‘प्रेम विनाको यौन अपराध हो’
‘आफूलाई परिवर्तन गर्नका लागि पढ्नुपर्छ। स्कूल, कलेज र विश्वविद्यालयमा पढेर डिग्री हासिल होला, तर चेतनशील हुन सकिंदैन।’
छुटेका अनुहार कृतिबाट पद्मश्री पुरस्कार प्राप्त गरेका लेखक रमेश सायनको हालै अन्तर उपन्यास आएको छ। यसमा सायनले समलिङ्गी पुरुषको कथा उधिनेका छन्।
उनको भागेर भूगोलभरि कवितासंग्रह पनि प्रकाशित छ। नयाँ उपन्यास अन्तरसँगै लेखन यात्राबारे हिमालखबरको प्रस्तुति किताबका कुरामा उनै लेखक सायनसँग सागर बुढाथोकीले गरेको कुराकानीः
यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई केन्द्रमा राखेर नेपालमा धेरै लेखिएको छैन। यो समुदायको कथा लेख्न के कुराले प्रेरित गर्यो?
समाजमा लैङ्गिक, जातीय, वर्गीय लगायत विभेद यथावत् छन्। अझ अल्पसंख्यक तथा फरक लैङ्गिक विशेषता भएका मानिसलाई हेर्ने दृष्टिकोण, उनीहरूको पहिचान र आत्मसमानको विषयलाई नेपाली समाजले स्विकारेको छैन। अझै पनि सन्तानको लैङ्गिकतालाई प्रतिष्ठासँग जोडेर हेरिन्छ।
छोराछोरीभन्दा फरक लैङ्गिक विशेषता भएको बच्चाको जन्म भयो र त्यो बच्चाले ‘फरक हुँ’ भनेर बाँच्न चाह्यो भने त्यसका लागि ठूलो संघर्ष गर्नुपर्छ। समाजमा मान्छेले मान्छेलाई गर्ने विभेदले यो किताब लेख्न प्रेरणा मिल्यो।
समलैङ्गिकता अथवा अन्य लैङ्गिक विशेषता भएका मानिस धार्मिक कथाका मिथकीय पात्र पनि छन्। पृथ्वीमा प्राणीको उत्पत्ति भएदेखि नै फरक लैङ्गिक विशेषता भएको मानिसको जन्म भएको हो। तर, हाम्रो समाजले त्यसरी बुझेर स्विकारेको छैन। त्यसैले यो विषयमा बोल्नुपर्छ, लेख्नुपर्छ भन्ने लाग्यो। यससँगै जबसम्म अरूको अधिकारका लागि पनि आफ्नै अधिकारका लागि जसरी बोल्न सक्दैनौं, तबसम्म हामीले कल्पना गरेको समाज निर्माण हुँदैन भन्ने महसूस गरेकाले यो किताबको जन्म भएको हो।
यो किताब लेख्नुअघि यौनिक तथा लैङ्गिक अल्पसंख्यकबारे कसरी सोच्नुहुन्थ्यो? किताब लेखी सक्दा उनीहरूबारे आफूमा केही परिवर्तन महसूस गर्नुभयो?
अहिले मेरो चेतना जुन तहको छ, जसरी सोच्छु, यो पुर्ख्यौली चेतना होइन। मेरा हजुरबुबा, हजुरआमा वा बुबाको समाजलाई हेर्ने जुन सोचाइ र दृष्टिकोण छ, त्योभन्दा मेरो फरक दृष्टिकोण छ। ममा फरक खालको चेतना र दृष्टिकोण बिस्तारै बिस्तारै निर्माण हुँदै आएको हो। मेरो परिवारमा पढेलेखेको पहिलो पुस्ताको मान्छे हुँ। त्यसैले अहिले म जे सोच्छु, त्यो मेरो पुर्ख्यौली चेतनाबाट आएको होइन।
यो किताब लेख्ने क्रममा फरक लैङ्गिकता भएका कैयौं मानिसलाई भेटेर फरक फरक खालका अनुभूति सुनें। त्यो सङ्गतबाट उनीहरूलाई फरक व्यवहार गर्नुपर्छ भन्ने लागेन।
किताब प्रकाशित भइसकेपछि विशेष गरेर यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायबाट कस्तो प्रतिक्रिया आइरहेको छ?
