डिजिटल जमानामा किन आवश्यक छ हस्तलेखन?
टाइपिङका आफ्नै विशेषता छन्, तर विषय बुझ्न र स्मृतिमा राख्न हस्तलेखन नछुटाएकै राम्रो।
चिया गफमा वा कुनै कक्षामा। कल्पना गर्नुहोस्, निकै घतलाग्दो कुरा सुन्नुभयो। लाग्यो- यो त टिपेर राख्नुपर्ने विषय हो।
के गर्नुहुन्छ? मोबाइल वा ट्याब निकालेर टाइप गर्नुहुन्छ कि कलमले कागजमा लेख्नुहुन्छ?
अचेल धेरै जनाको बानी फेरिइसकेको छ। कमैले मात्र कलम, कागज बोक्ने गर्छन्। प्रविधिले सजिलो बनाइदिएकाले नबोके पनि हुने भएको छ। तर, यसरी लेख्ने बानी नगर्दा हुने जोखिम पनि उत्तिकै छ।
त्यसो त नयाँ प्रविधि अभ्यासमा आउँदा त्यसप्रति शङका र गुनासो सधैं हुने गर्छ।
झन्डै दुई हजार ४०० वर्षअघि ग्रीक दार्शनिक सुकरातको लेख्ने अभ्यासप्रति ठूलो आपत्ति थियो। सुकरात भन्थे, ‘लेख्ने बानीले विद्यार्थीलाई हानि गर्छ। कुनै पनि विषय लेखेर राख्दा विचार संग्रहित हुने भएकाले कण्ठ पार्नु नपर्दा विद्यार्थीलाई नोक्सान हुन्छ।’
उनको त्यो असन्तुष्टि धेरै हदसम्म नयाँ प्रविधि स्विकार्न नसक्ने पुराना पुस्ताका मान्छेको स्वभावकै निरन्तरता थियो।
दुई सहस्राब्दीमा समय बदलियो। प्रविधिको विकाससँगै नयाँ बहस शुरू भएको छ। कम्प्युटर वा अन्य डिजिटल माध्यममा टाइप गर्ने बानीले हस्तलेखन गर्ने बानी हराउँदै गएको छ। खासगरी नयाँ पुस्तामा कम्प्युटर, ट्याब वा मोबाइलमा टिपोट गर्ने बानी विकास हुँदै गएको छ।
अध्ययनहरूले भने यो बानी हानिकारक हुन सक्ने देखाएका छन्। कुनै पनि विषय बुझ्न हातैले लेख्ने बानी नै प्रभावकारी हुने अध्ययनको निचोड छ। हस्तलेखन गर्दा शब्दहरूको पुनः स्मृति हुने र तिनले बोक्ने विचार पर्गेल्न सघाउने अध्ययनले देखाएका छन्।
कलम वा पेन्सिलले लेख्दा अक्षरका बनोटको आकारदेखि हिज्जेसम्मले स्मृति बढाउँछ। शब्दलाई कागजमा उतार्दा मस्तिष्कमा त्यसले निर्माण गर्ने दृश्य बन्दै जान्छ। त्यसैले कुनै पनि नयाँ शब्द सिक्दा लेख्नु नै उत्तम हुन्छ।
सन् २०१४ मा प्याम म्युलर र ड्यानी ओपनहाइमरले गरेको अध्ययनमा विद्यार्थीले कुनै पनि टिपोट गर्नुपर्यो भने हातले लेख्दाभन्दा टाइप गर्दा दोब्बर छिटो गर्ने गरेको पाइयो। मानिसले त्यही गतिमा कुनै पनि विषय बुझ्न नसक्ने भएकाले टाइप गर्दा बुझाइ कमजोर हुने ती अनुसन्धाताको ठम्याइ थियो।
