभासकी विम्ब हुन्, विदुषी।
उता हेमालाई ‘मिनिमलिस्ट’ र पुरातन देखाइएको छ जबकि उनी अस्ट्रेलिया बस्छिन्। उनलाई छोराको जति चिन्ता छ, छोरीको छैन। मानसिकता पनि स्थिर छैन, अति सोचनशील छिन्। यद्यपि उनलाई घरको धेरै कुरा थाहा छ। जेठी सन्तान भएकीले आमाबुबाको विगत सम्बन्धबारे जानकारी राख्छिन्। त्यसैले बहिनीको जन्मदर्ता बिग्रिएको कुरालाई काकाको झोंकका रूपमा मात्र लिंदिनन्।
परिवारको एक मात्र छोरा रोहित (सुदाम सिके)लाई भने धेरै हदमा परिपक्व देखाइएको छ। घरायसी मामिलामा जिम्मेवार उनी घर बाहिर चाहिं बिल्कुल अलग छन्। बहिनीलाई ज्वाइँसँगको सम्बन्ध राम्रो नभए सम्बन्धविच्छेद गरेर फर्किनू भन्ने रोहित आफैं भने पूर्व प्रेमिकालाई यौनजन्य हिंसा गर्छन्। उनी एउटा अवसरवादी पनि हुन्। विदेशमा पढ्ने अवसरका लागि बिहेको सँघारमै प्रेमिकालाई त्यागिदिन्छन्। अवसर मिलाइदिनेकी छोरीसँग बिहे गर्छन्।
कथाको पत्र खुल्दै जाँदा बुबा कृष्ण कोइराला (आशान्त शर्मा)ले विगतमा आमा रुक्मणी (लूनिभा)लाई कुटपिट गरिराख्ने गरेको उजागर हुन्छ। वर्तमानमा भने कृष्ण धेरै कुरा थाहा नपाए झैं गर्ने भइसकेका छन्। रुक्मणी चाहिं धेरै कुरा प्रतिवाद गर्ने तहमा पुगेकी छन्।
अर्थात्, नाटकका मुख्य पात्र सबै एकअर्काको विरोधाभासमा जेलिएका छन्। नाटकमा पात्रको प्रस्तुतिमा हुने विरोधाभासलाई दोष ठान्ने गरिए पनि वेडिङ एल्बममा भने निर्देशक त्यसैलाई गुणका रूपमा पस्कन सफल देखिन्छिन्। परस्पर विपरीत आयाममा पनि सुन्दर छ, पात्रहरूको अभिनय।
स्थापित अभिनय
अभिनयका सवालमा कलाकारहरूले आफूलाई पात्रमा पूर्णतः स्थापित गरेका छन्। तथापि, अभिनय भनेको भावभङ्गी मात्र होइन भन्नेमा जाँदा धेरै पाटोमा सुधारको गुन्जाइस देखिन्छ। जस्तो- पात्रहरूले निकै छिटोछिटो संवाद गर्छन्। रिस वा उत्साहको भाव प्रकट गर्दा यो शैली ठीकै लागे पनि अरू वेला छिटो बोल्नु स्वाभाविक लाग्दैन।
केही कलाकारको आवाज पनि अलि चर्को सुनिन्छ। नाटकमा आवाजको ‘पिच’ केही बढी राखिनु अस्वाभाविक नभए पनि सल्लाह र प्रेमिल संवादमा त्यो बिझाएको अनुभूति हुन्छ।