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका धेरै मानिसले पाण्डुलिपि पढेर प्रतिक्रिया दिएपछि किताब छापेको हुँ। अरूको पहिचान र आत्मसम्मानमा ठेस पुर्याउनु हुन्न भनेर सचेत भएरै लेखेकाले अहिलेसम्म नराम्रो प्रतिक्रिया सुनेको छैन।
पुस्तक पढ्दै गर्दा केही ठाउँमा यौनलाई ‘रोमान्टिसाइज’ गरिएको हो कि भन्ने महसूस भयो। जस्तो- जोगीले शब्दलाई मन पराउँछु भन्न अरू कुनै तरीका अपनाउन सक्दैनथ्यो र?
अवश्य सक्थ्यो, तर कथाको पृष्ठभूमि र पात्रको निर्माण नै त्यसरी गरेको थिएँ। कथा लेख्नुअघि नै पात्रको मनोविज्ञान निर्माण गर्नुपर्छ। जोगी पात्र सारा जिन्दगी त्यागेर ‘फरक खालको बाटोमा हिंड्छु’ भनेर आएको हो। शब्दलाई छाडेर जान खोजेको थियो, तर सकेन।
सामान्य जीवनमा फर्कन चाहँदैनथ्यो। आफ्नो पुनर्जन्म भएको र नयाँ जीवन बाँचेको भन्थ्यो। आध्यात्मिक हुन खोज्थ्यो। ध्यान, योग र साधना गर्थ्यो। पूर्व जीवनको संसारमा फर्कन चाहँदैनथ्यो।
जोगीले शब्दलाई फ्याट्टै मन पराउँछु भन्दा पाठकलाई स्वादिलो नलाग्न सक्थ्यो र मैले पनि पात्रलाई अन्याय गरेको हुन्थ्यो। त्यसैले जानाजान त्यो घटनाक्रम निर्माण गरेको हुँ। किनकि पात्रलाई आफ्नो अडानबाट भत्केको देखाउन त्योभन्दा अर्को विकल्प थिएन।
किताबमा यौन छैन, प्रेम मात्र छ। मान्छेहरू किन प्रेमलाई छुट्याएर यौनको मात्र कुरा गर्छन्? मलाई अचम्म लाग्छ। यौन प्रेमबाट शुरू हुन्छ। प्रेम विनाको यौन अपराध हो।
प्रायः भन्ने गरिन्छ, जुन विषयमा लेख्ने हो त्यही समुदायको मान्छेले लेख्दा वास्तविक कुरा आउँछ। यो किताबमा तपाईंले उनीहरूको भावनालाई न्याय गरे जस्तो लाग्छ?
यो विषयमा एकदमै सचेत थिएँ। सबैको आत्मसम्मान र पहिचान बराबर हुनुपर्छ भनेर लेखेको छु। उनीहरूले भनेको कथा लेखेकाले पनि अहिलेसम्म नराम्रो प्रतिक्रिया नआएका होला। उनीहरूकै अनुभूति लेखेकाले न्याय गरेको छु जस्तो लाग्छ।
पात्रको भावना र मनोविज्ञान उतार्न लेखकले पात्रसँग निकट हुनुपर्छ भन्ने गरिन्छ। शब्दसँग कत्तिको घुलमिल हुनुभयो?
