मगर आदिकविको योगदानको चर्चा
मगर आदिकविद्वय जितबहादुर सिंजाली मगर र रेखबहादुर थापा मगरको योगदानको चर्चा गरिएको छ।
आदिकविद्वयको जन्मजयन्तीको अवसरमा आयोजित विचार गोष्ठीमा उनीहरूको योगदानको चर्चा गरिएको हो। नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानसँगको सहकार्यमा गोष्ठी आयोजना गरिएको थियो।
गोष्ठीको उद्घाटन गर्दै प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले भाषा ज्ञानको भण्डार भएको बताइन्। त्यस्तै, भाषाशास्त्री पूर्णबहादुर राना मगरले मगर साहित्यमा रेखबहादुर थापा मगरको योगदान सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने मगर भाषा पाठ्यक्रम संयोजक मनबहादुर थापा मगरले टिप्पणी गरेका थिए।
आदिकविद्वयले संयुक्त रूपमा लेखेको मगर भाषाङ ल्हीङ ड टुक्कौ किताबको आधारमा २०५१ फागुन २७ गते नेपाल मगर संघले दाङको घोराहीमा भएको पाँचौं राष्ट्रिय महाधिवेशनमा आदिकवि घोषणा गरेको थियो।
प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले सबै भाषा र साहित्यमा योगदान पुर्याउने आदिकविको जन्मजयन्ती मनाउनु आवश्यक भएको बताए। मातृभाषा विभाग प्रमुख प्राज्ञ परिषद् सदस्य राजन मुकारुङको सभापतित्वमा आयोजित गोष्ठीमा उपकुलपति विमलकृष्ण श्रेष्ठ (विमल निभा) र सञ्जोग लाफा मगरले आदिकविद्वयको योगदानको चर्चा गरेका थिए।