बाँकेको बाल सुधारगृहमा झडप: एक जनाको मृत्यु, १० घाइते
बाँकेको डुँडुवा गाउँपालिका वडा नं ६ स्थित जयन्दु बाल सुधारगृहमा झडप भएको छ।
झडपमा परी एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। मृत्यु हुनेमा भने रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए।
राठौरका अनुसार झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
यस्तै, घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ।
सुधारगृहमा तोडफोड र आगजनी समेत भएको छ। अहिले त्यहाँ प्रहरी तैनाथ गरिएको छ। -रासस