यो समुदायका मानिसलाई खुल्न एकदम गाह्रो हुने रहेछ। उनीहरूलाई लामो समय पर्खेर विश्वास जित्दै, कुराकानी गर्दै, सुन्दै गएँ।
शुरूआतमा त उनीहरूले भनेको कुरा महसूस गर्न गाह्रो भयो। पुरुषले महिलाबारे लेख्दा पात्रलाई राम्रोसँग अध्ययन गरिएन र कुरा सुनिएन भने जस्ताको तस्तै उतार्न सकिन्न। यो कथा लेख्न पनि त्यस्तै सकस भयो। उनीहरूको जीवन महसूस गर्न निकै समय लाग्यो।
मेरो लागि यो गाह्रो र चुनौतीपूर्ण थियो। कल्पना प्रयोग गरेर लेखेको भए शब्दको जीवन जस्ताको तस्तै आउँदैनथ्यो।
यसअघि छुटेका अनुहारमा आफ्नै कथा लेख्नुभएको थियो, अन्तरमा समलिङ्गी शब्दको कथा लेख्नुभयो। एउटा लेखकका लागि आफ्नो कथा लेख्न सजिलो रहेछ कि अरूको?
छुटेका अनुहार लेख्दा कल्पना गर्नुपर्ने र पात्र निर्माण गर्नुपर्ने थिएन। त्यसमा आफैं पात्र थिएँ। अन्तर लेख्दा जस्तो पात्रको पृष्ठभूमि बनाउनुपर्ने, टाइमलाइन र कथा कसरी बढाउने भनेर ‘म्यापिङ’ गर्नुपर्ने थिएन। छुटेका अनुहार आफ्नो कथा भएकाले अन्तर जस्तो गाह्रो भएन।
अन्तर लेख्दा निकै मजा भा’थ्यो। पात्र धेरै भएकाले अनेक भावसँग घुल्न पाएँ। छुटेका अनुहारको तुलनामा अन्तरले लेखकीय सुख बढी दियो।
छुटेको अनुहारबाट प्रतिष्ठित पद्मश्री पुरस्कार पाउनुभयो। एउटा लेखकका लागि पुरस्कार पाउनुले के अर्थ राख्दो रहेछ?
सबैभन्दा ठूलो पुरस्कार पाठक हुन्। त्यसपछि मात्र अरू पुरस्कार आउँछन्। म ऊर्जाबाट निर्मित मानिस हुँ, स्वाभाविक रूपमा पुरस्कारले ऊर्जा दियो। लेखकका लागि पुरस्कार केवल पुरस्कार मात्रै होइन, लामो बाटो हिंड्नका लागि प्रेरणा पनि हो।
छुटेका अनुहारको विमोचनमा उपन्यास नलेख्ने घोषणा गर्नुभएको थियो, तर लगत्तै उपन्यास लिएर आउनुभयो। के कुराले सोचाइ बदलियो?
पहिलो, त्यो वेला म कति परिपक्व थिएँ भन्ने कुरा पनि हो। अर्को, छुटेका अनुहार लेख्दा ‘यो विधा छाडेर अरू लेख्दिनँ’ होला भन्ने किसिमको लेखकीय सुख महसूस भएको थियो। सबै मान्छे लोभी हुन्छ, म पनि त्यही अन्तर्गत पर्छु। त्यस वेला मैले जुन कुराको सुखबोध गरिराखेको थिएँ, त्योभन्दा ठूलो सुखबोध गर्छु भन्ने लागेको थिएन।
पछि अन्तरका पात्रका कुरा सुन्दा किताब लेख्नुपर्छ भन्ने लाग्यो। लेखकले पनि सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ। सामाजिक उत्तरदायित्व पूरा गर्न म लेखन बाहेक अरू गर्न सक्दिनँ। त्यसैले पनि यो विषय लेख्नुपर्छ भन्ने लाग्यो। अन्तरका पात्रको कथा सुनेर मेरो उपन्यास नलेख्ने सोच भत्कियो।
एउटा लेखकलाई सामाजिक उत्तरदायित्वले लेख्न प्रेरित गर्छ र?
