नेपाल सहित ४५ देशका १२ हजार खेलाडी प्रतिस्पर्धामा
चीनको हाङजाउमा आजबाट शुरू हुन लागेको १९औं एशियाली खेलकूद प्रतियोगितामा ४५ देशका १२ हजारभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दै छन्।
एशियाली खेलकूद प्रतियोगिता आज साँझ ५:४५ बजे उद्घाटन हुने भएको छ। उद्घाटन समारोहमा विभिन्न देशका खेलाडीले मार्च पास गर्नेछन्। त्यसमा नेपालको झन्डा तेक्वान्दो खेलाडी वीरबहादुर महरा र उसु खेलाडी नीमा घर्ती मगरले बोक्नेछन्।
असोज २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एशियाका चार देश सहभागी छैनन्। प्रतिस्पर्धा गर्ने देशमा अफगानिस्तान, बहराइन, बाङ्लादेश, भूटान, ब्रुनाई, क्याम्बोडिया, चीन, चाइनिज ताइपेई, हङकङ, भारत, इन्डोनेशिया, इरान, इराक, जापान, जोर्डन, कजाखस्तान, कुवेत, किर्गिस्तान, लाओस, लेबनान, मकाउ, मलेशिया, माल्दिभ्स, मंगोलिया र म्यानमार छन्।
त्यस्तै, उत्तर कोरिया, ओमन, पाकिस्तान, प्यालेस्टाइन, फिलिपिन्स, कतार, साउदी अरब, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, सिरिया, ताजकिस्तान, थाइल्यान्ड, टिमोर लेत्से, तुर्कमेनिस्तान, यूएई, उज्वेकिस्तान, भियतनाम र यमनका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
एशियाका ४८ देशमध्ये युक्रेन, रुस, बेलारुस र इजरायल प्रतियोगितामा सहभागी छैनन्। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले युक्रेनमा आक्रमण गरेकाले रुसलाई प्रतिबन्ध लगाएको छ। त्यस्तै, रुसको सहयोगी बेलारुसलाई पनि युक्रेन युद्धमा सघाएकाले आईओसीले प्रतिबन्ध लगाएको हो। विगतदेखि नै इजरायल एशियाली खेलकूद प्रतियोगिताबाट बाहिर रहँदै आएको छ। रूससँगको युद्धका कारण युक्रेन पनि प्रतियोगितामा सहभागी भएको छैन।
चीनले तेस्रो पटक यो प्रतियोगिता आयोजना गर्न लागेको हो। यसअघि सन् १९९० मा बेइजिङमा र सन् २०१० ग्वाङजाउमा एशियाली खेलकूद भएको थियो। सन् २०२२ मा आयोजना गर्ने तय गरिएको भए पनि कोभिड-१९ महामारीका कारण निर्धारित मितिमा हुन सकेको थिएन।
प्रतियोगितामा ६१ खेलमा प्रतिस्पर्धा हुनेछ। औपचारिक रूपमा शनिबार अपराह्न प्रारम्भ उद्घाटन हुने भए पनि क्रिकेट, फूटबल, भलिबल, बिचभलिबल लगायत खेल असोज २ गतेदेखि नै शुरू भइसकेका छन्।
प्रतियोगिताका उद्घाटनअघि शनिबार आयोजित स्वागत समारोहमा बोल्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले खेलकूदको माध्यमबाट शान्ति र एकता प्रवर्द्धन गर्न आह्वान गरेका छन्। साझा भविष्य भएका समुदायको सदस्यका रूपमा एशियाली राष्ट्रहरूले असल छिमेकी र पारस्परिक हितलाई प्रवर्द्धन गर्दै शीतयुद्धको मानसिकता त्यागेर विश्व शान्तिका निम्ति योगदान गर्नुपर्नेमा जोड दिएका छन्।
उनले भने, “एशियाली खेलकूदले एकअर्कालाई सांस्कृतिक रूपमा समेत समीप ल्याउँछ र एकअर्कालाई समृद्ध बनाउँछ। एशियाली संस्कृतिबाट एकअर्कालाई सिक्न, बुझ्न र एशियाली सभ्यता अनुभूत गर्न मद्दत पुग्नेछ।”