किन सडकमा उत्रिए शिक्षक? (भिडिओ)
देशभरका शिक्षक सामुदायिक विद्यालय बन्द गरेर काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।
सरकारले संसद्मा दर्ता गरेको ‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ को विरोधमा देशभरका शिक्षक सडकमा उत्रिएका हुन्। उनीहरूले विद्यालयलाई स्थानीय तह मातहत राख्न नहुने माग गरेका छन्।
नेपाल शिक्षक महासंघको नेतृत्वमा सडकमा उत्रिएका शिक्षकहरूले स्थानीय सरकार मातहत राख्न नहुने, अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षाशिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन लगायत विषयमा सम्बोधन माग गर्दै आएका छन्।
अहिले मुलुकभर २७ हजार ३४३ सामुदायिक विद्यालय छन् भने स्थायी र राहत गरी एक लाख ५७ हजार ३४३ शिक्षक कार्यरत छन्। यस्तै, सामुदायिक विद्यालयमा कक्षा १२ सम्म ५३ लाख ८२ हजार ६ विद्यार्थी छन्।
शिक्षक आन्दोलनका कारण दुई दिनदेखि देशभरका विद्यालयको पठनपाठन बन्द छ।