घरेलु कामदारका रूपमा रहेकी सेबिताको अभिनयमा वेलाबखत ‘ओभरप्ले’ झल्किन्छ। तथापि, नाटकको अन्त्यतिरको उनको एकालापले भने अभिनय कौशल प्रस्तुत गरेको छ। ‘ओभरप्ले’ कै समस्या मामा मोहन अर्याल (नवीन चन्द्र) र माइजू मीरा अर्याल (विनीता गुरुङ)को अभिनयमा पनि छ। उनीहरूका दिदीभिनाजु छन्, गोपाल प्याकुरेल (हृषीकेश बस्याल) र भगवती प्याकुरेल (निष्ठा त्रिपाठी)। निष्ठाको भूमिका सहायक छ, त्यसैले अभिनय देखाउन पाएकी छैनन्। हृषीकेशले भने उम्दा अभिनय गरेका छन्। लवज, भावभङ्गी लगायत अभिनयका हरेक अवयवलाई उनले पात्र अनुसार न्याय गरेका छन्।
निर्देशकले हृषीकेशको पात्र मार्फत पुरुषसत्तालाई भने जोगाइराखेकी छन्। यहाँ यसरी चित्रण गर्नु आवश्यक थियो/थिएन भन्ने प्रश्न उठ्न सक्छ।
यस बाहेक आशान्त र लूनिभाको अभिनयमा खोट लगाउने ठाउँ छैन। उनले नाटकलाई जीवन्त बनाइदिएका छन्। केनिपा, सुदाम र रञ्जनाको अभिनय पनि सन्तोषजनक छ। निर्देशकको भूमिकामा अभिनय गरेकी आकांक्षाले अभिनेत्रीका रूपमा पनि राम्रै छाप छोडेकी छन्।
प्रकाश, सङ्गीत र दृश्यान्तरण
प्रकाश संयोजनका मामिलामा भने नाटक कमजोर प्रतीत हुन्छ। बिहानको झल्को दिने र प्रेमिल भाव प्रकट गर्ने केही सन्दर्भमा कथा, घटना र प्रकाशको मिश्रण ठीकै रहे पनि यस्तो विविधता नाटकभरि पाइँदैन। प्रायः एकैखाले प्रकाश संयोजन दोहोरिरहन्छ।
सङ्गीतको सवालमा पनि यही हाल छ। कतिपय प्रसङ्गमा एउटा दृश्यबाट अर्कोमा प्रवेश गर्दाको तालमेल ठीकै भए पनि प्रायः सङ्गीतले दृश्यको गाम्भीर्य वा अभिव्यक्तिलाई प्रतिनिधित्व गर्दैन।
नाटक चुकेको अर्को पक्ष दृश्यान्तरण हो। दर्शकलाई ठाउँ ठाउँमा एकपछि अर्को दृश्यबीचको यात्रा अलिक कष्टकर लाग्न सक्छ।
मुख्य पात्र विदुषीले बालापनमा भोगेको यौनहिंसाकै कुरा गर्दा यो विषय जसरी उठाइएको छ, त्यसअघि र पछिका दृश्यबीच तादात्म्य देखिंदैन। दृश्य एक्कासि उत्कर्षमा पुग्छ, तर दर्शकको जिज्ञासा नमेटीकनै मोडिन्छ। विदुषीकै ‘फोन-सेक्स’ को प्रसङ्गमा यौनानन्दमा रमाइरहेको पात्र क्षणभरमै गम्भीर बनेको दृश्यान्तर उति सहज लाग्दैन।
तथापि, यो दृश्यमा पृष्ठभूमिमा राखिएको पिंजडा र उन्मुक्त हुन खोजेको पन्छीको तस्वीरले भने विदुषीको स्वतन्त्रतालाई प्रतिनिधित्व गरेको हुन्छ।
निर्देशकीय कमजोरी र सशक्तता
अन्तिमतिर पुग्दा निर्देशकले नाटक सक्न हतार गरे जस्तो महसूस हुन्छ। यसो हुँदा नाटकले उठाएका धेरै विषय सम्बोधन नै हुन पाएका छैनन्। विदुषीले बाल्यकालमा खेपेको यौनहिंसाकै कुरा गराैं- विषयको उठान जति गम्भीर छ, बैठान त्यस अनुसार नहुँदा खल्लो लाग्छ। अर्थात्, यहाँ ‘पोएटिक जस्टिस’ को अभाव गहिरोसँग महसूस हुन्छ।
