खडेरीले उब्जनी घटेपछि भारत जाँदै किसान
लगातारको खडेरी र नदी कटानका कारण कृषि उत्पादन कम भएर जीविका कष्टकर बनेपछि रोजगारीका लागि भारत जाने किसानको संख्या बढ्दो छ।
बाँकेको नरैनापुर गाउँपालिका-६, दोन्द्राका ३७ वर्षीय शान्त मौर्यको राप्ती तटीय क्षेत्रमा पर्ने २५ कट्ठा खेतमा गत वर्ष एक क्विन्टल मात्र धान फल्यो। त्यसअघि उनलाई आफूले पाँच क्विन्टलभन्दा कम धान फलाएको सम्झना नै थिएन।
“बर्खाभरि पानी नै परेन। पम्पसेट चलाएर २५ कट्ठामध्ये १४ कट्ठा मात्रै रोप्यौं। बर्खा सकिने वेला एक्कासि बाढी आएपछि अलि अलि फलेको धान पनि बगायो,” शान्त भन्छन्, “पूरै एक वर्षदेखि चामल किनेर खाएका छौं। यसअघि कहिल्यै चामल किन्नुपर्दैनथ्यो।”
६ सदस्यीय मौर्य परिवार खेतको उब्जनीमा पूर्ण रूपमा निर्भर थियो। चामल समेत किनेर खानुपर्ने भएपछि गत मंसीरको अन्तिम साता शान्त पैसा कमाउन भारत गए। उत्तरप्रदेशको गाजियाबादमा अनौपचारिक श्रमिकका रूपमा पेयपदार्थ ढुवानीको काम गर्थे। तलब थियो, मासिक १२ हजार भारु।
पाँच महीना गाजियाबादमा काम गरेपछि उनी वैशाख अन्तिम साता बाली लगाउन नेपाल फर्किए। तर, यस पटक पनि मनसुनले धोका दियो उनलाई। “ठिक्क रोप्ने वेला पानी नै परेन। कति पटक राप्तीबाट पानी तानेर, कति पटक नल्कामा (भूमिगत पानी) मोटर लगाएर रोप्यौं,” शान्तले समयअघि भनेका थिए, “डिजेलमा धेरै खर्च भयो। १५-२० हजार ऋण लागेको छ। यसपालि त मंसीरसम्म पनि घरमा बस्न पाउने भइनँ। केही दिनपछि फेरि भारत जाँदै छु।”
नभन्दै उनी भदौ १३ गते पुनः भारत गए। गाडी चढ्नुअघि अँध्यारो अनुहार र मलिन स्वरमा उनले भनेका थिए, “अब धान काट्ने समयमा फर्किन्छु। त्यति वेला फसल कस्तो हुने हो थाहा छैन। राम्रो भएन भने फेरि इन्डिया जान्छु।”
दोन्द्राका ३५ वर्षीय दिनेशलाल भुजुवाको परिवारको कथा पनि यस्तै छ। नौ वर्षअघि राप्तीले बाटो मोड्न थालेपछि भुजुवा परिवारको कष्ट शुरू भएको थियो।
चुरे हुँदै आएको राप्ती नदी दाङको भालुवाङबाट दक्षिण-पश्चिम बगेर शमशेरगन्ज पुग्छ। त्यहाँ फनक्कै मोडिएर कम्दी र त्यहाँबाट फत्तेपुर पुग्छ। २०७१ सालअघिसम्म राप्ती फत्तेपुरबाट दक्षिण मोडिएर होलिया हुँदै भारततर्फ बग्दथ्यो।
२०७१ सालमा भने राप्तीले अचानक बाटो मोड्यो। फत्तेपुरबाट बिस्तारै पूर्वतिर सर्दै नेपाली भूभाग कटान गर्न थाल्यो।
२०७५ सालमा त राप्ती नदी नरैनापुरको पुछारमा रहेको भोजपुर गाउँसम्मै आइपुगेको थियो। त्यस वर्ष साउनमा नदीमा ठूलो भेल आयो। दक्षिणतर्फबाट गाउँका घर भत्काउँदै आयो।
