‘हामीकहाँ प्राचीन अभिलेख पढ्न सक्ने अध्येताकै खडेरी छ’
“कागजातमा जम्ने धूलोमा पनि कीरा र ढुसीका फूल हुन्छन्। हाम्रो अभिलेखालय वरिपरि खुला ढल–नाली छन्। त्यहाँबाट निस्कने ग्यासमा हुने सल्फ्युरिक अम्ल, नाइट्रिक अम्ल आदिले कागजातमा क्षति पुर्याउन सक्छन्।”
गृहमान सिं श्रेष्ठ लामो समयदेखि पुरातात्त्विक सम्पदा र अभिलेख संरक्षणका क्षेत्रमा सक्रिय छन्। राष्ट्रिय अभिलेखालयमा झन्डै ४२ वर्ष बिताएका उनले २०६६ असारमा वरिष्ठ रसायनविद्का रूपमा अवकाश लिएका थिए। २०३१ साउनमा वनस्पति विभागको तत्कालीन शाही औषधि अनुसन्धानशालाबाट सरकारी सेवा थालेका उनी २०३७ चैत २० मा अभिलेखालय पुगेका हुन्। नेपालमा पुरातात्त्विक अभिलेख संरक्षणको अवस्था, राज्यको नीति, चुनौती र सम्भावनाबारे उनीसँग गोविन्द न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश:
राष्ट्रिय अभिलेखालयमा लामो समय काम गर्नुभयो। सेवानिवृत्तिपछिका दिन कसरी बित्दै छन्?
म अभिलेखालय पुग्दा शुरूमा काम गर्ने कोठा समेत थिएन। म गएपछि नै रसायन प्रयोगशाला स्थापना गरियो। त्यहाँबाट संरक्षण सम्बन्धी थप तालीम तथा उच्च शिक्षाका लागि भारत (लखनउ), मलेशिया र बेलायत जाने अवसर पाएँ। फर्केपछि पनि करीब २८ वर्ष अभिलेखालयमै काम गरें।
२०६६ असार ७ मा अवकाश लिएपछि पनि अभिलेखालयमा विज्ञका रूपमा सक्रिय छँदै छु। यससँगै राष्ट्रिय संग्रहालय, हनुमानढोका दरबार हेरचाह अड्डा, पुस्तकालय, मठमन्दिर आदिको संरक्षणमा आफूले जानेको सीप सिकाउँदै छु। लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘म्यूजियोलोजी’ अध्यापन पनि गर्छु।
इतिहास अन्वेषणमा अभिलेखहरूको महत्त्व कस्तो हुन्छ?
पुराना कागजात संरक्षण गरेपछि नै तिनमा रहेका ऐतिहासिक तथ्य उजागर हुने हुन्। जस्तो- निजामती किताबखानाबाट आएको अति जीर्ण दस्तावेजमा काठमाडौं उपत्यकाभरिका पुराना कर्मचारीको वैयक्तिक विवरण– नाम, तलबमान, पद आदि पाइयो। यसबाट उक्त अवधिमा कुन कार्यालयमा को कर्मचारी रहेछन् भन्ने थाहा भयो। सन्धिपत्र, लालपुर्जा, नक्शा आदि पनि इतिहास लेखनका महत्त्वपूर्ण आधार हुँदा रहेछन्।
अभिलेख संरक्षणमा राज्यको भूमिका कस्तो छ?
मुख्य कुरा त राज्यले अनुसन्धाता नै उत्पादन गर्न सकेको छैन। यसका लागि विश्वविद्यालय तहबाटै काम हुनुपर्छ। पाठ्यक्रममै इतिहास संरक्षणका विषय समेटेर अध्ययन–अध्यापन गराइनुपर्छ। विश्वविद्यालयमा ‘अर्काइभिङ’ को छुट्टै विभाग आवश्यक देखिन्छ। ताकि त्यहाँबाट उत्पादित विद्यार्थी अभिलेखालयमा गएर इतिहास सम्बन्धी अनुसन्धान गर्न सकून्। तिनले स्थानीय अभिलेखको अन्वेषण तथा प्रकाशनमा पनि योगदान गर्न सक्छन्।
सभ्यता र संस्कृतिको विकासमा मल्लकाल नेपाली इतिहासकै स्वर्णयुग रहेको तर तत्कालीन अभिलेखहरूको सही अध्ययन नहुँदा यो पाटो ओझेल परेको तर्क पनि सुनिन्छ नि?
