सरकार र आन्दोलनरत शिक्षकबीच सहमति
तीन दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएको छ।
गृह मन्त्रालयमा सरकारी वार्ता टोली र आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्। संसद्मा दर्ता गरिएको विद्यालय शिक्षा विधेयक संशोधन गर्ने सहमति भएको हो।
शिक्षक महासंघका प्रतिनिधिसँग कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतले छलफल गरेका हुन्। छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री शर्माले शिक्षकले राखेका मूलभूत विषयमा सहमति भएको बताइन्।
“शिक्षकका माग अनुसार विधेयक संशोधन गर्न सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। त्यसमा शिक्षकहरू सहमत छन्,” शर्माले भनिन्।
विधेयक संशोधनका लागि महासंघका प्रतिनिधि सहितको कार्यदल बन्ने भएको छ। त्यसले दिने सुझावका आधारमा विधेयक संशोधन गरिनेछ। यससँगै शिक्षकको आन्दोलन फिर्ता लिने सहमति भएको छ।
सरकारले संसद्मा दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोध गर्दै देशभरका शिक्षक आन्दोलनमा उत्रिएका थिए। देशका विभिन्न भागबाट काठमाडौं आएका शिक्षकले दैनिक प्रदर्शन गर्दै आएका थिए। शिक्षक आन्दोलनमा उत्रिएपछि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प छ।