भुजुवा परिवारको मनमा त्यति वेलै त्रास पलाइसकेको थियो। नदी भुजुवा परिवारको घरदेखि २०० मिटर परसम्म आइसकेको थियो। भुजुवा परिवार घरभित्रका अत्यावश्यक समान झिकेर उत्तरतर्फ लाग्यो। नरैनापुरको उत्तरी क्षेत्रमा रहेको ठूलो जङ्गलमा आफू जस्तै विस्थापित भएका परिवारसँग बस्न थाल्यो। “हाम्रो २५ कट्ठा खेतमा अहिले राप्ती बगिरहेको छ। तर, लालपुर्जा घरमा छ,” दिनेशलाल भन्छन्।
खेतमा राप्ती पसेपछि दिनेश र उनका दाजुभाइ खेतीको साटो मजदूरी गर्न थाले। तीन वर्षअघि ऋणधन गरेर दोन्द्रामा ४५ कट्ठा खेत पनि किने। तर, खडेरीले पोहोर साल २० कट्ठा खेत बाँझो राख्नुपर्यो। २५ कट्ठामा पम्पसेट लगाएर रोपे पनि परिवारलाई पुग्ने गरी धान उत्पादन भएन।
गत वैशाखमा उनले जीवनमै पहिलो पटक चामल किने, ५० किलोग्राम। “आठ-दश क्विन्टल मात्रै (उब्जनी) भयो होला, त्यो पनि खाल्डोमा पानी जमेको भएर। आकाशको पानीमा पूरै खेत रोप्न पाएको भए कम्तीमा ८० क्विन्टल धान फल्थ्यो,” दिनेश भन्छन्।
पानी पर्दै नपरेपछि आफ्नो १६ सदस्यीय संयुक्त परिवारका लागि वर्षभरिलाई पुग्ने धान उब्जाउन सकेनन्। चामल किन्न पैसा छैन। त्यसैले दिनेश अब भारत जान लागेका छन्। “धान रोप्दा लागेको खर्च पनि तिर्नु छ। गाउँका आफन्तहरू भारत गइसकेका छन्। म पनि दशैं-तिहारपछि त्यतै जान्छु। केही काम खोज्छु,” उनी भन्छन्।
बढ्दो छ खडेरीको तीव्रता र अवधि
खडेरी र नदीको कटान दुवैको समस्या भोगिरहेका छन् नरैनापुर गाउँपालिकाका बासिन्दा। अध्ययनहरूले यी दुवै घटना जलवायु परिवर्तनका कारण मनसुनी चक्रमा आएको बदलावले सिर्जना भएको मानेका छन्।
नेपालमा खडेरीको चरित्र र जलवायु सूचकाङ्कको सम्बन्धबारे अप्रिल २०२१ मा प्रकाशित एक अध्ययन अनुसार गत २३ वर्षयता खडेरीका घटनाहरू तीव्र रूपमा दोहोरिइरहेका छन्। सन् १९८० देखि २०१८ सम्म २२० वटा वर्षा मापन केन्द्रले मासिक रूपमा लिएका तथ्याङ्कलाई मानकीकृत वर्षा सूचकाङ्क (एसपीआई)को प्रयोग गरी नेपालमा वार्षिक र मौसमी खडेरीका विशेषताबारे अध्ययनले खोजी गरेको थियो। (एसपीआई निश्चित समयावधिमा कुनै पनि स्थानमा हुने वर्षालाई आधार मानेर खडेरीको मापन गर्ने एउटा सूचकाङ्क हो।)
अध्ययनअनुसार, नेपालमा सन् १९८२, १९८५, १९९१-९२, १९९४, २००५-२००६, २००८-२००९, २०१३ र २०१५ मा ठूलो खडेरी परेको थियो। “सन् २००० पछिका वर्षहरूमा देखापरेका खडेरीहरू गम्भीर र लामो समयसम्मका लागि थिए,” अध्ययनको निष्कर्षमा भनिएको छ।
अध्ययन अनुसार सन् २००० यता त्यसअघिको अवधिको तुलनामा वर्षाको समय (ग्रीष्मकाल)मा देखिने खडेरी दोब्बर भएको छ। अध्ययन गरिएको चार दशकको समयावधिमध्ये सन् २००० अघि १९८२ र १९९२ मा ग्रीष्मकालीन खडेरी अन्य वर्षको तुलनामा ठूलो थियो।
सन् २००० पछि भने २००५, २००६, २००९ र २०१५ मा ठूलो ग्रीष्मकालीन खडेरी पर्यो। पछिल्लो दुई दशकमा भने सन् २०१५ मा परेको खडेरी सबैभन्दा ठूलो मानिन्छ। सन् १९९२ को खडेरी अध्ययन अवधिको सबैभन्दा ठूलो थियो।