अध्येताको अभावले नै यस्तो हुने हो। दस्तावेजले मल्लकाल स्वर्णयुग रहेको सङ्केत गर्छन्। तर, यसलाई पुष्टि गर्न त्यति वेलाका सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, राजनीतिक सहित समग्र पक्ष उजागर गर्ने हजारौं अभिलेखको गहिरो अध्ययन हुनैपर्छ।
पहिले पहिले अभिलेखालयमा विदेशी अनुसन्धाताको भीड लाग्थ्यो। तर, यहाँका दस्तावेज ‘माइक्रोफिल्मिङ’ गरेर पठाइएपछि उनीहरू आफ्नै देशमा बसेर पढ्न थाले। नेपालीहरूमा भने इतिहासप्रति नै अरुचि भएर हो वा के हो, अध्येता निकै कम छन्। अभिलेख सम्बन्धी ज्ञान नहुँदा पनि यस्तो भएको हुन सक्छ।
केकस्ता वस्तु अभिलेखीय मानिन्छन्?
सामान्यतः सरकारी, अर्धसरकारी वा अन्य आधिकारिक संस्थाले कामकाजका सिलसिलामा उत्पादन गरेका कागजातलाई अभिलेखीय भनिन्छ। यस्ता वस्तु परम्परागत र आधुनिक गरी दुई किसिमका हुन्छन्। भोजपत्र, छाला आदिमा लेखिएकालाई परम्परागत अनि माइक्रोफिल्म, फोटोग्राफ आदिलाई आधुनिकमा राखिन्छ। अभिलेखालय सम्बन्धी अन्तर्राष्ट्रिय परिभाषामै आधारित मान्यता हो यो। नेपालको सन्दर्भमा चाहिं अभिलेख ऐन– २०४६ अनुसार राष्ट्रिय महत्त्व राख्ने कुनै पनि कगजात अभिलेख हो। ताडपत्र, ग्रन्थ, हुलाक टिकट, नक्शा तथा सरकारले उत्पादन गरेका दस्तावेज (२५ वर्षभन्दा पुराना)लाई अभिलेखीय वस्तु भनिन्छ।
हामीकहाँ नीलपत्र, ताडपत्र, शिलापत्र आदिमा लेखिएका अभिलेख पनि उपलब्ध छन्। छैटौं–सातौं शताब्दीदेखिका ताडपत्र, दशौं शताब्दीको मानिने कारण्यव्यूह सूत्र पुस्तक पनि छ। यो कागजमा लेखिएको नेपालकै सबैभन्दा पुरानो पुस्तक (उपलब्धमध्ये) मानिन्छ। केही तिब्बती ग्रन्थ पनि संरक्षित छन्।
संरक्षित सबै अभिलेख पाठकको सहज पहुँचमा हुन्छन्?
कुनै कागजात समुदायले हेर्न मिल्ने हुन्छ त कुनै नमिल्ने। सार्वजनिक नरहेका यस्ता कागजात हेर्न सम्बद्ध मन्त्रालयबाट स्वीकृति लिनुपर्ने हुन्छ। सर्वसाधारणले हेर्न मिल्ने ग्रन्थ चाहिं विशेष प्रक्रिया पूरा गरेपछि अध्ययन अनुसन्धान गर्न पाइन्छ। पुराना अभिलेखीय ग्रन्थ पनि पाठकले सीधै हेर्न पाउँदैनन् किनकि नियन्त्रित र व्यवस्थित वातावरणमा राखिएका ग्रन्थलाई बाहिरी वातावरण तथा तापमानले असर पार्ने जोखिम रहन्छ। तर, ‘माइक्रोफिल्मिङ’ गरिएपछि पाठकलाई मूलप्रति नदिईकन पनि पढाउन सकिने अवस्था बनेको छ।
पुरातात्त्विक संरचना र दस्तावेज केकस्ता जोखिममा रहन्छन्?
