दुई महीनामा पाँच अर्ब ४३ करोडको बिजुली भारत निर्यात
देशमा विद्युत् उत्पादन क्षमता बढेसँगै बिजुली निर्यातबाट हुने आम्दानीमा पनि वृद्धि भएको छ।
चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महीनामा नेपालले रु.पाँच अर्ब ४३ करोड ३१ लाख बराबरको विद्युत भारततर्फ निर्यात गरेको हो। नेपाल विद्युत् प्राधिकरणका अनुसार साउनमा रु.एक अर्ब ९४ करोड ८४ लाख र भदौमा रु.तीन अर्ब ४८ करोड ४८ लाख बराबरको विद्युत् भारतीय बजारमा बिक्री भएको छ।
साउन र भदौमा भारततर्फ निर्यात गरिएको विद्युत्को प्रतियुनिट औसत बिक्रीदर क्रमश: आठ रुपैयाँ १३ पैसा र १२ रुपैयाँ २७ पैसा छ। दुई महीनाको समग्र औसत विद्युत् बिक्रीदर प्रतियुनिट १० रुपैयाँ ३७ पैसा छ।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षा यामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को ‘डे-अहेड’ बजारमा प्रतिस्पर्धा मार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौता बमोजिम करीब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगमलाई बिक्री गरिरहेको छ।
भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ। यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर-टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातबाट नेपालको विदेशी मुद्रा सञ्चिति र दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न योगदान पुगिरहेको बताए।
अहिले देशभित्रको विद्युत् उत्पादन क्षमता करीब तीन हजार मेगावाट पुगेको छ। यसमध्ये आन्तरिक बजारमा सरदरमा एक हजार ५०० मेगावाट हाराहारीमा खपत भइरहेको छ।
भारत निर्यात गर्दा पनि बचत भएको विद्युत् भने खेर गइरहेको ऊर्जा उत्पादकहरूले बताउँदै आएका छन्। भारतले नेपालबाट कोटा तोकेर मात्रै विद्युत् खरीद गर्दै आएको छ।