चार वर्षमा सक्नुपर्ने राहुघाट आयोजना १४ वर्षमा पनि ढिलासुस्ती
नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण शुरू भएको १४ वर्ष बितिसक्दा पनि कहिले सम्पन्न हुने हो भन्ने टुङ्गो छैन।
भारतको एक्जिम ब्यांकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारको संयुक्त लगानीमा २०६६ सालमा आयोजना शुरू भएको थियो। तर, अहिलेसम्म ६० प्रतिशत मात्रै काम भएको छ।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ सालमा पुरानो ठेकेदार आइभीआरसीएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनीयरिङ प्रक्युमेन्ट एन्ड कन्ट्र्याक्ट (ईपीसी) प्रारूपमा आयोजना निर्माण अघि बढाइएको थियो। पहिलेको कार्यतालिका र सम्झौता अनुसार २०७० सालमा राहुघाटको निर्माण सकिनुपर्ने थियो।
२०७४ मंसीरमा सम्पन्न गर्ने गरी ६ अर्बमा ठेक्का सम्झौता गरेको भारतको सिभिल ठेकेदार जयप्रकाश एशोसियट् (जेपी)ले पनि निर्धारित समयभित्र आयोजना निर्माण सम्पन्न गर्न सकेको छैन। आयोजनाका व्यवस्थापक राज विष्टले हालसम्म समग्रमा ६० प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति भएको बताए।
“४५ महीनाको ठेक्का सम्झौताको म्याद भएको आयोजना सन् २०२३ जनवरीदेखि सञ्चालनमा ल्याउने लक्ष्य थियो,” विष्टले भने, “कोरोना महामारी र विपद्का कारण ठेकेदार कम्पनीले लक्ष्य अनुसार काम गर्न नसकेका कारण १७ अक्टोबर २०२४ सम्म ठेक्का सम्झौताको म्याद थप भएको छ।”
पुरानो ठेकेदार आइभीआरसीएलले आठ वर्षमा १० प्रतिशत काम गरेको थियो। २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न शुरू गरेको जेपी कम्पनीले हालसम्म पिप्लेमा ६१ मिटर गहिरो सर्चसाफ्ट, ३२९ मिटर वटम प्रेसर साफ्ट, ६५४ मिटर लामो चार वटै अडिट (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) र १९६ मिटर ठाडो सुरुङ निर्माण गरिसकेको छ। अडिट एकबाट बाँधतर्फ जाने ७५ मिटर लामो सुरुङ जोडिएको छ।
६ किलोमिटर २७० मिटर लामो सुरुङमध्ये हालसम्म पाँच किलोमिटर १६२ मिटर निर्माण सकिएको छ। एक हजार १०८ मिटर सुरुङ खन्न बाँकी छ। बाँध निर्माणस्थलमा अडिट एक, अँधेरीखोलामा अडिट दुई, पिप्लेमा अडिट तीन र तिल्केनी चौरमा अडिट चार खन्ने कार्य सम्पन्न गरी त्यहाँबाट सुरुङ निर्माण थालिएको आयोजनाले जनाएको छ।
रघुगंगा गाउँपालिका–४, दग्नाम र वाड नं. ५ को झिंको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पीआरओआर) प्रविधिको बाँध निर्माणको काम ६० प्रतिशत सकिएको छ। तिल्केनीचौरमा विद्युत्गृहको संरचना निर्माण तीव्रतासाथ भइरहेको छ।
घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युत्गृह र बाँधलाई सीधा सडकले जोडिएको छ। यसअघिका दुई वर्ष बुग्लको पहिरोका कारण बर्खा यामको चार महीना बाँध निर्माणको काम रोकिएको थियो। यस वर्ष बर्खा याममा पनि बाँध, सुरुङ र विद्युत्गृह निर्माणले निरन्तरता पाएको आयोजनाका व्यवस्थापक गणेश केसीले बताए।
प्राकृतिक विपद्, कोरोनाको महामारी र कालीगण्डकीबाट नदीजन्य निर्माण सामग्री उत्खनन गर्न नपाउनुलाई ठेकेदारले ढिलाइको कारण भनेको जनाएको छ। २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले विद्युत्गृहका उपकरण आयात गर्न थालेको छ।
भेलसँगको ठेक्का सम्झौताको म्याद सन् २०२४ नोभेम्बरसम्म थपिएको छ। आयोजनाले सन् २०२३ जनवरी ३१ देखि वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत् खरीद-बिक्री सम्झौता (पीपीए) गरेको थियो।
राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी करिडोर अन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो)को चार टावर तयार भएको छ। -रासस