गर्ने रहेछ। मलाई छुटेका अनुहार लेख्दासम्म यो कुराको बोध थिएन। तैपनि सामाजिक विभेदकै विषयमा लेखिरहेको थिएँ। एउटा लेखक आफ्नो समाजसँग उत्तरदायी हुनैपर्ने रहेछ।
समीक्षकहरू सायनले छुटेका अनुहारको उचाइ छुने गरी अन्तर लेख्न सकेन भन्न थालेका छन्। यस्तो सुन्दा कस्तो लाग्छ?
पाठकका आआफ्ना धारणा हुन्छन्। छुटेका अनुहारमा मेरा नितान्त व्यक्तिगत कुरा थिए। बाल्यकालदेखि किशोरावस्था, प्रेम, यौन, सामाजिक विभेद र मल्टिन्याशनल कम्पनीको कामको अनुभव छ।
तपाईं-हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक अवस्था मिल्दोजुल्दो छ। किताबमा आफ्ना कुरा मिलेको भेट्यो भने रमाइलो लाग्दो रहेछ। छुटेका अनुहारमा धेरै पाठकले आफूलाई भेटेका छन्, त्यसैले अलि बढी मन पर्यो होला।
अन्तर समलिङ्गी पुरुषकको कथा हो। पाठकले समलिङ्गी पुरुषको कथालाई महसूस नगर्न पनि सक्छन्।
पाठक र समीक्षक दुवैले मन पराएकाले छुटेका अनुहारको धेरै चर्चा भयो। अन्तर लेख्दै गर्दा त्यस्तो लेख्न सक्छु कि सक्दिनँ भन्ने दबाब कत्तिको थियो?
अन्तर लेख्दै गर्दा छुटेको अनुहारबाट पुरस्कार जितेको लेखक हुँ भन्ने बिर्सेर लेखेको थिएँ। समीक्षक र पाठकले मन पराएको लेखक हुँ भन्ने छाप मन र मस्तिष्कबाट हटाएर लेख्न बसेको थिएँ। म जहिले पनि नयाँ लेखकले लेखे जस्तै लेख्नुपर्छ भन्ने ठान्छु। हरेक पटक लेख्दा आफ्नो पुरानो शैली भत्काउनुपर्छ भन्ने मेरो मान्यता हो।
लेखनशैलीको कुरा गर्नुभयो। तपाईंका लागि विषयवस्तु महत्त्वपूर्ण हो कि शैली?
विषयवस्तु महत्त्वपूर्ण हो। तर, विषयवस्तुभित्र छिर्नका लागि अर्को महत्त्वपूर्ण शैली हो। लेखनमा शैली र विषयवस्तु दुवैको महत्त्व हुन्छ। दुईमध्ये एक भएन भने राम्रो लेखन हुन्न।
पहिला कविता पनि लेख्नुहुन्थ्यो। कवितासँगको साइनो किन छुट्यो?
काव्य लेखन कहिल्यै छाडेको छैन, काव्यबाट टाढा पनि हुँदिनँ। काव्य असाध्यै सुन्दर र कलात्मक कुरा हो।
कुनै पनि कुरा काव्यात्मक तरीकाले भन्दा एकदमै सुन्दर सुनिन्छ। त्यति मीठो र सुन्दर कुरा कसैले छोड्दैन।
भागेर भूगोलभरि किताब बजारमा गइसकेपछि काव्य भनेको अक्षर मात्र होइन रहेछ भन्ने महसूस गरें। मेरो आमा अक्षर पढ्न जान्नुहुन्न, तर बारम्बार कविता सोचिरहनुहुन्छ, कविता बोलिरहनुहुन्छ। भौतिक रूपमा काव्य किताबमा आओस्/नआओस्, मभित्र कविता जहिले पनि छ।
कविताबारे सोचिरहेको छु, पढिरहेको छु, लेखिरहेको छु। त्यो कविताबाट पाउने सुखलाई बजारमा प्रदर्शन नगरेको मात्र हो।
बजार नदेखेर कविताकृति नआएको हो?
