साझाको प्रदर्शनीमा चार रुपैयाँदेखि २८ सयसम्मका पुस्तक
साझा प्रकाशनको पुस्तक प्रदर्शनी आइतबार शुरू भएको छ।
पुस्तक प्रदर्शनीको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरेका छन्। साहित्यप्रति लगाव रहेको बताउँदै मेयर महर्जनले रुचि भएको पुस्तक अध्ययन गर्दा छोड्नै नसक्ने र आफूभित्र रहेको पाठकलाई मेयर पदले खलबल्याइरहेको बताए। उनले साझा प्रकाशनसँग सहकार्य गर्ने बताए।
प्रदर्शनीमा साझा प्रकाशनमा लामो समय व्यतीत गरेका अधिकांश पुस्तकका कभर डिजाइनर ९२ वर्षीय कलाकार टेकवीर मुखिया तथा नेपाली लोक नृत्य क्षेत्रमा विशिष्ट योगदान गरेका भैरवबहादुर थापाको उपस्थिति थियो। भैरवबहादुर थापाले हालै साझा प्रकाशनबाट प्रकाशित पुस्तक भैरव अल्फा साइन्स नृत्यको व्याकरण भएको र अन्तर्राष्ट्रिय स्तरमै नयाँ विधाको पुस्तक भएको बताए।
पुलचोकस्थित साझा प्रकाशनको केन्द्रीय कार्यालयसँगै बिर्तामोड, धरान, विराटनगर, राजविराज, जनकपुर, भरतपुर, पोखरा, नुवाकोट, बुटवल, दाङ र प्रदर्शनीमार्गस्थित बिक्रीकक्षमा पनि असोज ७ देखि २२ गतेसम्म प्रदर्शनी चल्नेछ।
प्रदर्शनीस्थलमा चार रुपैयाँ २५ पैसादेखि दुई हजार ८०० रुपैयाँसम्मका पुस्तक छन्। टेकबहादुर खत्रीको पञ्चायत आजको मूल्य चार रुपैयाँ २५ पैसा छ भने प्रा.नीलमणि ढुंगानाको व्युत्पत्तिमूलक संस्कृत-नेपाली शब्दकोशको मूल्य दुई हजार ८०० रुपैयाँ छ। ५०० भन्दा बढी पुस्तक प्रदर्शनीमा राखिएको साझाले जनाएको छ।