आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षकलाई गगन थापाको आग्रह
नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षकलाई आग्रह गरेका छन्।
सरकारले संसद्मा दर्ता गराएको विद्यालय शिक्षा सम्बन्धी विधेयकको विरोध गर्दै देशभरका शिक्षक आन्दोलनमा छन्। उनीहरू देशका विभिन्न स्थानबाट काठमाडौं आएर दुई दिनदेखि प्रदर्शन गरिरहेका छन्।
शिक्षकको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयको पठनपाठन बन्द छ। माग पूरा नभएसम्म आन्दोलन जारी रहने शिक्षकहरूले जनाएका छन्।
विद्यालय बन्द गर्ने आन्दोलनका कारण पढाइ प्रभावित भएको जनाउँदै स्वरूप परिवर्तन गर्न थापाले आग्रह गरेका हुन्। थापाले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढङ्गले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु।’
उनले विधेयकमा भएका कमजोरी सुधार्ने बताएका छन्। ‘विद्यालय शिक्षा सम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसद्मा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो। हामी सबैसँग घनीभूत छलफल र संवाद गर्नेछौं,’ थापाले भनेका छन्, ‘आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौं।’