प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीबीच शनिबार अपराह्न हाङ्जाउमा शिष्टाचार भेटवार्ता भएको हो। भेटवार्तामा दुवै देशका प्रतिनिधिमण्डल पनि सहभागी थिए।
हाङ्जाउमा आजदेखि शुरू हुने १९औं एशियाली खेलकूद प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुन दाहाल शनिबार नै अमेरिकाबाट चीन पुगेका हुन्। उनी संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गर्न न्यूयोर्क गएका थिए।
एशियाली खेलकूद प्रतियोगिताकाे उद्घाटन समारोहमा सहभागी भएपछि प्रधानमन्त्री दाहाल चीनको राजधानी बेइजिङ पुग्नेछन्। बेइजिङमा सोमबार चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।
भेटवार्तापछि दाहालले चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन्। आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे पनि जानकारी लिने जनाइएको छ।
त्यस्तै, दाहालले चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष जाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ। त्यससँगै चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन-नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन्।
भ्रमणको अन्तिमतिर उनले नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमण गर्नेछन्। प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डल सहित असोज १३ गते स्वदेश फर्कनेछन्।