अहिलेसम्मका घटनाक्रम हेर्दा प्रदूषित वातावरण, रासायनिक प्रभाव, आगलागी, बाढी तथा गृहयुद्ध आदिले सम्पदा र दस्तावेजमा क्षति पुग्न सक्ने देखिन्छ। अभिलेख समुचित किसिमले संग्रह नगरिनु, तापमान वा आर्द्रता नमिलाइनु, प्रकाश संयोजन व्यवस्थित नहुनु पनि क्षतिकारक पाइएको छ। प्रकाश नमिल्दा पुरातात्त्विक वस्तुको रङ खुइलिई मौलिक स्वरूप नै परिवर्तन भइदिन्छ। तापमान र आर्द्रता नमिल्दा कीरा अनि ढुसी पर्न सक्छ।
कागजातमा जम्ने धूलोमा पनि कीरा र ढुसीका फूल हुन्छन्। हाम्रो अभिलेखालय वरिपरि खुला ढल–नाली छन्। त्यहाँबाट निस्कने ग्यासमा हुने सल्फ्युरिक अम्ल, नाइट्रिक अम्ल आदिले कागजातमा क्षति पुर्याउन सक्छन्। पेट्रोलबाट चल्ने गाडी पनि जोखिमयुक्त हुन्छन्। पेट्रोलबाट उत्पादित सल्फर तथा नाइट्रोजन जस्ता ग्यास हावाको माध्यमबाट अभिलेखीय वस्तुसम्म पुग्छन्।
मुसाले पनि कागजात काटेर नाश गरिदिन्छ। अर्कातिर कागज उत्पादन गर्दा नै पनि ‘एलम’ आदि रसायनको प्रयोग गरिएको हुन्छ जसले कालान्तरमा अभिलेख बिगारिदिन्छ। मसीमा हुने ‘आइरन सल्फेट’ तथा ‘कपर सल्फेट’ पछि अम्लमा परिणत भई कागज प्वाल पारिदिन्छ। कमजोर गुणस्तरको कागजमा पाइने ‘लिग्निन’ नामक तत्त्व पनि अम्लमा परिणत भइदिन्छ। जस्तै- गोरखापत्रलाई केही समय घाममा राखिए त्यो पछि गएर पहेंलो हुनुको कारण यही हो। मानवीय असावधानीले हुने अन्य क्षति त छँदै छन्। जस्तै- सिंहदरबार तथा सेङ्बोचे गुम्बाका धेरै अभिलेख आगलागीबाट नाशिएको इतिहास छ। भवनभित्रै विद्युतीय तार शर्ट भएर पनि आगलागी हुन्छ।
यद्यपि अभिलेखालयका हकमा आधुनिक वातानुकूल प्रविधिले बाहिरी वातावरणीय प्रभाव रोक्न केही भूमिका खेलेको छ। भवन भूकम्प प्रतिरोधी भएकाले छेवैको सडकमा गुड्ने गाडीको कम्पनले पनि खासै असर गर्दैन।
ऐतिहासिक दस्तावेज संरक्षणमा अपनाइँदै आएका विधि कस्ता छन्?
