रहेनन् गणतन्त्रवादी नेता ‘मायालु’
पूर्व सांसद खेमराज भट्ट ‘मायालु’ को ७६ वर्षको उमेरमा क्यान्सर रोगबाट गएराति निधन भएको छ।
वीर अस्पतालमा उपचारका क्रममा मायालुको निधन भएको उनका भाइ छविलाल भट्टले जानकारी दिए। गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालुले २०५६ सालमा बर्दिया क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
२००४ सालमा डडेल्धुराको डुंगरीमा जन्मिएका भट्टले नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा शुरू गरेको थिए। पछि उनी रामराजाप्रसाद सिंहसँगै रहेर नेपालमा गणतन्त्र स्थापनाको आन्दोलनमा होमिएका थिए।
२०४२ सालको बम काण्डपछि तत्कालीन सरकारले उनको सर्वस्वहरण गरेको थियो। त्यसपछि उनले १२ वर्ष भारतमा निर्वासित जीवन बिताएका थिए।
उनका दुई छोरा छन्। यसअघि मिर्गौला रोगका कारणबाट श्रीमतीको निधन भएको थियो। आजै पशुपति आर्यघाटमा उनको अन्त्येष्टि गरिने जनाइएको छ।