कतै बहँदै, कतै हराउँदै फिर्केखोला
अतिक्रमणको चपेटमा परेको पोखराको फिर्केखोला कतै ४० मिटरसम्म फैलिएको छ त कतै ३.३० मिटरमा खुम्चिएको छ भने कतै हराएको छ।
पोखराको फिर्केखोला अतिक्रमण गरि १६० वटा स्थायी तथा अस्थायी संरचना बनेको पाइएको छ। खोलाको क्षेत्र मिचेर व्यक्तिगत तथा संस्थाले नै संरचना बनाएका छन्। अस्थायी रुपमा बनेका संरचना व्यक्तिगत ९७ र संस्थागत १० छन् भने स्थायी संरचना व्यक्तिगत ३५ र संस्थागत १८ बनाइएका छन्।
दुई महीनादेखि पोखरा महागरपालिकाका अमिन वासुदेव पौडेलको संयोजकत्वको टोलीले फिर्केखोलाको वास्तविक आकार जाँच्न शुरू गरेको थियो। टोलीको प्रतिवेदनले व्यक्ति र संस्थाले पोखराको फिर्केखोला चर्को अतिक्रमण गरिरहेको निष्कर्ष निकालेको छ। टोलीले शनिबार पोखराका मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाएको छ।
संस्थागत रुपमा सशस्त्र प्रहरी बल तालिम केन्द्र, बराल समाज घर, पुन समाज घर, कुँवर समाज घर लगायतले फिर्के मिचेर अस्थायी संरचना खडा गरेको देखिएको छ। स्थायी संरचना बनाउनेमा लिटल स्टेप स्कूल, पोखरा इन्जिनीयरिङ कलेज, बराल समाज, सोँपाल समाज, पुन मगर समाजघर, क्रियापुत्री भवन, राधाकृष्ण मन्दिर छन्।
फिर्के खोलाको प्राविधिक नापजाँच टोलीले पश्चिमतर्फ ३०३ र पूर्वतर्फ २८५ वटा सीमा स्तम्भ गाडेको छ।
कस्तो छ फिर्के?
पोखराको अधेरीकुनामा शुरुआत बिन्दु रहेको फिर्केखोला पोखराका विभिन्न भागमा बग्दै लेकसाइड गाईघाटमा पुगेर फेवातालमा मिसिएको छ। पोखराका वडा नंं. १८, २, ४, ५, ६ ८, ७ र १७ भएर बग्ने फिर्केखोला आठ किलोमिटर लामो छ।
अतिक्रमणको चपेटमा परेको फिर्केखोला कतै बगेको छ त कतै अस्तित्व नै हराएको छ। फिर्केखोला बढीमा ४० मिटरसम्म फैलिएको छ भने कुनै ठाउँमा ३.३० मिटरमा खुम्चिएको छ। नाप जाँचका क्रममा मानवीय अतिक्रमणले फिर्केखोला साँघुरिँदा स्वतन्त्र रुपमा खोला बहन नसकेको निष्कर्ष निकालिएको संयोजक पौडेलले बताए।
दुई दशक अघिसम्म पानी पिउन योग्य रहेको फिर्केखोला अहिले पोखरेलीको डम्पिङ साइट बनेको छ। मानवीय अतिक्रमणसँगै प्रदूषित पनि भएको छ।
अस्तित्व नै समाप्त हुने जोखिम
प्राविधिक टोलीको अध्ययनले फिर्केखोलाको तत्काल संरक्षण नगरे अस्तित्व नै समाप्त हुने जोखिम रहेको औल्याएको छ। खोलामा बगेको विषाक्त पानीले कृषि उत्पादनमा ह्रास आइरहेको र भविष्यमा खाद्य संकटको सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ। फिर्केखोला मिसिने फेवातालको तल्लो भागमा खोलाहरूबाट बगेर जाने सिल्टेसनका कारण तालको भाग पुरिँदै गएको छ।
प्रतिवेदनले पर्यावरणको संरक्षणका लागि सचेतना अभिवृद्धि गर्न महानगरलाई सुझाव दिएको छ। साथै फिर्केसँग जोडिएका सार्वजनिक जग्गाको संरक्षण गरि भविष्यमा आउन सक्ने विपत्तिमा प्रयोग गर्ने गरि खुला स्थानको विकास गर्न सुझाएको छ।
प्रतिवेदन बुझ्दै मेयर आचार्यले महानगर फिर्के संरक्षणमा गम्भीर रहेको र अब कार्यपालिकाबाट निर्णय गराएर अघि बढ्ने बताए।