बाल सुधारगृहबाट भागेका चार जना अझै भेटिएनन्
बाँकेको डुडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बाल सुधारगृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये चार जना अझै भेटिएका छैनन्।
उनीहरूको खोजी गर्न प्रहरी परिचालन गरिएको बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डीएसपी नारायण डाँगीले बताए। बाल सुधारगृहको स्थिति सामान्य भइसकेको उनले बताए। झपडमा उत्रिएका दुवै समूहसँग छलफल र संवाद गरेर सुधार गृहभित्रको वातावरण सामान्य बनाउने प्रयास भइरहेको उनको भनाइ छ।
असोज ४ गते राति सुधार केन्द्रभित्र झडप भएको थियो। झडपका क्रममा ३४ कैदी बाहिर निस्किएका थिए। उनीहरूमध्ये ३० जनालाई नियन्त्रणमा लिएर सुधारगृहमै पठाइएको डीएसपी डाँगीले बताए। सुधारगृहमा २५४ जना कैदीबन्दी बस्दै आएका थिए।
डीएसपी डाँगीका अनुसार असोज ४ गते राति दुई समूहबीच झडप हुँदा सुधारगृह भवनका रेलिङ र पर्खाल भत्काएर उनीहरू भागेका थिए। उनीहरूले कार्यालयमा तोडफोड समेत गरेका थिए। तोडफोडबाट सुधारगृह भवनका झ्यालका सिसा, कार्यालयभित्र रहेको कम्युटर लगायत सामानमा क्षति पुगेको छ।
झडप एक जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए। रुपन्देहीको कञ्चन गाउँपालिका-४ का २१ वर्षीय सुलभ केसीको उपचारका क्रममा मृत्यु भएको डीएसपी डाँगीले बताए। उनी अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणीको कसूरमा सजाय काटिरहेका थिए।
घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको छ। उपचार गराइरहेकामध्ये एक जनाको अवस्था गम्भीर रहेको र आठ जनाको अवस्था सुधारोन्मुख रहेको डीएसपी डाँगीले बताए।