सन् २०२१ मा वाटर जर्नलमा प्रकाशित एक शोधले पनि गएका दुई दशकयता नेपालमा खडेरीको अवधि र तीव्रता दुवै बढिरहेको जनाएको थियो। शोधले देशभरका विभिन्न १०७ वटा वर्षा मापन केन्द्रबाट सन् १९७७ देखि २०१८ सम्ममा लिइएका तथ्याङ्कहरूलाई एसपीआईको प्रयोग गरी ग्रीष्मकालीन खडेरी र वार्षिक खडेरीको आवृत्ति, अवधि र गाम्भीर्यबारे अध्ययन गरेको थियो।
शोधको निष्कर्ष छ- वार्षिक खडेरीको भन्दा ग्रीष्मकालीन खडेरीको असर चरम बन्दै गएको छ। अध्ययनको अवधिमा ग्रीष्मकालीन खडेरीको असर नेपालको भूभागको ८ प्रतिशतमा चरम (एक्स्ट्रिम), ९ प्रतिशतमा गम्भीर (सेभियर) र १८ प्रतिशतमा मध्यम (मोडरेट) देखिएको थियो।
त्यस्तै, वार्षिक रूपमा हेर्दा खडेरीको असर ७ प्रतिशत भूभागमा चरम, ११ प्रतिशत भूभागमा गम्भीर र १७ प्रतिशत भूभागमा मध्यम देखिएको थियो। मनसुनको समयमा ग्रीष्मकालीन खडेरीको अवधि बढ्दै गएपछि यसको असर आकाशको पानीमा निर्भर किसानहरूमा धेरै देखिएको छ।
तीमध्ये एक हुन्- मटेहियाका ४२ वर्षीय साबिर मुकेरी। साबिरले आफ्नो १७ कट्ठा खेत रोप्न १२ हजार रुपैयाँ खर्च गरेर गएको जेठको पहिलो साता मोटरबाट पानी लगाएर ब्याड राखेका थिए। तर, बीउ हुर्किएर सुक्ने वेलासम्म पानी नपरेपछि अन्ततः काटेर भैंसीलाई खुवाए। साबिर भन्छन्, “एक कट्ठा पनि रोप्न पाइएन। बडो नोक्सान भयो। केही कट्ठामा मकै लगाएको थिएँ। सुक्खाले त्यो पनि हुन दिएन। अब गहुँ लगाउने सोचिरहेको छु। गहुँका लागि थोरै पानी भए पुग्छ।”
गाउँका अरू किसानले जस्तै साबिरले पनि मोटर चलाएर भए पनि खेत रोप्न चाहेका थिए। तर, खेतबाट १०० मिटर दूरीमा रहेको बोरिङबाट मोटरले पानी नै तानेन। भूमिगत जलसतह निकै तल पुगिसकेकाले करीब १०० फिट गाडिएको बोरिङबाट पानी नआएपछि उनी छिमेकी जमीनदारकहाँ पानी माग्न गएका थिए। त्यो प्रयास पनि सफल भएन।
“जताततै इन्जिन (पम्पसेट) बाँधेर खेतमा पानी लगाइरहेका थिए। यसले हाम्रो बोरिङमा पानी सुकाइदियो। हाम्रो खेत नजिकै जमीनदारको पम्पसेट थियो। उसले आफ्नो खेतमा रातदिन पानी लगाउँथ्यो। पैसा दिन्छु भन्दा पनि उसले पानी दिन मानेन,” उनी भन्छन्।
३० क्विन्टल धान फल्ने खेतबाट अघिल्लो वर्ष खडेरीका कारण साबिरले आठ क्विन्टल मात्रै धान भित्र्याएका थिए। तर, यस वर्ष धान उत्पादन शून्यमा झरेपछि दुई छोरा र एक छोरी सहित ६ जनाको मुकेरी परिवारको जीविका कठिन बनेको छ। “अब उपाय के हुन्छ? कि इन्डिया जाने कि यहीं मजदूरी गर्ने। छोराछोरी धेरै साना छन्, श्रीमती एक्लै हुने भएर इन्डिया पनि जान पाउँदिनँ। अहिले यतै मजदूरीको काम गरिरहेको छु,” उनी भन्छन्।
धान उत्पादन आठ गुणा कम
