नेप्से परिसूचक उच्च अङ्कले वृद्धि
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले बढेको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४४.३४ अङ्कले बढेर २०२९.७८ अङ्कमा कायम भएको छ। आज विभिन्न २७८ कम्पनीका एक करोड १२ लाख ६४ हजार ३०९ कित्ता शेयर एक लाख १९ हजार ३५९ पटक खरीद-बिक्री हुँदा तीन अर्ब २९ करोड ३९ लाख २१ हजार ३६८ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा जलविद्युत् र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ। जलविद्युत् समूहको उपसूचक ५.३१ प्रतिशतले बढेको छ भने वित्त समूहको उपसूचक ४.३८ प्रतिशतले बढेको छ। आजको कारोबारमा सबै समूहका उपसूचकमा हरियाली देखिएको छ।
आज चार वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जसमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
साथै सबैभन्दा धेरै गुमाउने कम्पनीमा एनआईबीएल ग्रोथ फन्डको शेयर मूल्य ४.०७ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सबैभन्दा धेरै २० करोड १८ लाख ३६ हजार ४८३ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर संख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सात लाख २९ हजार २३२ कित्ता शेयर किनबेच भएको छ।