लेखेर पैसा आउँदैन भन्ने सत्य हो। तर, पैसा आउँदैन भनेर प्रकाशन नगरेको होइन। कवितालाई पैसासँग जोड्नु हुँदैन। कविता भनेको हीरा र सुन जस्तै हो। फलाम बढी बिक्री भयो भन्दैमा ग्राममा बिक्री हुने सुनभन्दा राम्रो हुँदैन। कविता पनि त्यही हो, त्यसलाई पैसासँग नजोडी स्वतन्त्र राख्दा नै गजब हुन्छ।
प्रकाशकहरू पनि कविताकृति प्रकाशन गर्न मन गर्दैनन् भन्ने सुनिन्छ नि!
प्रकाशकहरू व्यापारी हुन्। लगानी उठ्दैन भने किन छाप्ने? त्यो त व्यवसायको धर्म नै भएन नि। हरेक पेशाको धर्म हुन्छ। व्यवसायको धर्म मुनाफा कमाउनु हो।
अब प्रसङ्ग बदलौं, तपाईंका समकालीन लेखकलाई कत्तिको पढिरहनुभएको छ, अहिले कस्तो लेखिंदै छ?
गजब लेखिरहेका छन्। तर, हाम्रो बजार सानो छ। पठन संस्कृति बलियो छैन। हाम्रा किताब अंग्रेजीमा अनुवाद गरेर अन्य देश पठाइयो भने धेरैले मन पराउँछन् भन्ने लाग्छ। हाम्रा विषयवस्तु अन्य देशका पाठकका लागि चाखलाग्दा हुन्छन्।
तपाईंलाई कस्ता किताब मन पर्छन्?
म एकैपटक धेरै किसिमका किताब पढ्छु। एकदमै स्वरैकल्पनाभन्दा सामाजिक विषयमा लेखिएका किताब पढ्न मन लाग्छ। समाज बुझ्न, महसूस गर्न पनि सामाजिक विषयवस्तुमा लेखिएका किताब मन पर्छन्।
किताब किन पढ्नुपर्छ जस्तो लाग्छ?
आफूलाई परिवर्तन गर्नका लागि पढ्नुपर्छ। स्कूल, कलेज र विश्वविद्यालयमा पढेर डिग्री हासिल होला, तर चेतनशील हुन सकिंदैन। जस्तो- अहिले यौनिक र लैङ्गिक अल्पसंख्यकका विषयमा लेखें। कलेज या विश्वविद्यालयको पढाइमै सीमित बनेको भए, बाहिरी किताब नपढेको भए यो विषयमा सोच्न पनि सक्दिनथें।
पढ्ने मानिसको सङ्गत गरें। धेरै किताब पढें। त्यसले मभित्र फरक चेतना र सोच निर्माण भयो। कोर्स बाहिरका किताब पढेकाले नै हजुरबुबा, हजुरआमा र आमाबुबाबाट आएको पुर्ख्यौली चेतना छाडेर नवचेतना ग्रहण गर्न सकेको छु। समाज परिवर्तन हुन नवचेतना आवश्यक छ र त्यसका लागि पढ्नुपर्छ।
अन्तर मार्फत फरक विषयवस्तुमा लेख्ने हिम्मत जुटाउनुभयो। समकालीन लेखकले केकस्ता विषयमा लेखे हुन्थ्यो जस्तो लाग्छ?
भुइँमान्छेका कथा आउन जरुरी छ। देशका धेरै नागरिक विभेद भोगेर बाँचिरहेका छन्। जस्तो कि कसैले मधेशका महिलामाथि केही लेखिदिए हुन्थ्यो। मधेशका महिलाको आवाज ठूलो स्वरले सुनाउन जरुरी छ।
अब पठन संस्कृतिको कुरा गरौं। नेपालमा पठन संस्कृति कस्तो पाउनुहुन्छ?