पक्कै पनि हातले लेख्दा ढिलो हुन्छ, तर त्यसले लेखिरहेको मानिसलाई सुनेको वा पढेको विचार आफ्नो भाषामा संश्लेषण गर्न उत्प्रेरित बनाउँछ। यसले लेख्दालेख्दै विषय बुझ्ने अभ्यास विकास हुन्छ।
अध्ययनका क्रममा टाइप गरेर नोट टिपोट गर्ने विद्यार्थीलाई पनि त्यही विषयबारे आफ्नै भाषामा लेख्न लगाइएको थियो। तर, लेखेर नोट टिपोट गर्ने विद्यार्थीले जति राम्रोसँग ती विषय प्रस्तुत गर्न सके, त्यति प्रभावकारी ढङ्गले टाइप गरेर टिपोट गर्नेहरूले सकेनन्।
अरू अध्ययनहरूले पनि हस्तलेखनका फाइदा पुष्टि गरेका छन्। त्यसैले त नीतिनिर्माताले पनि नोट टिपोट गर्न थालेका छन्।
हस्तलेखनको फाइदा विचार गरेरै अहिले विकसित मुलुकमा त्यसैमा जोड दिन थालिएको छ। सन् २०१० देखि अमेरिकाको पाठ्यक्रममा पहिलो कक्षापछि (करीब ६ वर्षको उमेर) हस्तलेखनलाई जोड दिइन छोडेको थियो। अहिले अमेरिकाका २५ भन्दा बढी राज्यले हस्तलेखनमा जोड दिन थालेका छन्। अनुसन्धाता र हस्तलेखनका समर्थकहरूको अभियानका कारण यो सम्भव भएको हो।
त्यस्तै, स्वीडेनमा पनि हस्तलेखन र छापिएकै किताबमा जोड दिन थालिएको छ। बेलायतको राष्ट्रिय पाठ्यक्रममै सात वर्षको उमेरदेखि हस्तलिपिको सिकाइ समावेश गरिएको छ।
हस्तलेखनलाई जोड दिने क्रममा अमेरिकाका कतिपय विद्यालय त ल्यापटपमै प्रतिबन्ध लगाउने तहसम्म पुगेका छन्। त्यो चाहिं अति नै हो। केही विद्यार्थी त हस्तलेखन नै गर्न नसक्ने समस्याबाट गुज्रिरहेका हुन्छन्।
फेरि सबैले कुनै न कुनै वेला टाइपिङ त सिक्नैपर्छ। टाइपिङका आफ्नै फाइदा पनि छन्। मनमा आएका विचार विस्मृतिमा पुग्न नपाउँदै मोबाइलमा टिप्न सकिन्छ। सधैं कागज, कलम खोज्न त सम्भव पनि हुँदैन नि!
त्यसैले विज्ञहरू टाइपिङको विपक्षमा छैनन्। उनीहरूले केवल हस्तलेखनलाई जोड दिइरहेछन्। तिनैमध्येकी एक हुन्, वाशिङटन विश्वविद्यालयमा मनोविज्ञानकी प्राध्यापक भर्जिनिया बर्निंगर।
लामो समयदेखि बर्निंगरले हस्तलेखनको पैरवी गर्दै आएकी छन्। तर, उनी टाइपिङको विरोधी होइनन्। उमेर बढ्दै जाँदा विद्यार्थीले धेरै समय डिजिटल सामग्रीमा खर्च गर्ने भएकाले विद्यालय कक्षापछि कहिलेकाहीं मात्रै हस्तलेखन गरे पनि हुने उनको तर्क छ।
आखिर प्रविधिको आफ्नै विशेषता छ। उदाहरणका लागि सुकरातकै कुरा गरौं। उनले लेखनको जतिसुकै विरोध गरे पनि उनका चेला प्लेटोले उनीबारे नलेखिदिएको भए कसले उनलाई सम्झिरहन्थ्यो र!
(द इकोनोमिस्टको १६-२२ सेप्टेम्बर, २०२३ को अङ्कमा प्रकाशित लेखको आधारमा तयार पारिएको सामग्री।)