एमाले बागमतीको अध्यक्षमा पाँच दाबेदार
नेकपा (एमाले) बागमती प्रदेश कमिटीको नेतृत्वका लागि पाँच जना दाबेदार देखिएका छन्।
नेकपा (एमाले) बागमती प्रदेशको पहिलो अधिवेशन असोज ८ मा शुरू हुँदै छ। यसको सबै तयारी पूरा भएको छ भने उम्मेदवारका दाबेदार आन्तरिक प्रचारमा जुटिरहेका छन्।
प्रदेश अध्यक्षका लागि मकवानपुरका कृष्ण दाहाल दाबेदार देखिएका छन्। उनलाई एमाले नेता एवं पूर्व मन्त्री गोकुल बास्कोटाको साथ छ। उनी एमालेका पुराना नेता हुन्।
त्यस्तै, कैलाश ढुंगेल पनि अध्यक्षको तयारीमा जुटेका छन्। बागमती प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका ढुंगेललाई एमाले नेता महेश बस्नेतको साथ छ।
अर्का नेता केशव पाण्डे अध्यक्षको उम्मेदबार बन्ने भएका छन्। उनी वर्तमान अध्यक्ष हुन्। अहिले प्रदेश कमिटीमा बसेर काम गर्न धेरै समय नपाएकाले फेरि सर्वसम्मत नेतृत्व पाउनुपर्ने उनको भनाइ छ।
फेरि पाण्डेलाई सर्वसम्मत नेतृत्व दिन नसकिने एमाले नेताहरू बताउँछन्। सचिव विजय सुवेदी नेतृत्वमा दोहोर्याउन नसकिने बताउँछन्। उनी पनि अध्यक्षको दाबेदार छन्।
यसैगरी, बागमती प्रदेशका पूर्व सभामुख सानु श्रेष्ठ पनि एमाले प्रदेश अध्यक्षको दाबेदार देखिएका छन्। एमालेको पाँचौं महाधिवेशनदेखि केन्द्रीय सदस्य रहेका श्रेष्ठ पोलिटब्यूरो सदस्य भइसकेका छन्।
दाबेदार धेरै रहेकाले सहमतिको सम्भावना कमै रहेको एमाले नेताहरू बताउँछन्। लुम्बिनीमा जस्तै बागमतीमा पनि निर्वाचनबाट नेतृत्व टुङ्ग्याउने तयारी भइरहेको एक पोलिटब्यूरो सदस्यले बताए।
त्यस्तै, केन्द्रीय सदस्य रचना खड्का पनि सहमति जुट्न नसके लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुने अवस्थालाई सहज मान्नुपर्ने बताउँछिन्। “दुई महीने मिसन ग्रासरूट अभियानमा प्राप्त सुझाव पनि कार्यकर्ताप्रति उत्तरदायी हुने गरी लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरिनुपर्छ,” खड्का भन्छिन्।
बागमती प्रदेशकी पूर्व मन्त्री खड्का पनि प्रदेश अध्यक्षको दाबेदार हुन्। विद्यार्थी राजनीतिबाट आएकी खड्का आफूले प्रदेशको नेतृत्व पाउँदा देशभर सकारात्मक सन्देश जाने बताउँछिन्। “युवालाई भूगोलमा जोडेर जानुपर्छ र त्यसले पार्टीमा युवा आकर्षण बढाउँछ भन्ने पार्टीको नीति छ। मैले प्रदेशको नेतृत्व गर्दा त्यो सम्बोधन हुन्छ,” खड्का भन्छिन्, “अरू प्रदेशलाई हेर्दा पनि महिला नेतृत्वमा पुग्ने सम्भावना न्यून देखिन्छ।”
मतदानबाटै नेतृत्व टुङ्ग्याउनुपर्ने अवस्था आउन सक्ने आकलन गरेर प्रदेश अधिवेशनको बन्दसत्रको तालिका पनि सार्वजनिक गरिएको छ। निर्वाचन तालिकामा ‘सर्वसम्मत नेतृत्व छनोटको पहल गरिने, त्यसो नभएमा इलेक्ट्रोनिकल भोटिङ मशिन (राम–लक्ष्मण) को माध्यमबाट मतदान गरिने’ उल्लेख छ।
निर्वाचन तालिका अनुसार असोज ८ गते खुलामञ्चमा अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्नेछन्। असोज ९ गते प्रज्ञा भवनमा बन्दसत्र र असोज १० गते च्यासलस्थित केन्द्रीय कार्यालयमा नेतृत्व चयन हुनेछ।
सर्वसम्मतको प्रयास गरिने र सहमति नभएमा प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिने प्रदेश कमिटीका उपसचिव रत्न गुरुङ बताउँछिन्। उनी पनि सचिवको दाबेदार छिन्।
काठमाडौंमा हुन लागेको अधिवेशनका लागि एक हजार ८० प्रतिनिधि छनोट भएको प्रदेश अध्यक्ष केशवराज पाण्डेले बताए। छनोट भएका प्रतिनिधिमध्ये ३३ प्रतिशत महिला र १० प्रतिशत युवा छन्।
एमालेले प्रतिनिधि छनोटका लागि १२५ सदस्य बराबर एक जना प्रतिनिधि चयनको मापदण्ड तय गरेको थियो। दलिततर्फ ५० सदस्य बराबर एक जना प्रतिनिधि चयन भएका छन्। जनसंगठनमध्ये महासंघतर्फ तीन र संगठनतर्फ दुई जनाका दरले प्रतिनिधि चयन भएका छन्।
बागमतीमा एमालेले प्रदेश संगठन कमिटीको संख्या घटाउँदै छ। अहिले ४४७ सदस्यीय प्रदेश कमिटी रहेकोमा अब पाँच पदाधिकारी सहित २४० सदस्यीय कमिटी चयन हुनेछ।