हाम्रो शैक्षिक इतिहास नै छोटो छ। हाम्रो परिवारमा मेरो पुस्तासम्म किताब पढ्ने म पहिलो मान्छे हो। हाम्रो सपना नै विश्वविद्यालय पढेर जागीर खाने हुन्छ। ‘के पढ्यो भने के बनिन्छ’ भन्ने किसिमको बहस हुने समाजबाट आएका हौं। आजको दिनमा पनि हाम्रो पहिलो प्राथमिकता यही हो।
मान्छेले शुरूमा राम्रोसँग दालभात खान चाहन्छ, अनि मात्र पढ्ने, घुम्ने लगायत बौद्धिक विलास गर्न चाहन्छ। दालभात नै हाम्रो समस्या छ, त्यसैले नयाँ रुचि पत्ता लगाउन सकिरहेका छैनौं। अझै पनि स्कूल नजाने बालबालिका धेरै छन्।
हामीभन्दा सय-दुई सय वर्षअघि विश्वविद्यालय स्थापना भएका समाजको पठन संस्कृतिसँग तुलना गर्दा कमजोरी देखिन्छ नै। तर, नेपाली समाजको शैक्षिक इतिहास हेर्दा पठन संस्कृति कमजोर छैन।
शैक्षिक तथा लेखन इतिहास नै लामो नभएकाले अन्तर्राष्ट्रिय जगत्सँग तुलना गर्ने वेला भइसकेको छैन भन्न मिल्छ?
इतिहासको हिसाबले तुलना नहोला। तर, विषयवस्तु र लेखनशैलीको हिसाबले कुरा गर्दा तुलना गर्न सकिन्छ। हामीसँग बलियो विषयवस्तु छ। अरू देशका पाठकका लागि रुचि जगाउने खालको फरक फरक खालको संस्कृति छ।
उदाहरणका लागि ब्राह्मण र लिम्बू पात्र भए भने एउटा किताबमा दुई वटा संस्कृति आउँछन्। एउटा भूगोलको दुई वटा पात्रको फरक फरक खालको कथा आउँदा पाठकलाई रुचिकर हुन्छ।
एउटै भूगोलमा फरक फरक भाषा, धर्म र संस्कृति भएका मानिस छन्। एउटै किताबमा उनीहरूको कथा आउँदा हामीलाई चाख नलाग्ला, तर अंग्रेजी भाषामा लेखियो भने धेरै पाठकले मन पराउँछन्।
नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन के गर्नुपर्छ?
जुन भाषामा बढी पढिन्छ, त्यही भाषामा अनुवाद गर्नुपर्छ। राज्यले नगरी कुनै एक व्यक्तिले गरेर नेपाली साहित्य अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्दैन। जस्तो- रुसी साहित्यका धेरै किताब नेपाली भाषामा पढें। नेपालीमा अनुवाद नगरेको भए मैले रुसी साहित्य पढ्न पाउने थिइनँ। यसरी नै नेपाली साहित्य पनि विश्वका विभिन्न भाषामा अनुवाद भयो भने हाम्रो साहित्य पनि अन्तर्राष्ट्रिय जगत्मा चिनिन सक्छ।
पूर्णकालीन लेखनमै लागेका लेखक कमै छन्। तपाईं पनि जागीर गर्दै लेख्नुहुन्छ, कत्तिको गाह्रो हुन्छ?
गाह्रो त भइहाल्छ नि। काम गर्दागर्दै कहिलेकाहीं कथा फुर्छ, लेख्ने ‘मूड’ बन्छ, तर त्यही लेख्न मिल्दैन। घरमा गएर लेख्छु भन्दा फेरि त्यही ‘मूड’ आउँदैन।
लेखनका अनेक तयारी र प्रक्रिया हुँदा रहेछन्, तपाईंको लेखन प्रक्रिया कस्तो हुन्छ?