विगतका संरक्षण इतिहास हेर्दा गीर्वाणयुद्धविक्रम शाहको पालामा ग्रन्थहरूलाई कीरा तथा पानीबाट जोगाउन बासा ( कपडा)ले बेर्ने, हरिताल लेपन गर्ने आदि प्रसङ्ग पाइन्छ। भारतीय अभिलेखालयबाट प्रकाशित लेखमा रातो कपडाले बेर्दा किताबमा कीरा नलाग्ने उल्लेख छ। बेसारको झोलमा डुबाइएको कपडामा राख्नु अर्को रैथाने विधि हो। बेसारमा डुबाइएको कपडालाई शुरूमा छायामा सुकाइन्छ ताकि बेसारमा रहेको कीरा मार्ने तत्त्व घामले ननाशियोस्। चन्द्रशमशेरका पालामा यस्तो कपडामा किताब बेरेर राखिएको पाइएको छ। चामलको पीठोको माडमा हरितालको पाउडर मिलाएर कागजमा दल्ने अर्को विधि पनि छ।
नेपालमा अभिलेखहरूमा कीरा तथा ढुसी लाग्ने समस्या बढी देखिने भएकाले ‘फ्युमिगेसन’ अर्थात् कीरा मार्ने विधिलाई बढी जोड दिइन्छ। यसका लागि नीमको पात, बोजो, लसुन, मयूरको प्वाँख आदि प्रयोग गर्ने चलन पहिल्यैदेखिको हो।
यूरोपतिर चाहिं रसायनले कागजात नाशिने समस्या बढी हुने भएकाले ‘डिएसिडिफिकेशन’ विधि अधिक प्रचलनमा छ। यो भनेको कागजबाट त्यसलाई क्षति पुर्याउने एसिड हटाउने विधि हो। त्यता कपूर र अन्य विषादी पनि उपयोग गरिन्छन्।
नेपालमा अहिले आधुनिक र प्राचीन दुवै विधि प्रयोगमा छन्। सैनिक अभिलेखालयका कागज संरक्षणमा टिमुर राखेर कीरालाई भगाउने पद्धति प्रयोगमा छ। कतै कपूर पनि प्रयोग हुन्छ।
मठमन्दिर, गुम्बा, विहार, छ्योर्तेन आदिको संरक्षणमा चाहिं केकस्ता सावधानी आवश्यक पर्छन्?
यस्ता स्मारकको निर्माण काठ, ढुंगा, इँटा तथा धातु लगायत विभिन्न सामग्रीबाट हुने भएकाले समस्या पनि फरक फरक देखिन सक्छन्। जस्तो- काठका सन्दर्भमा त्यो कुन प्रकृतिको भन्ने पहिचान गरिनुपर्छ। कमला काठ कीराले सजिलै धुल्याइदिन्छन्। अग्राखको काठमा कम क्षति हुन सक्छ।
ढुङ्गे सम्पदामा पानी र चिसोको कारण लेउ, झ्याउ आदि उम्रेर क्षति पुग्छ, पीपल र अन्य रूख उम्रिएर भत्किने जोखिम पनि हुन्छ। यिनमा जथाभावी इनामेल र रङ पनि लेपन गर्न हुन्न।
इँटाले बनेका संरचनामा ‘साल्ट’ र ‘क्याल्सियम अक्साइड’ बीचको प्रतिक्रियाले कालान्तरमा सेतोपन आउन थाल्छ। अक्सर आगोमा पोलेर बनाइने माटोका सामग्रीमा यस्तो हुन्छ। सुनको जलप नलगाइएका, तामाबाट निर्मित सम्पदामा अम्लयुक्त वस्तुले सफाइ गर्दा हरियोपन आउने समस्या देखिने गरेको छ। तामाका वस्तुलाई खुला ठाउँमा राख्दा ‘सल्फर ग्यास’ का कारण कालोपन पनि देखिन्छ।
सम्पदा संरक्षणमा न्यूनतम हस्तक्षेपको सिद्धान्त भनेको के हो? यस क्रममा अभिलेखको अपूर्ण भाग, शब्द वा अक्षर थपघट गर्न मिल्छ कि मिल्दैन?
अभिलेखीय सम्पदा संरक्षण गर्दा ‘मिसिङ’ भएका कागजात पहिलेकै रूपमा राख्नुपर्ने हुन्छ। अहिलेको परिप्रेक्ष्यमा हेर्दा हिरण्य महाविहारमा प्रज्ञापारमिताको काम गर्दा अक्षरहरू थपिएको देखिन्छ। यस्तो काम पनि विशेषगरी मलमासमा विशेषतः तान्त्रिक विधिबाट क्षमापूजा गरेर मात्र गरिन्छ। काम पूरा भएपछि ग्रन्थलाई प्राणप्रतिष्ठा गरेर मात्र यथावत् राखिन्छ। मठमन्दिर संरक्षणका सन्दर्भमा संरक्षणमा खटिएको मान्छेबाटै प्राणप्रतिष्ठा गराइन्छ। अभिलेखालयमा भने यस्तो थपघट गर्ने काम हुँदैन। अभिलेख ऐनले पनि यसमा बन्देज लगाएको छ।
चित्रकलाका हकमा आधुनिक रङको बढ्दो प्रयोगले कस्तो असर पारिरहेको छ?
