अमेरिकाबाट चीन पुगे प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल एक साता लामो भ्रमणका लागि शनिबार चीन पुगेका छन्।
चीनको हाङ्चाउ शहरको हाङजाओ विमानस्थलमा प्रधानमन्त्री दाहाललाई चीन सरकारका खेलकूद तथा सामान्य प्रशासन मन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका छन्। दाहाललाई स्वागत गर्न चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि विमानस्थल पुगेका थिए।
प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गरेर न्यूयोर्कबाट हाङ्चाउ पुगेका हुन्। प्रधानमन्त्री दाहालले शुक्रबार राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेका थिए।
प्रधानमन्त्री दाहाल चीनमा आयोजना गरिएको १९औं एशियाली खेलकूदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ। त्यस्तै, हाङ्जाउमा नै प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यसपछि प्रधानमन्त्री दाहाल चीनको राजधानी बेइजिङ पुग्नेछन्। बेइजिङमा सोमबार चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ।
भेटावार्तापछि दाहालले चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन्। आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे पनि जानकारी लिने जनाइएको छ।
त्यस्तै, दाहालले चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष जाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यसूची छ। त्यससँगै चीनस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन-नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्नेछन्।
भ्रमणको अन्तिमतिर उनी नेपालसँग सीमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमण गर्नेछन्। प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डल सहित असोज १३ गते स्वदेश फर्कनेछन्।