के विषयमा लेखिन्छ भन्ने कुराले प्रक्रिया निर्धारण गर्ने रहेछ। उपन्यास लेख्दा शुरूमा कथाको ‘म्यापिङ’, पात्र निर्माण र तिनको पृष्ठभूमि तयार गरिन्छ। हरेक पात्रको इतिहास बनाएर काम शुरू गरिन्छ। एउटा पात्रको इतिहासदेखि मनोविज्ञानसम्म अध्ययन गरेर लेखन प्रकिया शुरू गर्छु। पात्र तयार गर्न पात्रसँग मिल्ने मान्छेसँग भेट्ने, कुरा सुन्ने र मिहिन ढङ्गले अध्ययन गर्छु।
अन्तरकै पात्रलाई उदाहरण बनाउँदा शब्दले ‘म मेरो कथा आफैं लेख्न चाहन्थें, तर सकिनँ’ भनेर तपाईंलाई लेख्न जिम्मा दिएको छ। एउटा लेखकमा त्यस्तो के क्षमता हुन्छ, जसले अरूको कथा पनि आफ्नै जसरी दुरुस्तै लेख्न सक्छ?
म अथवा अरू लेखक हिजो सोचेर आज लेखक भएका होइनौं। वर्षौंदेखिको साधना हुन्छ। मैले लेख्न थालेको नै २५ वर्ष हुन लाग्यो। कति लेखेर कति मेटियो, कति च्यातेर फालियो, किताबमा छापिने कुरा त एकदम थोरै हुन्छ। अन्तर पनि शुरूमा एक लाख शब्दको थियो। पुनर्लेखन गरें। लेख्दै, फाल्दै, लेख्दै गरेपछि मात्र एउटा पढ्नयोग्य किताब बन्छ। लेखन भनेकै नथाकी निरन्तर गरिने अभ्यास हो।
एउटा राम्रो लेखक हुन कत्तिको अध्ययनशील हुन जरुरी छ?
पढाइ भनेको सिकाइ हो। मानिस पढ्ने कामले नै परिपक्व बन्दै जान्छ। पढाइले आलोचनात्मक चेतको निर्माण गर्छ। पहिले पहिले किताब पढ्दा आनन्द मात्र लिन्थें, अहिले आलोचनात्मक ढङ्गले सोच्छु। लेखक हुन आलोचनात्मक चेत चाहिन्छ। त्यसैले पुस्तक मात्रै होइन, समाजको पनि सूक्ष्म अध्ययन र साधना जरुरी छ।
राम्रो लेखिरहेका लेखकले लेखन कर्मबाट एकाएक विश्रामले लिएको देखिन्छ। एउटा लेखकलाई के कुराले लेखन कर्म रोक्न बाध्य बनाउँछ होला?
उहाँहरूले नयाँ सुख भेट्नुभयो होला। लेख्दा पाउने सुख र आनन्द अरू कुरामा भेट्नुभयो होला। म पनि लेख्दा पाउने सुख अरू कुरामा नभेटेर लेखिरहेको छु कि! अथवा उहाँहरूको लेखनमा गहिरो रुचि थिएन कि! यो मेरो अनुमान मात्र हो।
अन्त्यमा, आगामी लेखनको योजना के छ?
अहिले त ठ्याक्कै यो लेख्दै छु भन्नलाई केही छैन। मलाई यात्रा गर्न मन पर्छ। यात्राबारे लेख्न सक्छु।
त्यस्तै, मागेर हिंड्ने मान्छेको विषयमा पनि अध्ययन गरिरहेको छु। तर, पार लाग्छ कि लाग्दैन भन्ने टुङ्गो छैन।
किताबका कुराका थप सामग्री: