क्यान अध्यक्षमा फेरि चतुरबहादुर चन्द निर्वाचित
नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन्।
क्यानको अध्यक्षमा अर्को उम्मेदवारी नपरेपछि चन्द निर्विरोध निर्वाचित भएका हुन्। उनी फेरि क्यानको अध्यक्ष बनेका छन्।
अध्यक्षका लागि नेपाल क्रिकेट संघ, बर्दियाका अध्यक्ष विनयराज भण्डारीले उम्मेदवारी घोषणा गरेका थिए। तर, क्यानको निर्वाचनका लागि आज बिहान ९ः१५ देखि १०ः१५ बजेसम्म तोकिएको मनोनयन दर्ताको समयमा भण्डारीले उम्मेदवारी दिएनन्। त्यसपछि चन्द निर्विरोध निर्वाचित भएका हुन्।
त्यस्तै, उपाध्यक्षमा रोशनकुमार सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन्। तीनै पदमा एकल उम्मेदवारी परेको क्यानको निर्वाचित समितिले जनाएको छ।
अन्य पदका लागि भने निर्वाचन हुने भएको छ। क्यानको सचिवमा राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्काले उम्मेदवारी दिएका छन्।
त्यस्तै, सचिवमा प्रशान्तविक्रम मल्ल पनि उम्मेदवार छन्। मल्ल यसअघि पनि सचिव थिए। क्यानमा विवाद भएपछि उनले राजीनामा दिएका थिए।
क्यान निर्वाचनमा ८४ मतदाता छन्। आजै मतदान हुने निर्वाचन समितिले जनाएको छ।