बाँके लगायत तराईका जिल्लाका सीमान्तीकृत किसान मौसमी कामदारका रूपमा भारत जाने प्रचलन पुरानै हो। तर, पछिल्लो समय बढिरहेको राप्तीको कटान र खडेरीको प्रत्यक्ष प्रभाव कृषिमा देखिन थालेपछि किसानहरू सीमापारि जाने नयाँ प्रवृत्ति आमरूपमा देखिइरहेको नरैनापुर गाउँपालिका-६ का वडाध्यक्ष प्रेमचन्द्र मौर्य बताउँछन्। “यो वडाबाट मात्रै दुई हजार जना जति भारत गएका छन्। एउटा घरबाट दुईदेखि तीन जनासम्म पनि गएका छन्,” वडाध्यक्ष मौर्य भन्छन्।
उनका अनुसार खेतीपाती राम्रो भएका वेला भारत जाने कम हुन्छन्। तर, अहिले खडेरीले खेती राम्रो नभएकाले र धेरैले राप्तीको कटानले खेत गुमाएकाले ती किसान कमाउन भारत गएका छन्। “खेतीपातीको मौसम सकाएर भारत जान्छन्, दशैं-तिहारतिर आउँछन्। त्यसपछि फेरि कमाउन त्यतै लाग्छन्,” उनी भन्छन्। पछिल्लो जनगणना अनुसार आठ हजार २९६ जनसंख्या रहेको नरैनापुर-६ का १२ वटा गाउँमा दुई हजार १०० घरधुरी छन्।
पुरानो र ठूलो गाउँ हो, नरैनापुर-५ मा पर्ने मटेहिया। पोहोर सालको खडेरीपछि यो गाउँबाट मौसमी कामदारका रूपमा भारत जाने किसानको संख्या ५० प्रतिशतले बढेको वडाध्यक्ष कृष्णचन्द्र मौर्य बताउँछन्।
मौर्यका अनुसार मटेहियामा पहिलेदेखि एक हजार किसान मौसमी कामदारका रूपमा भारत जाने र फर्कने गर्थे। तर, पोहोरको खडेरीपछि थप ५०० जना भारततिर गएका छन्। “यी सबै पहिलो पटक भारत जानेहरू हुन्,” वडाध्यक्ष मौर्य भन्छन्, “धेरैजसो बम्बई, लखनउ, दिल्ली जस्ता शहरमा गएका छन्। हिउँद सकिएपछि केही फर्किए। कोही आउने-जाने गरिरहेका छन्। खान र बाँच्न धौधौ भएपछि उनीहरू भारततिर लागेका हुन्।”
गाउँपालिकामा आर्थिक वर्ष २०७८/७९ मा १७ हजार ८४७ मेट्रिक टन धान भित्र्याएका किसानले २०७९/८० मा दुई हजार ३८० मेट्रिक टन धान मात्र फलाए। अर्थात् खडेरीका कारण धान उत्पादन करीब आठ गुणाले कम भयो।
गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीका अनुसार खडेरीका कारण तीन हजार ९६६ हेक्टर खेतीयोग्य जमीनमध्ये गत वर्ष ५९५ हेक्टर जमीनमा मात्र धान रोपाइँ भएको थियो। लगभग ९५ प्रतिशत खेतीयोग्य जमीन बाँझै रहेपछि २०७९ साउन २६ गते बसेको गाउँ कार्यपालिकाको बैठकले नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा गरेको थियो।
पछिल्लो जनगणना अनुसार नरैनापुर गाउँपालिकामा ७८.७० प्रतिशत जनसंख्या कृषिमा निर्भर छ। तर, कृषि उत्पादन घटेपछि किसानको जीविका कठिन बनेको छ।
गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह उपल्ला तहका सरकारले सहयोग नगरेपछि किसान आफ्नै तरीकाले खाद्य सङ्कटसँग जुधिरहेको बताउँछन्। शाह भन्छन्, “खेतले नदिए पनि बाँच्नु त पर्यो। परिवार पाल्न घर छाडेर इन्डिया गइरहेका छन्। कोही इँटा, गारो (निर्माणको काम)मा मजदूरी गर्न शहरतिर गएका छन्। भारत जानेहरू धेरै छन्। यो किसानहरूको मजबुरी हो।”