खुकुरी प्रहारबाट एक जनाको मृत्यु, दुई घाइते
दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुरास्थित भगवती टोलका ३९ वर्षीय टेकबहादुर हमालले शनिबार दिउँसो गाउँकै ४३ वर्षीया रिता लामिछानेलाई खुकुरी प्रहार गरेका हुन्। घाँटीमा खुकुरी लागेकी लामिछानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसी बताए। हमालले रिताकै घर अगाडि खुकुरी प्रहार गरेको केसीले बताए।
उनले स्थानीय बासिन्दा ४५ वर्षीय वीरबहादुर हमाल र ६५ वर्षीया कमला हमाललाई पनि खुकुरी प्रहार गरेका थिए। दुवै जना घाइते भएका छन्। उनीहरूको राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार भइरहेको छ।
खुकुरी प्रहार गर्ने हमाललाई प्रहरीले पक्राउ गरेको छ। घरभित्र लुकेर बसिरहेका उनलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केसीले बताए।
घटनाको कारण खुलेको छैन। खुकुरी प्रहार गर्ने हमाललाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।