लगानी प्रवर्द्धन गर्न नेपाल-चीन व्यवसाय परिषद् स्थापना गरिने
दुवै देशबीच लगानी र सहकार्य प्रवर्द्धन गर्न नेपाल-चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गरिने भएको छ।
आइतबार चीनमा नेपाल उद्योग परिसंघ (सीएनआई) र चाइना काउन्सिल फर प्रमोशन अफ इन्टरन्याशनल ट्रेड (सीसीपीआईटी) बीच यस सम्बन्धी समझदारी भएको छ। समझदारीपत्रमा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सीसीपीआईटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका अवसरमा सीएनआई र सीसीपीआईटीबीच समझदारी भएको हो। समझदारीसँगै नेपाल चाइना बिजनेस काउन्सिल मार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरको पूर्ण सम्भावनाको सदुपयोग गर्ने र दुवै देशका व्यावसायिक समुदायको विकासका लागि सहजीकरण हुने विश्वास गरिएको छ।
काउन्सिलले दुई देशबीच व्यावसायिक गतिविधिलाई सुव्यवस्थित गर्न, अनुसन्धान र अध्ययन-सम्बन्धित पहलहरू सञ्चालन गर्न, लगानी अभिवृद्धिका लागि नेटवर्किङका अवसरहरू सिर्जना गर्न, व्यावसायिक भ्रमण आदानप्रदान गर्न, सम्मेलन तथा संवाद लगायत गतिविधि गर्नेछ।
यी लक्ष्य प्राप्त गर्न परिसंघ र सीसीपीआईटीले काउन्सिलको गठन सहित सहकार्यको रोडम्याप तयार पारेका छन्। नेपाल चाइना बिजनेश काउन्सिलमा चार सदस्य रहनेछन् र प्रत्येक संस्थाबाट दुई जना प्रतिनिधि हुनेछन्।
परिसंघका अध्यक्ष अग्रवालले यस समझदारीले नेपाल-चीनबीच व्यावसायिक सम्बन्ध अभिवृद्धिसँगै चिनियाँ लगानी तथा प्रविधि भित्र्याउन नेपाल-चीन व्यावसायिक परिषद् महत्त्वपूर्ण माध्यम बन्ने बताए। परिषद्ले देखिने गरी प्रभावकारी रूपमा काम गर्ने उनको भनाइ छ।
समझदारी हस्ताक्षर कार्यक्रममा परिसंघका तर्फबाट निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरू निर्वाण चौधरी, भीम घिमिरे समेत सहभागी थिए।