मुख्यतः नाटकमा विदुषीको बिहे, जेन्नी र तपस्याबीच एउटालाई रोज्नुपर्दाको रोहितको मनोविज्ञान, हेमाको वैवाहिक जीवनको रहस्य लगायत धेरै पक्षको सम्बोधन अपूरो छ। निर्देशकले लेखकलाई खाना खान निम्तो दिएको सन्दर्भ पनि अधकल्चो लाग्छ। यस्तै अपूरो छ, भित्तामा झुन्डिएको तस्वीर हिरा पात्रको कथा।
‘प्रप्स’ प्रयोगका मामिलामा पनि नाटक कमजोर छ। जस्तो, एउटा सन्दर्भमा बाहेक किताब र्याक किन राखियो भन्ने थाहा हुँदैन। भित्तामा पदकहरू झुन्ड्याइनुको औचित्य पनि खुल्दैन। यद्यपि हेमा ढोकानिरको बत्तीको स्वीच बन्द गरेर भित्र छिरेको र अँध्यारो भएको एउटा दृश्यमा अभिनय, ‘प्रप्स’ र प्रकाश संयोजनको राम्रो तादात्म्य छ।
यस्तै, छोरा समानको केटा (जीवन गौतम)ले प्रेमपत्र दिएको कुराले हेमालाई मनोवैज्ञानिक रूपमा कति असर गर्छ भन्ने पनि नाटकमा हेर्न पाइँदैन। यहाँनिर बलिउड शैलीको ‘फर्मुला’ झल्किन्छ। अर्थात्, दुर्व्यवहारपूर्ण तरीकाले प्रेम प्राप्त गर्न खोजिएको कुरालाई ‘ग्ल्यामराइज्ड’ गरिएको छ। यहाँ हेमाको मनोविज्ञान चित्रण गरिन्थ्यो त त्यसले नाटकलाई अझ कसिलो बनाउँथ्यो। अर्कातर्फ हेमाको मानसिकता खोल्नु नै थिएन भने यो सन्दर्भ नराखेकै भए जाती हुन्थ्यो।
नाटकमा तारीफ गर्न छुटाउनै नहुने पाटो चाहिं ‘स्टेजिङ’ र ‘ब्लकिङ’ हो। निर्देशकले पात्रहरूलाई स्टेजमा यसरी प्रस्तुत गराएकी छन् कि उनीहरूले ‘स्टेज कभर’ गर्नै पर्ने नाटकीय थिति धान्न नभएर अभिनयले मागे अनुसारै त्यसो गरिरहे झैं लाग्छ। जस्तो, आशान्त र लूनिभालाई ‘डाउनस्टेज राइट’ र ‘डाउनस्टेज लेफ्ट’ मा राखिएको एउटा दृश्यमा फरक मत बोकेका र एकअर्काप्रति क्रुद्ध दुई पात्रको मनोविज्ञान ‘स्टेजिङ’ मार्फत झल्काउने निर्देशकीय कला तारीफयोग्य छ।
‘ब्लकिङ’ को कुरा गर्दा आशान्त र लूनिभा क्रुद्ध भएको दृश्यमा ‘अपस्टेज लेफ्ट’ मा केनिपा समेतलाई समेटेर निर्देशकले अर्को शिल्प प्रदर्शन गरेकी छन्। ‘ब्लकिङ’ कै अर्को राम्रो उदाहरण विदुषीमाथि केही युवाले हिंसा गरेको दृश्यमा देखिन्छ। एकातिर ‘फोन-सेक्स’ मार्फत यौनानन्द लिइरहेकी विदुषी र अर्कातिर रिसले चूर भएका दुई युवाको विरोधाभासलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।
अन्त्यमा, केही कमीकमजोरीका बावजूद नाटक वेडिङ एल्बम औसतभन्दा माथिल्लो स्तरको बनेको छ। यसका लागि दुई घण्टा छुट्याउँदा खासै फरक पर्दैन। नाटक असोज २७ गतेसम्म मञ्चन हुनेछ।