‘शिक्षकका माग पूरा गर्न सरकार तयार छ’
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकका माग पूरा गर्न सरकार तयार रहेको बताएका छन्।
बिहीबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै खड्काले अहिलेको अर्थतन्त्रले धान्न सक्ने जुनसुकै मागका विषयमा पनि छलफल गर्न सरकार तयार रहेको बताए। कांंग्रेस उपसभापति समेतका रहेका खड्काले भने, “अहिलेको अर्थतन्त्रले तत्काल धान्न नसक्ने कुरा र संविधानले गरेको व्यवस्थाभन्दा प्रतिकूल हुने कुरामा सहमति गर्न सक्ने अवस्था छैन। त्यस बाहेक जुनसुकै विषयमा छलफल गर्न सरकार तयार छ।”
शिक्षा र शिक्षकका समस्या समाधान गर्ने विषयमा छलफल गर्न सरकार तयार रहेको उनको भनाइ थियो। खड्काले भने, “ऐनमा, नियमावलीमा, कार्यविधिमा कसरी व्यवस्था गरेर समस्यालाई समाधान गर्न सकिन्छ? त्यसबारे छलफल गर्न सरकार तयार छ।”
वार्ताबाट शिक्षकका समस्या समाधान गरिने बताए। बिहीबार बिहान एक चरणको वार्ता भएको र फेरि वार्ताको तयारी भइरहेको उनको भनाइ थियो। “हामी छिटोभन्दा छिटो समस्या समाधान गर्न लागिरहेका छौं,” उनले भने।
सरकारले संसद्मा दर्ता गराएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलनमा छन्। देशका विभिन्न भागबाट आएका शिक्षकले दुई दिनदेखि काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।