झडपपछि बाँकेको सुधारगृहबाट नौ थुनुवा भागे
बाँकेको डुडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बाल सुधारगृहमा भएको झडपपछि नौ जना थुनुवा भागेका छन्।
भागेका थुनुवा कहाँका हुन् र कहिलेदेखि बाल सुधारगृहमा थिए भन्ने विषय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायण डाँगीले बताए। उनका अनुसार भागेका सबैको खोजी गर्न प्रहरी परिचालन गरिएको छ।
“झडपका क्रममा १० जना घाइते भएका थिए। घाइतेमध्ये एकको उपचारका क्रममा मृत्यु भएको थियो,” डाँगीले भने। उनका अनुसार झडपमा रुपन्देहीको कञ्चन गाउँपालिका-४ का सुलभ केसीको मृत्यु भएको हो।
डीएसपी डाँगीका अनुसार उनी अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणीको मुद्दामा बाल सुधारगृहको थुनामा थिए। थुनुवाले सुधारगृह भवनको झ्यालका सिसा, रेलिङ, बार भत्काएका छन् भने प्रहरीले चारैतिरबाट भवनलाई घेरेर राखेको छ।
बाल सुधारगृहमा रहेका दुई मोटरसाइकल, एउटा कम्प्युटर तोडफोड गरिएको छ। त्यस्तै, प्रहरीको पोशाकमा पनि आगजनी भएको छ।
दुई ब्लक रहेको सुधारगृहमा अहिले पनि दुई पक्षबीच तनावको स्थित छ। सुधारगृहका थुनुवा खगेन्द्र सारुङ मगरले आफूहरू सुतेको अवस्थामा अर्को पक्षले आफूमाथि आक्रमण गरेको बताएका छन्। “हामीलाई टाउको र हातमा निर्घात कुटेका छन्,” उनले भने।
भवनभित्र तनाव जारी रहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। सुधारगृहमा २५४ थुनुवा छन्। उनीहरूमध्ये १८ वर्षमाथिका १६५ थुनुवा छन्।