दिल्लीबाट दुई नेपाली युवतीको उद्धार
काम लगाइदिने र आकर्षक कमाइ हुने प्रलोभनमा पारी भारतको दिल्लीमा पुर्याइएका दुई नेपाली युवतीको उद्धार गरिएको छ।
सुर्खेत घर भएका युवतीलाई आफन्त पर्ने एक जना महिलाले आकर्षक कामको प्रलोभन देखाएर दिल्ली पुर्याएकी थिइन। उनीहरूलाई त्यहाँ बन्धक बनाएर जबर्जस्ती यौनशाेषण गर्ने गरेको पाइएको छ।
उनीहरूलाई दिल्ली प्रहरी, भारतस्थित नेपाली राजदूतावास, भारतीय समाजिक संस्था केआईएन इन्डियाले उद्धार गरेर नेपाल पठाएको हो। उनीहरूलाई सामाजिक संस्थाको संरक्षणमा राखिएको छ।
दुवै युवतीलाई तीन महीनाअघि दिल्ली पुर्याइएको पाइएको केआई इन्डियाका निर्देशक नवीन जोशीले बताए। जोशीका अनुसार दिल्लीको रोहिणीमा भाडाको घरमा उनीहरूलाई राखिएको थियो। उनीहरूलाई होटल तथा घरमा लग्ने गरेको पाइएको जोशीले बताए।
झ्यालबाट आफूहरूलाई उद्धार गर्न बाटोमा हिंडेका मान्छेलाई भनेका थिए। त्यसको आधारमा उद्धार गरिएको जनाइएको छ।
बेचबिखनमा संलग्न रहेको आरोपमा दुई जना भारतीय नागरिकलाई पनि पक्राउ गरिएको छ। अन्य दुई जना फरार छन्।