पहिलेका चित्रमा रङ त्यति उडेको देखिंदैन। अहिले पानीरङ बढी प्रयोग भएका चित्रमा चाहिं समस्या छ। यस्ता चित्रमा ५० ‘लक्स’ भन्दा बढी प्रकाश पर्ने बित्तिकै रङ उड्ने सम्भावना हुन्छ। प्रकाशले रङमा हुने यौगिकलाई छुट्याइदिंदा रङ परिवर्तन पनि हुन सक्छ। जस्तो- रातो रङमा प्रकाश पर्दा त्यो फुस्रो भइदिन्छ। पहिलाका चित्रमा प्रकाशले असर नपार्ने रङ प्रयोग हुने भएकाले ती सयौं वर्षसम्म जस्ताको तस्तै रहन्छन्। छाउनी संग्रहालयमा रहेका चित्रकला तथा हनुमानढोका दरबारमा रहेको पृथ्वीनारायण शाहको शयनकक्षका चित्रकलामा रङ परिवर्तन नहुनुको कारण यही हो।
राष्ट्रिय अभिलेखालयभित्र पुराना दस्तावेजको व्यवस्थापन कसरी हुँदै आएको छ?
अभिलेखमा मानवीय कारणले हुने क्षति कम गर्न ‘म्याग्नेटिक डोवर’, ‘सीसीटीभी’, ‘अलार्म’ आदिको व्यवस्था गरिएको छ। आगलागीबाट जोगाउन ‘स्मोक डिटेक्टर’ राखिएको छ। प्रकाश संयोजनका लागि झ्यालहरूको व्यवस्थापनमा ध्यान दिइएको छ। वातानुकूल प्रविधिबाट तापक्रम र आर्द्रता मिलाइएको छ। अभिलेखालयभित्रको तापक्रम १८ देखि २४ डिग्री सेन्टिग्रेडसम्म र सापेक्षिक आर्द्रता ५५ं देखि ६५ं बीच हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ।
कीरा लाग्न नदिन ठाउँ ठाउँमा कपूर र मुसा लाग्न नदिन ‘रेटिनोल’ औषधि राखिन्छ। फंगस नियन्त्रण गर्न दैनिक ‘लाइजोन’ ले भुइँ पुछिन्छ। ग्रन्थमा जमेको धूलो भ्याकुम क्लिनरले सफा गरिन्छ। कुनै कागजात च्यातिइहाले परम्परागत र आधुनिक दुवै विधिबाट मर्मत गरिन्छ। मूल दस्तावेज पटक पटक चलाइरहन नपरोस् भनेर ‘माइक्रोफिल्मिङ’ गरिएको छ।
संरक्षणकर्मीको वृत्तिविकासको अवस्था चाहिं कस्तो छ?
अभिलेखालयमा खासगरी पदकै समस्या छ। रसायन संरक्षण सम्बन्धी काममा एक जनाको मात्र दरबन्दी छ।
सबैभन्दा पहिले त दरबन्दी बढाइनुपर्यो। साथै माथिल्ला पदमा पुग्ने व्यवस्था हुनुपर्छ। पदोन्नतिको सम्भावना नहुँदा कर्मचारी त्यहाँ बस्न मान्दैनन्। यसका लागि अलग्गै सेवा समूहको व्यवस्था हुनुपर्छ। यसमा राज्यले पनि ध्यान दिनुपर्यो। पहिलो कुरा त अभिलेखालय संरक्षण सम्बन्धी ऐन सबै सरोकारवाला निकायले पालना गर्नुपर्यो। नत्र यसको उपादेयता कमजोर हुन्छ।